सय दिनमा जेलबाट छुटे सन्दीप लामिछाने

शुक्रबार, पुस २९, २०७९

काठमाडौं । सय दिन जेल बसेर आज नेपाली क्रिकेट टीमका पूर्व कप्तान सन्दीप लामिछाने रिहा भएका छन् । केन्द्रीय कारागार सुन्धाराबाट उनी आज रिहा भएका हुन् ।  उनलाई कारागारबाट काठमाडौं जिल्ला अदालतमा लगिएको थियो । त्यहाँ मुल मुद्दाको तारिक बुझेपछि पुनः कारागार लगिएको थियो ।
बिहीवार उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले घरौटीमा रिहा गर्न आदेश दिएको थियो । २० लाख रुपैयाँ घरौटी रकम बुझाएपछि मात्र सन्दीप आज छुटेका हुन् । उनलाई लिन उनका परिवारका सदस्य गाडी लिएर पुगेका थिए । सन्दीप रिहापछि हसिँलो मुद्रामा देखिएका थिए । त्यस्तै, सर्वसाधरणको भीड देखिन्थ्यो । उनको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन रहेको छ ।

sand1673607895.jpgअदालतको अन्तिम फैसला नआएसम्मको लागि उनी रिहा भएका हुन् । अदालतको फैसलाले दोषी ठहर गरेको खण्डमा पुनः जेल बस्नु पर्ने पनि हुन्छ। बलात्कारको अभियोगमा असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो। कतार एयरवेजको विमानबाट कतार हुँदै उनी त्रिभुवन विमानस्थल अवतरण भएपछि पक्राउ परेका हुन् ।
१७ वर्षीया किशोरीलाई करणी गरेको उजुरी दर्ता भएपछि प्रहरीले सन्दीपलाई खोजी गरेको थियो । भदौ ५ गते कप्तान लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ । लामिछानेलाई अदालतले स्थान हद समेत तोकेको छ। विदेश यात्रामा रोक लगाएको छ भने उपत्यकाबाहिर जान प्रहरीसँग लिखित अनुमति लिनुपर्नेछ । लामिछानेले पीडित, परिवारका सदस्य समेतविरुद्ध कुनै पनि टिकाटिप्पणी गर्न पाउने छैनन् । सामाजिक सञ्जालमा समेत यस्तो प्रचारलाई रोक लगाइएको छ ।

sa1673607909.jpg
निषेधात्मक आदेशमा अदालतले पीडित र परिवारका सदस्यसँगको भेटलाई पनि बन्देज लगाइको छ। कुनै पनि माध्यमबाट भेट तथा डर धम्की दिएमा धरौटी आदेश तत्कालै रद्द हुनेछ । अदालतले लामिछानेको मोबाइल निगारानीको अधिकार प्रहरीलाई दिएको छ ।
मोबाइलको संवादको सुरक्षित अभिलेख राख्नेसम्मको अधिकार प्रहरीले पाएको हो । यस्तो अभिलेख अदालतले माग गरेमा उपलब्ध गराउन समेत आदेशमै उल्लेख छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  १६:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार