बिपी कोइराला प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीविरुद्ध भ्रष्टाचार मुद्दा

पाउँदै नपाएको उपाधि देखाएको आरोप
मंगलबार, माघ १०, २०७९

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाउँदै नपाएको ओहोदाको प्रमाणपत्र पाएको भनी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
कुनै पनि आधिकारिक निकायबाट प्रमाणित नभएको प्रोफेसरको ओहोदा पाएको भनी प्रचार गराएको पाइएकाले विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
यस्तै डा ज्ञानेन्द्रमान सिंह कार्कीले डा ज्ञानेन्द्रलाई प्रोफेसर पदको अनुमोदनका लागि काठमाडौँ विश्वविद्यालयले सिफारिश गर्नसम्म सक्नेमा नियुक्ति दिएका आधारमा नपाएको ओहोदाको प्रमाणपत्र प्रयोग गरेको र त्यसमा मतियारको भूमिका निर्वाह गरेको पाइएको छ । आयोगले दुवैलाई कानूनअनुसार कारबाहीको माग दाबी गर्दै मुद्दा दायर गरेको हो ।

अदुवाको बीउमै दुई करोड भ्रष्टाचार, गल्याङका पूर्वप्रमुखविरुद्ध मुद्दा दायर

किसानलाई आर्थिकरूपमा सबल बनाउने र कृषि उत्पादन बढाउने नाममा स्थानीय सरकार र कर्मचारीले मिलेर सरकारी स्रोतको दुरुपयोग गरेको घटना यत्रतत्र सार्वजनिक हुने गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको एउटा मुद्दाले पनि सोही कुराको पुष्टि गरेको छ ।
स्याङ्जाको गल्याङ नगरपालिकामा पनि यस्तै भएको छ । अदुवाको बीउ खरिद लागत अनुमान कानूनबमोजिम नभएको भनी परेको उजुरीमाथि छानविन गर्दा नगरपालिकाका प्रमुख, प्रमुख कार्यकारी अधिकृतलगायतका कर्मचारीसमेत भ्रष्टाचारमा संलग्न भएको पाइएको छ ।
मनासिव कारणविना नै अस्वाभाविकरूपमा अदुवा खरिदका लागि दररेट तय गरेर नगरपालिकालाई गैरकानूनीरूपमा हानि पु¥याएको अभियोगमा नगरपालिकाका तत्कालीन प्रमुख भूपराज अधिकारीविरुद्ध १३ लाख बराबरको बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
यस्तै नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डे, तत्कालीन बाली विकास अधिकृत अरविन्दमणि त्रिपाठी, तत्कालीन लेखापाल राजेन्द्र रेग्मी, तत्कालीन खरिदार सन्तोष कोइरालाले स्पेसिफिकेशनमा उल्लेखित कागजातको परीक्षण नै नगरी अदुवाको बीउ खरिद गरी भुक्तानीका लागि आदेश दिएको पाइएको छ । उनीहरूले पटकपटक गरी रु दुई करोड १४ लाख ५० हजार बराबरको भुक्तानी दिएको पाइएको छ ।
आयोगले आय करबापतको रु तीन लाख ७९ हजार पाँच सय एक बराबरको रकम घटाई रु एक करोड ९७ लाख ७० हजार चार सय ९९ बराबरको बिगो दाबी गर्दै प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीविरुद्ध बिगो असुल उपर गरी कडा कारवाहीको माग गरिएको छ । यस्तै अदुवाको बीउ आपूर्तिकर्ता स्पुक टे«डर्सका प्रतिनिधि शिवप्रसाद न्यौपानेविरुद्ध पनि रु दुई करोड १० लाख ७० हजार चार सय ९९ बराबरको बिगो कायम गर्दै आजै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

 

 

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  ०९:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार