देउवाले किन सारिरहेका छन् केन्द्रीय समितिको बैठक ?

शुक्रबार, माघ १३, २०७९

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले तेस्रोपटक केन्द्रीय समिति बैठक सारेको छ ।
मंसिर ४ को प्रदेश र प्रतिनिधिसभा बैठकपश्चात् पुस २२ गतेका लागि केन्द्रीय समिति बैठक बोलाइएको थियो । त्यो बैठक बस्नु अघि प्रतिनिधिसभा सभामुखको निर्वाचन आइसकेकोले संसदीय दलको बैठक बोलाइएयो । पुस २२ आउनु अगावै पुस २८ गतेका लागि बैठक सारियो ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक माघ १५ का लागि सारिएको जानकारी गराए ।  माघ १२ गते बिहीबार विज्ञप्ति जारी गर्दै मुख्यसचिव पौडेलले बैठक अनिश्चित समयका लागि स्थगन गरिएको जानकारी दिए ।
“नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७९ माघ १५ गते आइतबार अपराह्न १ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भनिएकोमा विशेष कारणवस उक्त बैठक अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको छ,” विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति निर्वाचनको माहोल बिग्रने डर
निर्वाचन अघिको समीकरण भताभुङ्ग भए पनि कांग्रेसलाई राष्ट्रपतिमा आश छ । प्रदेश सांसदहरूले समेत गोप्य मतदान गर्ने भएकाले वर्तमान सत्ता समीकरणबाट मत चोर्न सकिने नीतिमा सभापति शेरबहादुर देउवा छन् ।
राष्ट्रपति बन्ने आश पालेर बसेका रामचन्द्र पौडेल निरन्तर सत्तारूढ दल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सम्पर्कमा छन् ।
कांग्रेस अहिले माओवादी र एमालेबाहेक अन्य दललाई चिढ्याउने पक्षमा छैन ।
देउवानिकट केन्द्रीय सदस्य राष्ट्रपति निर्वाचन अघि केन्द्रीय समिति बैठक बस्ने सम्भावना नरहेको बताउँछन् ।
“बैठक राष्ट्रपपति निर्वाचनपश्चात् बस्छ । अहिले हाम्रो ध्यान पूरै राष्ट्रपतिको चुनावमा छ,” ती नेताले भने, “शेखरजीहरुको बैठक बसेर माहोल बिग्रिन खोज्यो । उहाँहरुले खण्डन नै गर्नुपर्यो । त्यसकारण अहिले हामीले निर्वाचन फोकस गरेका छौं । त्यसपश्चात् मात्र बैठक ।”
साउन २ गतेपछि कांग्रेस केन्द्रीय समिति बैठक बस्न सकेको छैन ।
पार्टी विधानअनुसार केन्द्रीय समिति बैठक प्रत्येक दुई महिनामा एकपटक बस्नुपर्ने हुन्छ ।
विधानअनुसार साउनपश्चात् तीनपटक केन्द्रीय समिति बैठक बस्नुपर्ने हो । तर, ६ महिनाको अवधिमा एकपटक पनि केन्द्रीय समिति बैठक बसेको छैन ।
यसबीचमा पदाधिकारी बैठक, पदाधिकारी र पूर्वपदाधिकारी बैठक भने बसेको छ ।  विधानसम्मत् पटकपटक केन्द्रीय कार्यसम्पादन समिति बैठक भने बसेको छ ।
बैठकमा भएका निर्णयहरूलाई आधिकारिकता दिने थलो केन्द्रीय समिति बैठक नबसेकाले पनि कार्यसम्पादन समितिको बैठकको निर्णयहरूले समेत आधिकारिकता पाउन सकेका छैनन् ।
विशेषगरी गठबन्धन गरेर पनि कांग्रेसले अपेक्षित सिट जित्न नसक्नु, पार्टीभित्र नरुचाइएका पात्रहरुलाई समानुपातिकमा राखेर मत घट्नु र गठबन्धन गरेर सरकार बनाउन नसकेर धेरै नेता कार्यकर्ताहरू शक्तिविहीन हुँदा कांग्रेस कमजोर भएको जिम्मा कसले लिने भन्ने आलोचना नेतृत्वले खेपिरहेको छ ।

 

 

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  ०६:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार