टर्की भूकम्प : ‘छोरालाई अस्पतालमा छोडेर केही बेर बाहिर निस्किएको थिएँ, महाप्रलयजस्तै भयो’

टर्की भूकम्पमा परेका पत्रकारको बयान
मंगलबार, माघ २४, २०७९

टर्की । सबै अभिभावकका लागि यो भयानक दुःस्वप्नजस्तै हो । सन्तान बिरामी भएपछि तपाईँ तिनलाई अस्पताल लैजानुहुन्छ र भर्ना गर्नुहुन्छ ।
त्यसपछि तपाईँ निश्चिन्त बनेर सास फेर्नुहुन्छ र केही मिनेटका लागि बाहिर निस्कनुहुन्छ । ठिक त्यस्तै परिस्थितिमा सिरियाको इड्लिब प्रान्तका पत्रकार इस्माइलको जीवनमा अकल्पनीय घटना भयो ।
स्थानीय समयानुसार बिहानको ४ः१८ बजे टर्कीमा केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निट्यूडको विनाशकारी भूकम्प आयो । उक्त भूकम्पले सिरियामा उनी भएको ठाउँका सबै संरचना ‘दुई मिनेटसम्म नराम्रोसँग’ हल्लाइदियो ।
‘त्यसपछि भुइँचालो झन् शक्तिशाली बन्दै गयो’ उनले मसँग स्पष्ट आवाज नआइरहेको टेलिफोन कुराकानीमा भने ।
‘बिजुली गयो र अस्पालको सिसाको प्रवेशद्वार भत्किन थाल्यो ।’
उनले १५० मिटर पर अवस्थित दुईवटा आवासीय भवन भत्किरहेको देखे । तर अकस्मात् अँध्यारो भएकाले उनी किंकर्तव्यविमूढ भए ।
‘त्यो महाप्रलयको दिनजस्तै थियो’ उनी भन्छन्, ‘मैले अब आफ्नो छोरालाई भग्नावशेषबाट उद्धार गरेर निकाल्नुपर्छ भन्ने कल्पना गर्न थालेँ ।’
त्यसको केही मिनेटपछि उनले छोरा मुस्ताफा दौडिएर चिच्याउँदै आफूतर्फ आइरहेको देखे । उनले हातबाट सलाइन दिने पाइप चुँडाएका थिए । कुहिनोबाट रगत बगिरहेको थियो ।

उत्तरी सिरियाका चिकित्सकहरूले आवश्यकता व्यापक रूपमा बढेको बताएका छन्
लगभग एक घण्टासम्म कोही पनि भत्किएका भवनसम्म पुग्न सकेनन् । उनीहरूले बिजुली गएको र इन्टरनेट नचलेको कारणले गर्दा सिभिल डिफेन्स यूनिटलाई गुहार्न सकेनन् ।  अल–दाना टर्कीको सीमानजिकै छ । त्यहाँ विपक्षीको नियन्त्रण छ ।
सरकारी उद्धारकर्ताहरू नहुँदा प्रायः आपत्कालीन अवस्थामा सबैभन्दा पहिला सिभिल डिफेन्स यूनिटका सुरक्षाकर्मीहरू आइपुग्छन् । केही घण्टापछि इस्माइल इड्लिब प्रान्तका विभिन्न ठाउँमा परिस्थितिको मूल्याङ्कन गर्न निस्किए ।
उनले भने, ‘क्षतिको तह निक्कै उच्च छ ।’
‘सिरिया सरकार वा रुसी फौजको गोलाबारीमा परेका क्षेत्रहरू नै सबैभन्दा धेरै प्रभावित भएका छन् ।’
सन् २०११ को सिरियाली आन्दोलन क्रूर गृहयुद्धमा परिणत भएको थियो । त्यहाँको सत्ताले रुसको सहयोग पाएर विद्रोहीनियन्त्रित क्षेत्रमा बमबारी गरेको थियो ।
कुनै पक्षको पनि हारजित नभई त्यो अन्त्य भयो । अहिले पश्चिमोत्तर सिरियाको कुनै भाग विद्रोही पक्षको त कुनै भाग दमास्कसको नियन्त्रणमा छन् ।
इस्माइलले अलेपोको उत्तरतिर रहेको अतारेब नगरमा दर्जनौँ घरहरू भत्किएको पनि देखे ।
‘साधनहरूको अभावले गर्दा कैयौँ भवन र टोलमा उद्धारटोलीहरू पुग्न सकेका छैनन्’, उनले भने, ‘हामीलाई अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोग चाहिन्छ ।’
डा. ओसामा सालौम सिरियन अमेरिकन मेडिकल सोसाइटी (साम्स) फाउन्डेशनमा काम गर्छन् । उक्त संस्थाले पश्चिमोत्तर सिरियामा विपक्षीहरूको नियन्त्रणमा रहेका कैयौँ स्थानका अस्पतालहरूलाई सहयोग गर्दै आएको छ ।
‘भूकम्प गएको केही घण्टामा नै म अतारेबको साम्स अस्पतालमा पुगेको थिएँ । म त्यहाँबाट निस्कँदा ५३ जनाको ज्यान गइसकेको थियो । मैले घाइतेहरूको सङ्ख्या गन्न सकिनँ ।’ उनले अहिलेसम्म उक्त अस्पतालमा मात्रै १२० जनाको ज्यान गएको बताए ।

अस्पताल बेडमा खसेको भग्नावशेष

डा. सालौमका अनुसार यस्ता विपद्सँग जुझ्न अस्पतालहरूमा पर्याप्त स्रोत र साधन हुँदैन ।
‘भग्नावशेषबाट उद्धार गरिएका अधिकांश व्यक्तिहरूमा गहिरो चोट लागेको छ जसलाई अत्याधुनिक उपकरणको प्रयोग गरी विशेष किसिमको उपचार गर्नुपर्ने आवश्यकता छ ।’
उनले अतारेब अस्पतालसँग एउटा मात्रै सीटी स्क्यान उपकरण रहेको बताए । अधिकांश सहयोग टर्कीबाट भित्रिन्छ र त्यहाँ सीमामा कडा जाँच हुने गरेको छ।
टर्की आफैँले भीषण मानवीय सङ्कट भोगेको अवस्थामा विपक्षीनियन्त्रित सिरियाका क्षेत्रमा कस्तो सहयोग पठाइएलान भन्ने स्पष्ट छैन ।
‘यदि अहिलेका उपलब्ध स्वास्थ्य सामग्री सकियो भने हामी समस्यामा पर्नेछौँ’, डा. सालौमले भने ।
भूकम्पबाट सरकारी नियन्त्रणमा रहेका उत्तरका क्षेत्रहरू पनि प्रभावित भएका छन् ।
पहिलो नामबाट आफूलाई चिनाउने आया शेफ हुन् । भूकम्प आउँदा उनी लाटाकियास्थित आफ्नो पुर्ख्यौली गाउँमा थिइन् ।
छब्बीस वर्षकी उनी आफ्नी आमा र परिवारका अन्य सदस्यहरूसँगै सुतिरहेको बेला बत्ती गयो ।
‘म ओछ्यानबाट उठेँ, तर मलाई आफू किन ब्युँझिएँ भन्ने थाहा थिएन ।’ उनले आफ्ना परिवारका अन्य सदस्यहरू नउठेसम्म आफूले केही थाहा नपाएको बताइन् ।
उनको घर मूल सडकनजिकै छ र घरभरि सिसाका झ्यालहरू छन् ।
‘भूकम्प यति शक्तिशाली थियो कि हामी हलचल गर्न सकिरहेका थिएनौँ ।’ त्यो बेला एक ठाउँमा सबै जना बसेको उनले बताइन् । उनकी आमालाई पार्किन्सन्स रोग छ । उनी ज्यादै नै डराइरहेकी थिइन् ।
‘म आफैँ स्तब्ध भएकी थिएँ अनि हल्लिन पनि सकिरहेकी थिइनँ । मैलै कसरी पर्खालहरू यता र उता हल्लिरहेका छन् भनेर हेरिरहेँ ।’
लाटाकियामा नै बस्ने २६ वर्षकी हानिनले उनका गाउँका पुरुषहरूले पालहरू गाढेको र बर्सातबाट जोगिने प्रयास गरेको बताइन् । यस्ता पालहरू अन्तिम संस्कारका क्रममा शोक मनाइरहेका परिवारहरूलाई राख्न टाँग्ने गरिन्छ। त्यसले हानिनलाई दुःखी बनाएको छ । 
गाउँमा रहेकी उनकी आमा सुरक्षित छन् तर हानिनलाई गहिरो आघात परेको छ ।
उनले भनिन्, ‘म आफ्नी बहिनीलाई जोगाउन लागौँ कि आफू पहिले घर छाडौँ भन्नेमा प्रष्ट छैन । मैले उनलाई सोध्न पनि सकिरहेकी छैन।’

विद्रोहीहरूको नियन्त्रणमा रहेको उत्तरी सिरियाका कतिपय क्षेत्रमा अहिलेसम्म कोही नपुगेका भन्दै चिन्ता व्यक्त गरिएको छ
घर फर्किनुअघि उनीहरूले स्थानीय बेकरीमा आश्रय लिएका थिए । आँधी चलिरहेको समयमा आफ्नी आमा र बहिनीहरूका लागि आश्रयस्थल वा ट्याक्सी समेत नपाएकी आया अन्ततः दमास्कस पुगेकी छन् । उनका अनुसार उनको परिवार लाटाकियास्थित घर फर्किन सक्नेमा उनी ढुक्क हुन सकेकी छैनन् ।
‘हामीले युद्ध खेप्यौँ र सन् २०१२ मा घर छाड्न बाध्य भयौँ’, उनले भनिन् ।
उनले थपिन्, ‘भूकम्पको समयमा मैले गरेको अनुभूति युद्धको समयको भन्दा ज्यादै भिन्न थियो । त्यो क्षणमा मैले मेरो वरपरका सबै थोक समाप्त हुन्छ भन्ने महसुस गरेँ’, उनले भनिन्, ‘मैले आमा वा बहिनीहरू गुमाउन सक्थे । मलाई भारी र गाह्रो भइरहेको थियो ।’
सुरक्षित रूपमा दमास्कस पुगे पनि पूर्ण सहयोग प्राप्त भइसकेको छैन ।

सरकारनियन्त्रित क्षेत्रमा पनि ठूलो क्षति भएको छ
उनलाई घण्टौँसम्म अप्ठ्यारो अनुभव भइरह्यो र भुइँचालो अझै आइरहेको छ ।
एक दशकभन्दा लामो गृहयुद्ध सम्झिँदै उनले भनिन्, ‘त्यो घाउ फेरि बल्झिए जस्तै थियो । एउटा ठूलो घाउ बिस्तारै निको भइरहेको थियो, तर त्यो पुनः बल्झिएको छ।’
डा. सालौमलाई पनि यो विपद्ले विद्रोहीहरूको नियन्त्रणमा रहेको पूर्वी अलेपोमा भीषण आक्रमण हुँदाका दिनहरू सम्झाइदिएको छ । ‘मैले मृत्यु ज्यादै नजिक रहेको अनुभव गरेँ। मैले भवन र ढुङ्गाहरू खसिरहेको सुनेँ ।’
भूकम्प जानासाथ सबैतिर निकै कोहालह सुनिएको र मानिसहरूले सहयोगको याचना गर्दै चिच्याएको उनले बताए ।
‘के भइरहेको थियो त्यो मैले बुझ्न पनि सकिनँ । त्यो ज्यादै कठिन दिन थियो । अनि यो समाप्त हुने छाँट देखिँदैन’, उनले भने।–बीबीसी 

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १८:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार