नेपाली हवाई आकाश असुरक्षित नै हो ? 

सोमबार, माघ २, २०७९

काठमाडौं । पोखराको सेती खोंचमा आइतबार यती एयरलाइन्सको ‘एटीआर’ विमान दुर्घटना भयो । नेपालमा सन् २०१० यता मात्रै कम्तीमा तीन दर्जन हवाई दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरणको अभिलेखले देखाउँछ ।
उक्त अवधिमा दुर्घटनामा परेका विमानमा १८ वटा धेरैवटा इन्जिन (मल्टी–इन्जिन) भएका विमान, १३ वटा हेलिकप्टर, चारवटा सिङ्गल इन्जिन विमान र दुईवटा विदेशी विमान छन् । त्यसैगरी मनोरञ्जन प्रयोजनका उडाइने केही हलुका विमानहरू पनि दुर्घटनामा परेका छन् । हवाई दुर्घटनाका अधिकांश घटनामा प्रतिकूल मौसम, मानविय त्रुटी, विमानको कन्डिसनलगायतका विभिन्न पाटा औँल्याइएको पाइन्छ ।

इयुको हवाई प्रतिबन्ध
तर सर्वसाधारणमा भने अत्यन्त पुराना विमान सञ्चालन भइरहेका कारण नेपालमा हवाई दुर्घटना भइरहने बुझाइ छ । यस्तो बुझाइमा कतिको सत्यता छ ? यो खोजीको विषय बन्नुपर्छ । 

दुर्घटनाका श्रृंखला
नागरिक उड्डयन प्राधिकरणको अभिलेख अनुसार नेपालमा ४९ वटा मल्टी इन्जिन विमान दुर्घटना भएका छन् । पोखरामा दुर्घटना भएको सिरियल नम्बर–७५४, ‘७२–२१२ ए’ प्रकारको एटीआर विमान डबल इन्जिनको थियो । यसर्थ नेपालमा मल्टी इन्जिन विमान दुर्घटनाको संख्या ५० पुगेको छ ।
आइतबार दुर्घटना भएको विमान १५ वर्षअघि ‘एटीआर’ले निर्माण गरेको थियो । किङ्फिसर एयरलाइन्स र  नोक एयरलाइन्सले प्रयोग गरिसकेको यो विमानलाई यतीले सन् २०१९ मार्च २६ मा किनेको थियो । त्यसयता यो विमानले निरन्तर नेपालमा आन्तरिक उडान गर्दै आएको थियो । दुर्घटना प्राविधिक कारणले भएको हुनसक्ने अनुमान गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, ‘मौसमको समस्या थिएन, विमानको प्राविधिक कारणले दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।’ नेपालमा हालसम्म ८ वटा सिंगल इन्जिन विमान, ३६ वटा हेलिकप्टार र १० वटा विदेशमा रेजिस्टर्ड विमान दुर्घटनाग्रस्त भइसकेको रिपोर्टमा उल्लेख छ । मुस्ताङमा भएको तारा एयरको विमान दुर्घटनासम्म गरी हालसम्म भएका दुर्घटनाहरुमा नेपालमा ८४७ जनाको मृत्यु भएको रिपोर्टमा उल्लख छ ।

हवाई दुर्घटना
आइतबार भएको दुर्घटनामा विमानमा सवार ७२ जना मध्ये ६९ जनाको मृत्यु भइसकेको ‌छ । ४ जना बेपत्ता छन् । आन्तरिक उडानतर्फ भएको दुर्घटनामा हालसम्म सबैभन्दा बढी क्षति हो ।  आइतबारको दुर्घटनासमेत गरी नेपालमा विमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ९०० भन्दा बढी पुगेको छ ।
नेपालमा पहिलोपटक सन् १९६० नोभेम्बर ५ मा पहिलो मल्टी इन्जिन विमान दुर्घटना भएको थियो । भैरहवामा भएको दुर्घटनामा ४ जनाको मृत्यु भएको थियो । मल्टी इन्जिनतर्फ पनि आइतबारको दुर्घटनामा सबैभन्दा धेरैजनाको मृत्यु भएको छ । यसअघि नेपालमा मल्टी इन्जिनतर्फ भएको दुर्घटनामा सबैभन्दा धरै मृत्यु सन् १९६९ जुलाइ १२ मा भएको थियो । हेटौंडामा भएको नेपाल एयरलाइन्सको विमान दुर्घटनामा ३५ जनाको मृत्यु भएको थियो । यस्तै, सन् २००० जुलाइ २७ मा नेपाल एयरलाइन्सकै विमान डेडलधुरामा दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको थियो ।

सन् २०१६ मा तारा एयरको विमान म्याग्दीमा दुर्घटनाग्रस्त हुँदा २३ जनाको मृत्यु भएको थियो । सन् २०१० मा ओखलढुंगामा तारा एयर र सन् २०२२ को मे २९ मा तारा एयरकै विमान मुस्ताङमा दुर्घटना हुँदा २२–२२ जनाको मृत्यु भएको थियो ।
यस्तै, सन् १९७५ मार्च ३१ मा पहिलो सिंगल इन्जिन विमान दुर्घटना भएको थियो । काठमाडौंको बौद्धमा भएको सो दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो । सिंगल इन्जिनतर्फ नेपालमा हालसम्म ८ वटा दुर्घटना हुँदा सबैभन्दा बढीको मृत्यु सन् १९८१ अक्टोबर ३० मा भएको थियो । नेपाल एयरलाइन्सको चार्टर विमान विराटनगरमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो ।
नेपालमा पहिलो हेलिकप्टर दुर्घटना सन् १९७९ डिसेम्बर २७ मा भएको थियो । सो दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो । हालसम्म नेपालमा ३६ वटा हेलिकप्टर दुर्घटना हुँदा सबैभन्दा धेरैको मृत्यु सन् २००६ मा भएको दुर्घटनामा भएको थियो । सेप्टेम्बर २३ मा ताप्लेजुङमा भएको श्री एयरलाइन्सको हेलिकप्टर दर्घटना हुँदा २४ जनाको मृत्यु भएको थियो ।
यस्तै, विदेशमा रजिस्टर्ड विमानतर्फ पहिलोपटक सन् १९५५ अगस्त ३० मा पहिलो दुर्घटना भएको थियो । सिमरामा भएको कालिंगा एयरको विमान दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो ।
अन्तर्राष्ट्रिय विमानतर्फ नेपालमा हालसम्म १० वटा विमान दुर्घटना भएका छन् । यी मध्ये सबैभन्दा बढी क्षति सन् १९९२ मा भएको थि यो। ललितपुरको भट्टेडाँडामा सन् १९९२ को सेप्टेम्बर २८ मा पाकिस्तान इन्टरनेश्नल एयरलाइन्सको विमान दुर्घटना भएको थियो । सो दुर्घटनामा १६७ जनाको मृत्यु भएको थियो । त्यसअघि सन् १९९२ जुलाइ ३१ मा थाइ एयरवेजको विमान घ्याङफेदीमा दुर्घटना भएको थियो । सो दुर्घटनामा ११३ जनाको मृत्यु भएको थियो ।
पछिल्लोपटक अन्तर्राष्ट्रिय विमानतर्फ सन् २०१८ मा मालिन्डो एयर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भएको थियो । सो दुर्घटनामा कुनै पनि मानविय क्षति भएन । सन् २०१८ मार्च १२ मा भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै युएस बंगलाको विमान दुर्घटना भएको थियो । सो विमान दुर्घटनामा ५१ जनाको मृत्यु भएको थियो ।
नागरिक उड्डयन प्राधिकरणले सन् २०२२ को रिपोर्टमा आफ्नो पहिलो लक्ष्यमा आन्तरिक उडानतर्फ हुने विमान दुर्घटनाको ‘ट्रेन्ड’ घटाउने उल्लेख गरेको छ । प्राधिकरणले २०२३ देखि २०२५ सम्मलाई लक्षित गर्दै नेश्नल एभिएसन सेफ्टी प्लान नेपाल पनि सार्वजनिक गरेको छ । सो रिपोर्टमा पनि आन्तरिक उडानतर्फ हुने दुर्घटना घटाउने मुद्दालाई प्राथमिकतामा राखेको छ ।
सरकारले हरेकपटक विमान दुर्घटना हुँदा छानबिन समिति बनाउने गरेको छ । तर कति समितिको प्रतिवेदन नै सार्वजनिक हुनन् भने कतिको प्रतिवेदन कार्यान्वयन मा नै आउँदैनन् ।

कति वर्षपछि विमान पुरानो हुन्छ ? 
विमान कति वर्ष पुरानो हो वा कति वर्ष देखि प्रयोगमा छभन्दा पनि जहाजको आवधिक रूपमा गरिने मर्मतसम्भारको काम महत्त्वपूर्ण हुनु पर्दछ ।  कुनै पनि विमानको दैनिक तथा निश्चित घण्टा उडान गरेपछि परीक्षण गरिन्छ। त्यसबाहेक कतिपय समयमा विदेशमै लगेर पनि विमानको परीक्षण गरिन्छ ।
त्यस्ता जाँचले जहाजले ‘एअरवर्दिनेस कन्डिशन’ पूरा गर्छ भने अर्थात् उडानका लागि योग्य छ भने त्यसलाई विमान पुरानो भएकाले दुर्घटना भएको भन्न मिल्दैन ।  
नयाँ विमान समेत ‘ डेलभरी भएको पहिलो दिनमा समेत दुर्घटनामा परेको देखिन्छ । विमानको इन्जिनमा धेरै किसिमका कम्प्युटर जडान गरिएको हुन्छ जसले विभिन्न पार्टपुर्जाबारे जानकारी गराइरहेको हुन्छ । त्यस कारण उडान योग्यता कायम रहेसम्म विमान पुरानो हँदैन । 

‘मर्मतसम्भार महत्वपूर्ण’
एअरवर्दिनेस परीक्षण गरेर जहाज उडाउन योग्य भएको मानेर (पाइलटले) उडाइसकेपछि त्यसमा जहाजको समस्या परेको भन्न मिल्दैन । पछिल्लो १० वर्षमा नेपालका उड्डयन क्षेत्रसँग सम्बन्धी नियम अन्तर्राष्ट्रिय स्तरमै दाँज्न सकिने गरी विकास भएको छ ।
जसले गर्दा विमान सञ्चालन, मर्मतसम्भारदेखि एअरवर्दिनेस म्यानूअल लगायत अन्तर्राष्ट्रिय स्तरमा दाँज्न मिल्नेगरी तयार पारिएको छ । 
विमान निर्माताले उपलब्ध गराएको मेन्टनन्स प्रोग्र्यामअनुसार विमानको मर्मतसम्भार लगायतका कार्य गर्नुपर्ने हुन्छ । त्यसैअनुसार गरे विमान बुढो नहुनेगरी उत्पादकले व्यवस्था मिलाउँछन् । 
संसारभरिका वायुसेवा सञ्चालकले विमान उत्पादकलाई उडानका बेला वा मर्मतसम्भारका बेला गम्भीर समस्या देखिए जानकारी उपलब्ध गराउनुपर्ने विज्ञहरू बताउँछन् । त्यस्तै उत्पादकले निश्चित समयपछि सम्बन्धित विमानको मेन्टनन्स प्रोग्र्यामले काम नगर्ने हुँदा आफै सञ्चालन नगर्न भन्ने गरेको पनि चालिसे बताउँछन् ।
अधिकारीहरूका अनुसार नेपालमा हवाई नीतिद्वारा विमान खरिदको प्रावधान तय गरिएको छ ।
हवाई नीति २०६३ मा प्रेसराइज्ड विमानको हकमा १५ वर्षभन्दा पुरानो वा ४५,००० प्रेसराइजेशन साइकल पूरा गरेको जुन पहिले हुन आउँछ त्यस्ता वायुयानहरू आयात निषेध गरिएको उल्लेख छ ।
त्यस्तै प्रेसराइज्ड नभएका विमानको हकमा आयात गरिने जहाजको‘केस–टु–केस बेसिसमा’ र वायुयानको रेकर्ड पूर्ण जाँच गरी निर्णय गरिने नीतिमा उल्लेख छ ।
‘तर २० वर्षभन्दा पुरानो वायुयानलाई आयात गर्न सामान्यतया अनुमति प्रदान गरिनेछैन’, नीतिमा लेखिएको छ ।
यो नीति अन्तर्राष्ट्रिय स्तरमा भने देशअनुसार वा निश्चित वायुसेवा सञ्चालकअनुसार फरक रहेको अधिकारीहरू बताउँछन् । पर्यटन मन्त्रालयका नागरिक उड्डयन महाशाखाका प्रमुख सहसचिव बुद्धिसागर लामिछाने पनि विमानको आयु नहुने बरु हरेक भाग वा पार्टपुर्जाको छुट्टाछुट्टै आयु हुने बताउँछन् । तसर्थ निश्चित समयानुसार कुन पार्ट मर्मत गर्ने र कुन फेर्ने तय हुने गर्छ । ‘फेरेपछि फेरि त्यसको पनि आयु हुन्छ । एउटा चक्रअनुसार परिवर्तन भइरहेको हुन्छ। त्यसकारण यो जहाजको यति आयु हुन्छ भनेर तोकिएको हुँदैन’, उनले भने । नेपालमा नागरिक उड्डयन प्राधिकरणले विमानको सबै पार्टपुर्जा चेकजाँच गरेर उडान योग्यताको प्रमाणपत्र जारी गर्ने गरेको बताइन्छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्ययन सङ्गठन (आईकाओ) ले पनि विमान उड्न योग्य भए त्यो कति पुरानो छ भन्ने कुराले फरक नपर्ने र त्यो योग्यता मान्यताप्राप्त प्राविधिकले प्रमाणीकरण गर्नुपर्ने मापदण्ड तय गरेको अधिकारीहरू बताउँछन् ।–बीबीसी तथा समाचार एजेन्सीकाे सहयाेगमा तयार सामग्री

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  ०९:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार