थप तीन हजार जनामा कोभिड-१९

सक्रिय सङक्रमितमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकामा
बिहीबार, कात्तिक २०, २०७७

काठमाडौं । विगत २४ घण्टामा नेपालमा ३,०५१ जनामा कोरोनाभाइरस सङक्रमण देखा परेको छ । सोही समयावधिमा १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ ।
सो अवधिमा १३,०६८ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा त्यति सङख्यामा सङक्रमितहरु फेला परेका हुन् ।
काठमाडौं उपत्यकामा सर्वाधिक सङक्रमित फेला पर्ने क्रम जारी छ ।
उपत्यकामा १,३९८ जनामा कोभिड-१९ पुष्टि भएको छ । 
यो सँगै नेपालमा पुष्टि भएका सङक्रमितको कुल सङख्या १,८५,९०० नाघेको छ । तीमध्ये ७९.८ प्रतिशत अर्थात् १,४८,४०८ जना निको भइसकेका छन् ।
कोभिड-१९ सँग सम्बन्धित कारणले १,०५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिले देशभरि ३६,५१४ जनामा सक्रिय सङक्रमण छ । तीमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकामा छन् ।
बुधवार ३,३०९ सङक्रमित फेला परेका र ३० जनाको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको थियो ।

को हुन् सङक्रमित ?
अहिले विभिन्न जिल्लामा थपिएका सङक्रमितमध्ये १,२०९ जना महिला र १,८४२ जना पुरुष छन् ।
काठमाडौंमा १,०९१ जना, पाल्पामा ३१८, ललितपुरमा १६०, भक्तपुरमा १४७, रूपन्देहीमा १४२, कास्कीमा १२३, मोरङमा १२१, झापामा ११०, सुनसरीमा १०३ र चितवनमा ९९ जनामा सङ्क्रमण पुष्टि भएको विवरण मन्त्रालयले दिएको छ ।
उपत्यकामा थपिएका सङक्रमितमध्ये ६०१ जना महिला र बाँकी पुरुष हुन् ।
अहिले काठमाडौंमा १६,३३१ जनासहित उपत्यकामा १९,८५५ जनामा सक्रिय सङक्रमण छ जुन कुल सक्रिय सङक्रमितको ५४ प्रतिशत हो । उपत्यकामा १५,००० जनासहित देशभरि २९,५७४ सङक्रमित घरमै एकान्तवासमा छन् ।
अस्पताल भर्ना भएका सङक्रमितमध्ये अहिले ४२८ जना सघन उपचार कक्षमा र ७४ जना भेन्टिलेटरमा भएको सरकारी तथ्याङक छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०७७  १८:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार