एमाले-माओवादी खटपट

स्थायी समिति बैठकमा प्रचण्डले ब्यक्त गरे असन्तुष्टि
शुक्रबार, माघ १३, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा वर्तमान सत्ता साझेदार प्रमुख दल एमालेसँगको मतभेदबारे अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि ब्यक्त गरेका छन् ।
उनले बैठकमा गएको माघ ५ गते सदनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनको बचाउ गरिएकोप्रति असन्तुष्टि जनाएका हुन् ।
विहीबारबाट पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा जारी स्थायी समित बैठकमा प्रचण्डले ओलीसँगको मतभेदबारे स्थायी समिति सदस्यसमक्ष खुलाशा गरेका थिए ।
बैठकमा सहभागी एक स्थायी समिति सदस्यका अनुसार संसद विघटनको बचाउ गर्दै ओलीले राजनीतिक रुपमा आफू सहि साबित हुने प्रयत्न गरेकोमा प्रचण्डले असन्तुष्टि जनाएका हुन् ।
संसद विघटनको सत्ता गठबन्धनभित्र राजनीतिक बहसको विषय नबनाउने पूर्वसहमति विपरीत ओलीले बचाउ गरेको भन्दै प्रचण्डले असन्तुष्टि ब्यक्त गरेका हुन् ।
पुष १० गते अप्रत्याशित रुपमा एमालेको सहयोगमा प्रधानमन्त्री बनेका प्रचण्ड यसअघि ओलीले गरेको संसद विघटनलाई प्रतिगमनको आरोप लगाउँदै आएका थिए । यस्तै प्रचण्डले राष्ट्रपतिमा  राष्ट्रिय सहमति खोज्ने भन्दै सर्वसम्मत ब्यक्तिलाई बनाउनुपर्ने धारणा राखेका थिए ।

ओलीबाट सहमति पालना भएन
एमाले र माओवादीबीच प्रधानमन्त्रीले शपथ लिएका दिनमा एक एक जना मन्त्री पठाउने भनिएको भए पनि एमालेले चारजना पठाएको भन्दै प्रचण्डले असन्तुष्टि जनाएका थिए ।
“पहिलो दिनमा नै दुईवटै पार्टीबाट एक एक जना पठाउने कुरा भएको थियो तर एमालेले चारजना पठायो,” प्रचण्डको भनाई थियो, “मन्त्रीको पोर्टफोलियो पनि जसरी हुनुपर्ने हो त्यो भएन । सहमति र विश्वासको कुरा हुन सकेको छैन ।”
प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सभामुख र राष्ट्रपति अहिले एउटै पार्टीको बनाउने र भोलि प्रधानमन्त्री हुँदाको अवस्था अहिले नै मूल्यांकन गर्नुपर्ने बताएका थिए ।
यो विषयमा गम्भीर समीक्षा गरेर निर्णय गर्नुपर्ने उनको भनाई थियो ।
“सभामुख र राष्ट्रपति अनि भोलि प्रधानमन्त्री पनि एउटै पार्टीको हुने अवस्थामा गम्भीरताका साथ अहिले नै सोच्न जरुरी छ,” दाहालको भनाई थियो, “कांग्रेससहितले विश्वासको मत दिएका छन् । हामीले राष्ट्रिय सहमति जुटाउनुपर्ने अवस्था आउन सक्छ तर अहिले नै कांग्रेस वा एमालेको राष्ट्रपति भन्ने अवस्था चाहिँ छैन ।”स्थायी समिति बैठक आज बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  ०६:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार