टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ५ हजार पुग्यो 

मंगलबार, माघ २४, २०७९

इस्तानबुल । दक्षिणपूर्वी टर्की र सिमाना जोडिएको सिरियामा सोमबार बिहान आएका दुईवटा शक्तिशाली भूकम्पका कारण कम्तीमा ५ हजार जनाको ज्यान गएको छ । हजारौँ मानिस घाइते भएका छन् । पहिलो भूकम्प आएको केही घण्टापछि दोस्रो शक्तिशाली भूकम्प आएको थियो । ती भूकम्पका कारण भएको मानवीय क्षति निकै बढी हुनसक्ने चेतावनी विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले दिएको हो ।

यो भूकम्प किन यति विनाशकारी ?
टर्कीको गाजियान्टेप प्रान्तमा आएको पहिलो भूकम्प ७.८ म्याग्निट्यूडको थियो । नेपालमा सन् २०१५ मा आएको विनाशकारी भूकम्प पनि ७.८ म्याग्निट्यूडकै थियो ।
टर्कीमा परकम्पका रूपमा आएको दोस्रो भुइँचालो ७.५ म्याग्निट्यूडको थियो । यस्तो भुइँचालोलाई ठूलो मानिन्छ।
टर्कीमा आएको पहिलो भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा केवल १८ किलोमिटर मुनि थियो । त्यसैले भवनहरू र अन्य भौतिक संरचनामा ठूलो क्षति पुग्यो ।
लन्डनस्थित यूनिभर्सिटी कलेजका जोखिम तथा विपद् न्यूनीकरण विभाग प्रमुख प्राध्यापक जोआना फोरे–वाकर भन्छिन्,‘विगत १० वर्षमा दुई वटा मात्रै त्यति म्याग्निच्युडका र त्यसभन्दा अघिल्लो दशकमा चार वटा त्यस्ता विनाशकारी भूकम्प गएका छन् ।’ तर भूकम्पको शक्तिका कारण मात्रै विनाश निम्तिने होइन।
यो भूकम्प बिहान सबेरै आएका बेलामा मानिसहरू घरभित्रै सुतिरहेका थिए । घर तथा भवनहरू कति बलिया छन् कुराले पनि भूकम्पका कारण हुने क्षति फरक पर्न सक्छ ।

टर्की भूकम्प
पोर्ट्स्मथ यूनिभर्सिटीका ज्वालामुखी र जोखिम सञ्चारसम्बन्धी अध्यापन गरिरहेकी डा. कार्मेन सोलाना सिरिया र दक्षिण टर्कीमा भूकम्प प्रतिरोधात्मक संरचनाहरूको अवस्था निकै खराब रहेको बताउँछिन् ।
‘त्यसकारण अब जीवन बचाउने कुरा प्रतिकार्यमा निर्भर रहन्छ । बाँचिरहेका मानिसहरूको उद्धारका लागि २४ घण्टा निकै महत्त्वपूर्ण हुन्छ र ४८ घण्टा पछि जीवितै उद्धार गर्न सकिने सम्भावना निकै कम हुन्छ’ उनले भनिन् । यो यस्तो क्षेत्र हो जहाँ विगत २०० वर्षयता ठूलो भूकम्प आएको थिएन । त्यसैले पनि पनि यहाँ भूकम्प आउँदा गरिनुपर्ने तयारीको मात्रा भूकम्प आइरहने क्षेत्रभन्दा निकै कम थियो ।

टर्कीमा के कारण आयो भूकम्प ?
पृथ्वीको भूगर्भ विभिन्न तह मिलेर बनेको हुन्छ। चट्टानहरूको त्यस्तो तहलाई प्लेट भनिन्छ । ती एकअर्कासँगै टाँसिएर रहेका हुन्छन्। कहिलेकाहीँ प्लेटहरू यतायता हलचल गर्न खोज्छन्, तर एकअर्का हुने घर्षणका कारण रोकिन्छन्। तर कहिलेकाहीँ यस्तो दबाव सिर्जना हुन्छ जसका कारण प्लेटहरू एकअर्कामाथि खप्टिन पुग्छन् र अचानक सतहमा हलचल हुन्छ । अहिले टर्कीमा अरेबियन प्लेट उत्तरतर्फ सरेर एनाटोलियन प्लेट थिचिएका कारण भूकम्प गएको हो ।
प्लेटहरूको घर्षण नै विगतमा भएका भूकम्पहरूको पनि कारण हो । यो क्षेत्रमा सन् १८२२ को अगस्टमा ७.४ म्याग्निट्यूडको भूकम्प गएको थियो। त्यो सोमवारको भूकम्पभन्दा निकै सानो हो ।

टर्की भूकम्प

भूकम्प कसरी जान्छ
मापनमा सानो भए पनि उक्त भूकम्पका कारण उक्त क्षेत्रमा ठूलो क्षति भएको थियो । एलेपो सहरमा मात्रै ७,००० मानिसले ज्यान गुमाएका थिए । क्षति पुर्‍याउन सक्ने क्षमताका परकम्पहरू एक वर्षसम्म नै आइरहे । सोमवारको भूकम्पपछि पनि धेरै वटा परकम्पहरू आएका छन्। वैज्ञानिकहरूले यसअघिको ठूलो भूकम्पमा जस्तै परकम्पहरू निरन्तर आइरहने ठानेका छन् ।

भूकम्प कसरी नापिन्छ ?
भूकम्प स्केलमा नापिन्छ। त्यसलाई म्याग्निट्यूड भनिन्छ । साधरणतया म्याग्निट्यूड २।५ वा त्यसभन्दा सानो कुनै पनि भूकम्प महसुस हुँदैन। तर मापन गर्ने उपकरणहरूले यस्ता भूकम्पको पनि पहिचान गर्छन् । म्याग्निट्यूड ५.० सम्मका भूकम्पहरू आएको थाहा हुन्छ । तिनले क्षति पनि पुर्‍याउन सक्छन् ।

भूकम्प कति शक्तिशाली
टर्कीमा आएको ७.८ म्याग्निट्यूडको जत्रो भूकम्पले ठूलो क्षति पुर्‍याउन सक्ने भएकाले यस्ता भूकम्पलाई ‘मेजर’ अर्थात् ठूलो भनेर वर्गीकरण गरिएको छ ।

टर्की भूकम्प
म्याग्निट्यूड ८.० भन्दा ठूलो भूकम्प विनाशकारी हुन्छ । त्यसको केन्द्रबिन्दुवरपर रहेका स्थानमा ठूलो विध्वंश हुन सक्छ । जापानको तटीय क्षेत्रमा सन् २०११ मा आएको भूकम्पको म्याग्निट्यूड ९.० मापन भएको थियो । त्यसले त्यहाँको भूमिमा व्यापक क्षति निम्त्याएको थियो । उक्त भूकम्पका कारण शृङ्खलाबद्ध सुनामीहरू आए । एउटा सुनामीका कारण जापानको एउटा परमाणुकेन्द्रमा ठूलो दुर्घटना भएको थियो । दक्षिण अमेरिकी राष्ट्र चिलेमा सन् १९६० मा गएको ९.५ म्याग्निट्यूडको भुइँचालोलाई अहिलेसम्म मापन गरिएकामधये ठूलो भूकम्प मानिएको छ ।–बीबीसी 

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १८:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार