प्रेम आचार्यलाई आइसीयूमा भेटेको विषयमा डा.तोसिमा कार्कीले दिइन स्पष्टीकरण

भन्छिन्, ‘प्रेम आर्चायले उठाउन खोजेको मुद्दालाई ओझेलमा नपारौं’ 
शुक्रबार, माघ १३, २०७९

tosima karki1674815315.jpgकाठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवनमा आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आर्चायलाई कीर्तिपुरस्थित वर्न अस्पतालमा भेट्न गएका बेला भिडियो खिचेको विषयमा आलोचना खेपेपछि स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले स्पष्टीकरण दिएकी छन् । राज्यमन्त्री डा. कार्कीमाथि मेडिकल पन्जा र अनुमतिबिना छिरेको भन्दै सामाजिक सञ्चालमा चर्काे आलोचना भइरहेको छ ।  उनले आफ्नो फेसबूक पेजमार्फत आफूले  भिडिओ नखिचेको स्पष्टीकरण दिएकी छन् । आत्मदाह प्रयास गरेका उनलाई मृत्युको मुखमा कसले पन्जा लगाएर छोयो–छोएन र कसले भिडियो खिच्यो र खिचेन भन्ने बहसलाई धेरै ठूलो बनाएर प्रेम आचार्य स्वयंमले उठाउन खोजेको तमाम प्रश्नहरुको जवाफ खोज्ने बहसलाई ओझेलमा पार्न नहुने उनले बताइन् ।
उनले फेसबुकमा लेखेकी छन्, ‘खबर सुन्ने बित्तिकै हतार हतार म र मेरो स्वकिय मात्र गएका थियौँ । हामी अस्पतालको गेटमा पुग्दा नै त्यहाँ उपस्थितहरुले ओहो राज्यमन्त्री आउनुभयो भन्दै हामीलाई माथि आइसीयूसम्म पुर्‍याउन आउनुभयो । ड्युटीको डाक्टर भने आइसीयूको ढोकासम्म मलाई लिन आउनुभएको थियो ।  अहिले सबैको हात–हातमा मोबाइल भएको अवस्थामा तत्पश्चात त्यहाँभित्रको कसलाई छिर्न दिइयो, को को छिर्‍यो, को छिरेन, को बिरामीको अभिभावक, को मिडिया थियो हामीलाई थाहा पनि भएन र कसले कहाँ कसरी किन कहाँबाट भिडियो खिच्यो त्यसबारेमा हामी जानकार पनि छैनौं, यदि मिडिया बाजी नै गर्नु थियो त त्यहाँ अन्य भिजिटरहरुले मास्क नलाउनुभएको अवस्थामा म आफू पनि मास्क खोलेरै चिनिएरै फोटो खिचाउँथे होला ।’
उनले आइसीयू प्रोटोकल पालना नगरेको सन्दर्भमा आफूले आइसीयू प्रोटोकल पालना गरेको दाबी गरेकी छन् । उनले भनेकी छन्, ‘जलेर मृत्युको मुखमा पुगेको बिरामीलाई, तर म आफू पनि शल्यचिकित्सकको नाताले आइसीयू भेट्न जान मलाई कुनै ठूलो प्रक्रिया आवश्यक थिएन ।’ उनले ज्यान गुमाइसकेका व्यक्तिको मृत्युमाथि राजनीति नगर्न आग्रह समेत गरेकी छन् । 
डा. कार्कीले आफ्नो फेसबुक स्टाटसमा आचार्यको आत्माले नयाँ बनेको सरकारलाई सधै सम्झिरहनेछ भनेकी छिन् । ‘ऊ अस्ताउनु अघि नयाँ बनेको सरकारको प्रतिनिधि आफैँले भेटेर ‘हामी छौँ नि’ भन्दै गर्दा ती व्यक्तिले ‘म बाँच्न चाहन्छु’ भन्ने उनका अन्तिम वाक्यले यो सरकारलाई र मलाई पनि सधैँ जनताप्रति उत्तरदायी हुन घच्घच्याईरहने राज्यमन्त्री तोसिमाले बताएकी छन् ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि मंगलबार दिउँसो इलामको सूर्योदय नगरपालिका ११ का ३७ वर्षीय प्रेमप्रसाद आचार्यले आत्मदाह प्रयास गरेका थिए । उनलाई प्रहरीले त्यहाँबाट उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगेको थियो ।  
आचार्यको शरीरको ८० प्रतिशत भाग जलेको अवस्था थियो । त्यसैले उनलाई तत्कालै सघन उपचार कक्ष (आइसियू) मा राखेर उपचार सुरू गरिएको थियो । तर आचार्यको उपचार सफल भएन । माघ ११ गते उपचारकै क्रममा उनको निधन भयो ।  
जलेर घाइते भएका आचार्यको अवस्था बुझ्न मंगलबार साँझ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. कार्की कीर्तिपुर अस्पतालको नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टर पुगेकी थिइन् ।   सघन उपचार कक्षमा राखिएका बिरामी भेट्दा उनले बिना अनुमति र बिनापञ्जा  भेटेको भिडियो फोटोमा उनको आलोचना भइरहेको छ । 
उक्त भिडियोमा राज्यमन्त्री कार्कीको हातमा पन्जा देखिन्न । यसबाहेक उनीसँगै क्यामेराधारी केही व्यक्ति पनि आइसियुमा प्रवेश गरेको भिडियोमा देखिन्छ । भिडियोमा राज्यमन्त्री कार्कीले आचार्यलाई आफ्नो परिचय दिँदै कुराकानी सुरूवात गरेकी छन् । उनले आचार्यको आत्मलापमा आफ्नो नामसमेत उल्लेख भएको बताइन । डा. कार्कीले भनेकी छन्, ‘किन यस्तो गर्नुभएको ? हामी थियौं नि, राज्य थियो नि । हाम्रो नयाँ सरकार बनेको थियो, हामीले केही न केही उपाय खोज्थ्यौं, यस्तो गर्नुहुन्थेन ।’  
राज्यमन्त्री कार्कीले यसरी आइसीयूमा प्रवेश गरेर उपचारका क्रममा पालना गर्नुपर्ने प्रोटोकलको गम्भीर उलंघन गरेको चिकित्सकको आरोप छ । ‘यो गम्भीर लापरबाही हो । बर्न वार्ड निकै संवेदनशील मानिन्छ।  त्यसमा पनि आइसियु। जलेका बिरामीको उपचार निकै संवेदनशील हुन्छ,’ ती चिकित्सकले भने, ‘बर्न वार्डलाई हावाबाट हुन सक्ने संक्रमणबाट पनि जोगाएर राख्नुपर्ने हुन्छ। तर त्यहाँ त राज्यमन्त्रीज्यू दलबल लिएर जानुभएछ ।’
राज्यमन्त्री कार्की प्रोटोकल पालना नगरी वर्न वार्डको आइसीयू छिरेको विषयलाई लिएर सामाजिक सञ्जालमा पनि व्यापक टीकाटिप्पणी भइरहेको छ । 

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १६:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार