सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न पाटन उच्च अदालतको आदेश

बिहीबार, पुस २८, २०७९

काठमाडौं । उच्च अदालत पाटनले बलात्कार मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
न्यायधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले रिहा गर्न आदेश दिएको हो । गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतले सन्दीपलाई थुनामा पठाउन आदेश दिएको थियो । जिल्ला अदालतको आदेश उल्टाउँदै उच्चले आज धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
जिल्ला अदालत काठमाडौंले पीडित किशोरीको उमेरको लागि अस्पतालबाट जन्मदर्ताको प्रमाणपत्र मगाउन आदेश दिएको थियो । गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिइएको थियो । असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो । कतार एयरवेजको विमानबाट कतार हुँदै उनी त्रिभुवन विमानस्थल अवतरण भएपछि पक्राउ परेका हुन् ।
१७ वर्षीया किशोरीलाई करणी गरेको उजुरी प्रहरीमा दर्ता भएसँगै सानो उमेरमै करिअरको उच्चतम विन्दु चुमिरहेका सन्दीप एकाएक सङ्कटमा पुगेका हुन् । भदौ ५ गते कप्तान लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ।

विदेश जान रोक
लामिछानेले विदेश जान नपाउने आदेश भएका छन् । विदेश जानु पर्दा प्रदेश सरकारको अनुमति चाहिने अदालतको आदेशमा उल्लेख छ । 
नाबालिका बलात्कारको अभियोगमा जिल्ला अदालत काठमाडौंको पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।
सन्दीपविरुद्धको बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ ।

प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  १९:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार