सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न देशभर सर्कुलर

आइतबार, माघ ८, २०७९

काठमाडौँ । प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न देशभर सर्कुलर गरिएको छ । महोत्तरी क्षेत्र नम्बर(१ बाट निर्वाचित सांसद कोइरीलाई पक्राउ गर्न सबै जिल्लामा सर्कुरल गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
गृह मन्त्रालयले कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई लिखित रूपमा पत्राचार गरेपछि प्रहरीले सबै जिल्लामा उनलाई पक्राउ गर्न सर्कुरल गरेको हो ।
सांसद कोइरीलाई छिट्टै नियन्त्रणमा लिने प्रहरीले जनाएको छ । उनलाई पक्राउ गर्नेबारे प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयकोबीचमा विवाद देखिएको छ। माघ ६ मा गृह मन्त्रालयले कोइरीलाई पक्राउ नगरेकोमा विज्ञप्ति नै निकालेर असन्तुष्टि जनाएको थियो ।
सांसद कोइरी महोत्तरीको गौशाला नगरपालिका–२ का स्थानीय हुन्। कोइरीलाई पक्राउ गर्नेबारे गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर भनेको थियो– ‘उपप्रधानमन्त्रीज्यूबाट पटक पटक प्रहरीलाई मौखिक निर्देशन भएकोमा हालसम्म पक्राउ नपरेको प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।’
राष्ट्रसेवक कर्मचारी हत्या अभियोगमा उच्च अदालत जनकपुरले कोइरीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ। २०७७ मंसिर १९ मा जनकपुर उच्च अदालतले जारी गरेको ‘वारेन्ट’का कारण उनी प्रहरीको ‘खोजी सूची’मा छन् ।
अदालतबाट जारी पक्राउ पुर्जी प्रहरीसँग छ। प्रधान कार्यालयले सो पुर्जी अहिले देशभरका प्रहरी युनिटहरूमा पठाएको छ । सांसद कोइरीमाथि २०७२ को मधेस आन्दोलनमा सशस्त्र प्रहरीका असई थमन विकलाई लखेटेर हत्या गरेको आरोप छ । चुनावअघि जसपा छाडेर एमाले प्रवेश गरेर उनी चुनावमा होमिएका हुन् ।

 

प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  २०:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार