टर्की–सिरिया भूकम्पमा परी १९ हजारको ज्यान गयो, प्रभावित क्षेत्रमा खाद्यान्न र पानीको अभाव 

बिहीबार, माघ २६, २०७९

इस्तानबुल । टर्की र सिरियामा सोमबार गएको शक्तिशाली भूकम्पपछि आश्रयस्थल, खानेपानी, इन्धन र बिजुलीको अभावमा अझै धेरै पीडितहरूको मृत्यु हुनसक्ने जोखिम रहेको विश्व स्वास्थ्य सङ्गठनले ‌बताएको छ । भूकम्प गएपछाडिको अवस्थामा दोस्रो विपद्को खतरा रहेको र अझै धेरै मानिसको ज्यान जानसक्ने चेतावनी डब्ल्यूएचओले दिएको छ । टर्की र उत्तरी सिरियामा बिहीवार साँझसम्म १९,००० भन्दा बढी मानिसले ज्यान गुमाएको पुष्टि भएको छ ।
टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले विनाशकारी प्रकोपमा सरकारको प्रतिक्रियाको बचाउ गर्दै दुई शक्तिशाली भूकम्पविरुद्ध पूर्व तयारी गर्नु असम्भव रहेको बताएका छन् । आलोचकहरूले भूकम्प प्रभावित क्षेत्रमा आपत्कालीन सेवाहरूको प्रतिक्रिया निकै ढिला भएको र सरकारको तयारी कमजोर रहेको जनाएका छन् । राष्ट्रपति एर्दोआनले सरकारले केही समस्याहरू सामना गरेको स्वीकार गरे, तर अहिले स्थिति ूनियन्त्रणमाू रहेको बताएका छन् ।
यद्यपि टर्कीका प्रमुख प्रतिपक्षी दलका नेता केमाल किलिचदारोग्लुले उनको कुरामा सहमति जनाएनन् ।

vukampa1675840711.jpg
‘यदि यहाँ कोही एक व्यक्ति जिम्मेवार छन् भने त्यो एर्दोआन नै हुन्’, उनले भने । राष्ट्रपतिले उक्त आरोपको खण्डन गर्दै विपद्पछि एकता आवश्यक रहेको बताए । “यस्तो परिस्थितिमा समेत राजनीतिक स्वार्थका लागि नकारात्मक अभियान चलाउने व्यक्तिलाई सहन सक्दिनँ,” उनले पत्रकारहरूसँग भने ।

सिरियाको अवस्था झनै जटिल
छिमेकी मुलुक सिरियामा वर्षौँ लामो द्वन्द्वका कारण देशको पूर्वाधारहरू ध्वस्त भएका छन् जसले गर्दा त्यहाँ राहत पुर्‍याउने प्रयासहरू जटिल बनेका छन् ।
टर्की र सिरियाबीचको अन्तर्राष्ट्रिय सिमाना बाब अल(हवा क्रशिङ, भूकम्पपछि सडकहरू क्षतिग्रस्त भएका कारण बन्द गरिएको छ ।
संयुक्त राष्ट्रका एक जना वरिष्ठ अधिकारीले भने उक्त सडकमा चाँडै पहुँच हुन सक्ने बताए । टर्कीका विदेश मन्त्री मेभलुट कभुसोग्लुका अनुसार देशमा सहायता भित्र्याउनका लागि सीमाका थप दुई वटा द्वारहरू खोल्ने काम भइरहेको छ ।
‘टर्की र अन्तर्राष्ट्रिय समुदायको सहायता सिरियासम्म पुर्‍याउने कार्यमा केही कठिनाइहरू छन् । त्यसैले थप दुई वटा सीमा द्वारहरू खोल्ने प्रयास भइरहेको छ’, उनले पुष्टि गरे । सिरिया सरकारको सहयोग आह्वानपछि ईयूले ३५ लाख यूरो आर्थिक सहायता हस्तान्तरण गर्ने पुष्टि गरेको छ। यद्यपि, उक्त रकम सरकार तथा विद्रोही दुवै नियन्त्रित क्षेत्रहरूमा पुर्‍याउनु पर्ने जनाइएको छ ।

vu1675772982.jpg
सन् २०११ मा युद्ध सुरु भएयता त्यहाँको सरकारले उनीहरूलाई आत्मसमर्पण गर्न बाध्य पार्ने प्रयास स्वरूप विपक्षी नियन्त्रित क्षेत्रहरूमा पटकपटक सहायता रोकेको आरोप लाग्दै आएको छ । त्यहाँको इडलिब प्रान्तमा मात्रै १,५०० भन्दा बढी मानिसको मृत्यु भएको छ । सिरियाली राष्ट्रपति बशर अल असदका सल्लाहकारका अनुसार विविध प्रतिबन्धहरूका कारण सिरियालाई आवश्यक सहायता प्राप्त हुन सकेको छैन ।
‘हामीसँग पर्याप्त बुलडोजर र क्रेन छैनन्। हामीसँग युरोपेली र अमेरिकी प्रतिबन्धहरूका कारण पर्याप्त तेल छैन’, बुथैना शब्बानले भनिन् ।
टर्की र सिरिया दुवै देशका प्रभावित स्थानहरूमा खोजी तथा उद्धार कार्य जारी छ। मृतकहरूको सङ्ख्या अझै बढ्ने देखिएको छ। अत्यधिक चिसो र हिउँका कारण कतिपय क्षेत्रमा पीडितहरूको अवस्था कठिन भएको र उद्धार कार्य झनै प्रभावित भएको जनाइएको छ ।
टर्कीमा केन्द्रबिन्दु बनाएर सोमवार बिहान सबेरै ७.८ म्याग्निट्यूडको भूकम्प गएको थियो । त्यस बेला मानिसहरू सुतिरहेका थिए । त्यसपछि दर्जनौँ परकम्पहरू गए । पहिलो भूकम्प गएको केही घण्टापछि दिउँसो गएको ७.५ म्याग्निट्यूडको भूकम्पको केन्द्रबिन्दु दक्षिणपूर्वी टर्कीस्थित काहरामान्मारश सहरनजिकै थियो ।
भूकम्प प्रभावित दुवै देशहरूमा मानवीय क्षति निकै बढी हुनसक्ने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)  ले चेतावनी दिएको छ । विश्वभरका अन्य देश तथा दाताहरूले सहायता सामग्री, जनशक्ति र चिकित्सकीय सामग्रीहरू प्रस्ताव गरेका छ्न् ।

यो किन यति विनाशकारी ?
भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा केवल १८ किलोमिटर मुनि मात्रै रहेकाले टर्कीको भूकम्प विनाशकारी भएको हो । जमिन मुनि थोरै मात्र केन्द्र विन्दु रहेकाले भवनहरू र अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको हो ।
लन्डनस्थित यूनिभर्सिटी कलेजका जोखिम तथा विपद् न्यूनीकरण विभाग प्रमुख प्राध्यापक जोआना फोरे–वाकर भन्छिन्, ‘विगत १० वर्षमा दुई वटा मात्रै त्यति म्याग्निच्युडका र त्यसभन्दा अघिल्लो दशकमा चार वटा त्यस्ता विनाशकारी भूकम्प गएका छन् ।’ तर भूकम्पको शक्तिका कारण मात्रै विनाश निम्तिने होइन । यो भूकम्प बिहान सबेरै आएका बेलामा मानिसहरू घरभित्रै सुतिरहेका थिए ।
घर तथा भवनहरू कति बलिया छन् कुराले पनि भूकम्पका कारण हुने क्षति फरक पर्न सक्छ । पोर्ट्स्मथ यूनिभर्सिटीका ज्वालामुखी र जोखिम सञ्चारसम्बन्धी अध्यापन गरिरहेकी डा. कार्मेन सोलाना सिरिया र दक्षिण टर्कीमा भूकम्प प्रतिरोधात्मक संरचनाहरूको अवस्था निकै खराब रहेको बताउँछिन् ।
यो यस्तो क्षेत्र हो जहाँ विगत २०० वर्षयता ठूलो भूकम्प आएको थिएन । त्यसैले पनि पनि यहाँ भूकम्प आउँदा गरिनुपर्ने तयारीको मात्रा भूकम्प आइरहने क्षेत्रभन्दा निकै कम थियो ।–बीबीसी 

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  २०:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार