सत्ता गठबन्धन दलको बैठकमा टुङ्गियो मन्त्रालयको भागबन्डा

एमालेलाई राष्ट्रपति-सभामुखसहित ८, माओवादीलाई ४, रास्वपा र राप्रपालाई ३-३ र जनमत पार्टीले एक मन्त्रालय
मंगलबार, माघ ३, २०७९

काठमाडौं । सत्तारुढ दलहरुले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखसहित मन्त्रालय भागवण्डा टुंगो लगाएका छन् । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निरन्तर भेटवार्तापछि सोमबार साँझ बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा भागवण्डा टुंगो लगाएको हो ।
सहमतिअनुसार एमालेले राष्ट्रपति पद लिनेछ भने उपराष्ट्रपति माओवादीले पाएको छ । जनता समाजवादी पार्टीले पनि उपराष्ट्रपतिमा दाबी गरेको थियो, तर माओवादीले छाड्न अस्वीकार गरेको छ ।
मंगलबार मन्त्रिपरिषद् विस्तार हुनेछ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका अनुसार भोलि १ बजे मन्त्रीहरुको सपथ कार्यक्रम तय भइसकेको छ ।
उच्चस्तरीय संयन्त्रको बैठकका अनुसार एमालेले ८, माओवादीले ४, रास्वपा र राप्रपाले ३ ३ र जनमत पार्टीले एक मन्त्रालय पाउनेछ । जसपालाई २ मन्त्रालय छुट्याइएको छ ।
एमालेको भागमा अर्थ, परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय परेको छ । एमालेका विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री भइसकेका छन् ।
माओवादीलाई भौतिक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन भाग परेको छ । प्रधानमन्त्री प्रचण्ड, उपप्रधानसहित भौतिक पूर्वाधारमा नारायणकाजी श्रेष्ठ सरकारमा सहभागी भइसकेका छन् ।
रास्वपाले गृह, शिक्षा र श्रम, उपसभामुख तथा एक राज्य मन्त्री पाउने छ । उपप्रधानसहित गृहमा पार्टी सभापति रवि लामिछाने मन्त्री भइसकेका छन् । रास्वपाले शिक्षामा शिशिर खनाल र श्रममा डोलप्रसाद अर्याललाई मन्त्री बनाउँदै छ ।
राप्रपाको भागमा उर्जा, खानेपानी र युवा तथा खेलकुद परेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन उपप्रधानसहित ऊर्जा मन्त्री बन्दै छन् । बाँकी मन्त्रीको छनोट पार्टीमा छलफल पछि हुने छ ।
जनमतले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय पाएको छ । उसको चाहना कृषि मन्त्रीमा थियोृ ।
जसपालाई शहरी विकाससहित दुई मन्त्रालय छुट्याइएको छ । तर उपराष्ट्रपति नपाएका कारण जसपा सरकारमा आउने सम्भावना कम छ । संयन्त्रको बैठकमा सहभागी जसपा अध्यक्ष यादवले पनि मन्त्रालय भागवण्डामा आफूहरुको असहमति रहेको बताएका थिए ।
यस्तै संघीय मामिला दिएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई सरकारमा ल्याउने प्रयास भइरहेको छ । त्यो सहमित भए माओवादी केन्द्रले कानुन वा वनमध्ये एक लिने छ भने अर्को एमालेको भागमा पर्नेछ । तीन राज्यमन्त्रीमा माओवादी, रास्वपा र राप्रपाले एकएक जना पठाउने छन् ।
सरकार गठनदेखि साथ दिएको नागरिक उन्मुक्ति पार्टी भने तत्काल सरकारमा जाने छैन । सत्तारुढ दलका नेताहरु एक मन्त्री दिन तयार थिए, तर नागरिक उन्मुक्तिका नेताहरुले रेमशसहितका नेता कार्यकर्ताको रिहाइ, मुद्दा फिर्ता लगाएका माग पुरा नभएसम्म सरकारमा नजाने बताएका छन् ।
उपप्रधान तथा गृहमन्त्री लामिछानेका अनुसार मन्त्रालय भागवण्डा टुंगिएको छ र भोलि दिउँसो १ बजे मन्त्रीहरुको सपथ तय गरिएको छ ।
उच्चस्तरीय संयन्त्रको बैठकअघि सोमबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच लामो छलफल भएको थियो । ओली निवास बालकोटमा भएको छलफलमा भागवण्डाको खाका बनेको थियो, जसलाई बालुवाटारमा बसेको उच्चस्तरीय संयन्त्रको बैठकले अन्तिम रुप दिएको हो ।
प्रधानमन्त्री र सभामुखमा आलोपालो गर्ने पूर्व सहमति छ । त्यसअनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनिसकेका छन् भने सभामुख एमालेले पाउनेछ ।
५ माघमा हुने सभामुखको निर्वाचनका लागि उम्मेदवारी दर्ता भोलि हुनेछ । सत्ता गठबन्धनको भागवण्डामा उपसभामुख भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाएको छ । उपसभामुखको निर्वाचन ७ माघका लागि तय भएको छ । रास्वपामा उपसभामुखको दावेदार सोभिता गौतम हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । विश्वासको मत पाएपछि मन्त्रिपरिषदलाई पूर्णता दिने गृहकार्य सुरु भएको हो ।

काँग्रेस प्रतिपक्षमा
सत्ता गठबन्धनमा मन्त्रालयसहित राज्यका महत्वपूर्ण पदहरुको टुङ्गो लागेका कारण काँग्रेस प्रतिपक्षमै बस्नु पर्ने भएको छ । तर उसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर च्याँखे थापेको थियो । सभामुख वा राष्ट्रपतिमध्ये एक पदका लागि काँग्रेसले च्याँखे थापेको हो । रामचन्द्र पौडेलले  राष्ट्रपतिका लागि आकाक्षा देखाएका थिए । प्रचण्डलाई विश्वासको मत दिनुका पछाडि पनि रामचन्द्र फ्याक्टरले काम गरेको थियो ।  

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  ०१:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार