सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सर्वोच्च अदालतले आफ्नो नागरिकता अवैध ठहर गरेपछि रवि लामिछानेले आफू अहिले अनागरिक रहेको बताएका छन् । गृहमन्त्रालयबाट बाहिरिने क्रममा लामिछानेले आफूले सर्वोच्च अदालतको आदेशको स्वागत गर्ने बताए । ‘सर्वोच्च अदालतको आदेशको स्वागत गर्छु । मसँग अहिले कुनै जवाफ छैन । म कुनै देशको नागरिक रहेन । मसँग कुनै जवाफ छैन’ उनले भने । लामिछानेले सर्वाेच्च अदालतको फैसलको पालना गर्ने बताएका छन् । सर्वोच्च अदालतले नागरिकता अवैध रहेको फैसला गरेपछि सञ्चारकर्मीहरुसँग प्रतिकृया दिँदै उनले अदालतको फैसलाको स्वीकार गर्ने बताए । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको सांसद पद खारेज गरेको थियो । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले लामिछाने उम्मेदवार हुन पनि अयोग्य भएको ठहर गरेको थियो । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनीलकुमार सिन्हाको संवैधानिक इजलासले लामिछानेको नागरिकता अवैध भएको भन्दै नागरिकता प्राप्तिका लागि प्रक्रिया पूरा नहुँदासम्म उनलाई नेपाली नागरिक मान्न नसकिने फैसला गरेको थियो । अमेरिकी नागरिक भएका लामिछाने २०७० सालमा भिषा लिएर नेपाल आएका थिए । ०७२ सालमा नेपालको पुरानो नागरिकता प्रयोग गरेर पासपोर्ट बनाएका लामिछानेले अमेरिकी नागरिकता भने ०७५ साल असार ६ गते मात्र परित्याग गरेका थिए । तीन वर्षसम्म लामिछानेले अमेरिका र नेपाल दुवैतर्फको पासपोर्ट राखेका थिए । नागरिकता परित्यापग पछि पनि उनले नेपालको नागरिकता प्राप्तिका लागि प्रक्रिया अघि बढाएका थिएनन् । उनले नयाँ नागरिकताको प्रक्रिया नै नचलाई राजनीतिक दल खोलेर चुनाव लड्न गएपछि मात्र उनको नागरिकता नै वैध नरहेको भन्दै उजुरी परेको थियो । त्यसमा निर्वाचन आयोगले सुनुवाइ नगरेपछि अधिवक्ताहरु रविराज बसौला, युवराज पौडेलसहितले रिट दायर गरेका थिए ।