निर्वाचन आयोगले सार्वजनिक गर्‍यो मतदाता नामावली 

८८१ मतदाताले छान्ने छन् मुलुकका भावी राष्ट्रपति–उपराष्ट्रपति 

बुधबार, फागुन १०, २०७९

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको नामावली सार्वजनिक गरेको हो । यसमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जनाको नाम समावेश छ । संसद्का तीन सय ३४ र प्रदेशसभाका पाँच सय ५० गरी कूल आठ सय ८४ मतदाता रहने छन् । प्रतिनिधिसभामा हाल दुई सदस्य निलम्बित र एक सदस्य रिक्त रहेको छ । राष्ट्रपतिको निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरुले भाग लिन पाउँछन् । 
सङ्घीय संसद्का प्रतिसदस्यको ७९ मतभारका दरले २६ हजार चार सय र प्रदेशसभा सदस्यको प्रतिसदस्य ४८ मतभारका दरले २६ हजार तीन सय ८६ गरी कूल ५२ हजार सात सय ८६ मतभार कायम हुनेछ ।
मतदाता नामावलीको दाबी विरोधको उजुरी आजै बिहान ११ बजेदेखि भोलि १२ बजेसम्म तोकिएको छ ।
सो समयमा पर्न आएका निवेदन तथा उजुरी उपर फागुन १२ गते ३ बजेसम्म छानबिन गरी ४ बजे अन्तिम नामावली प्रकाशन गरिने छ । राष्ट्रपतिको पदको लागि फागुन १३ गते मनोनयन दर्ता र २५ गते निर्वाचन हुँदैछ ।

कस्ता व्यक्ति राष्ट्रपति–उपराष्ट्रपति बन्न पाउँछन ? 
पैँतालिस वर्ष उमेर पूरा भइ लाभको पदमा नरहेको व्यक्ति राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न पाउने छन् ।  
उम्मेदवार हुन वंशजका आधारमा नेपाली नागरिक ह्ुनु पर्नेछ । गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको व्यक्ति तथा कानुनले अयोग्य नभएको व्यक्ति उम्मेदवार बन्न पाउने छन् । 
निर्वाचनसम्बन्धी कानुनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको, भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा जन्म कैद वा बीस वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो पैmसला अन्तिम भएको, सङ्गठित अपराधसम्बन्धी कसुरमा कैदको सजाय पाई वा कर्तव्य ज्यानसम्बन्धी कसुरमा बीस वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको, जातीय भेदभाव तथा छुवाछूत, बोक्साबोक्सी वा बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको व्यक्ति उम्मेदवार हुन पाउने छैन । 
निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुने गरी मिति तय गरेको छ । 
 

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १३:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार