नेपाल टी २० लिगको उपाधि लुम्बिनी अल स्टार्सलाई 

बुधबार, पुस २७, २०७९

काठमाडौं । बेटिङ र ‘स्पट फिक्सिङ’को आरोपसहित छानबिन गर्नुपर्ने अवस्था आएको नेपाल टी २० लिग बुधबार सकिएको छ । लिगमा  फिक्सिङ भएको आरोप लागेपछि प्रहरीले ६० जनाभन्दा बढीसँग सोधपुछ गरेको छ । फिक्सिङको आरोप लगत्तै राष्ट्रिय टिमका खेलाडी पनि प्रहरी निगरानीमा छन् । ‘स्पट  फिक्सिङ’ भएको सूचना बाहिरिएपछि प्रहरीले नेपाल टी २० लिगका खेलहरुको सुष्म तरिकाले अनुसन्धान गरिरहेको छ । अनुसन्धानकै लागि आईसीसीको टोली पनि नेपालमा आएको थियो । 

नेपाल टी २० लिगको उपाधि लुम्बिनी अल स्टार्सलाई 
लिगको उपाधि लुम्बिनी अल स्टार्सले हात पारेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा लुम्बिनीले विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै उपाधि हात पारेको हो । यस उपाधिसहित  लुम्बिनीले ५५ लाख रुपैयाँ प्राप्त गरेको छ । यसैगरी उपविजेतामा चित्त बुझाएको विराटनगरले  ३० लाख रुपैयाँ पायो । लुम्बिनीले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले  निर्धारित  २० ओभरमा ८ विकेट गुमाएर १०९ रन मात्र बनाएको थियो । विरानगरका लागि  अर्जुन साउदले  सर्वाधिक ३४ रन बनाए भने पृथु बास्कोटाले २३ रन जोडे । त्यस्तै हुसेन तालतले १३ रन बनाए । 
विराटनगरले १०९ रन समेट्ने क्रममा लुम्बिनीका सागर ढकाल र हरमित सिंहले समान दुई–दुई विकेट लिए भने  किशोर महतो र विपुल शर्माले समान एक–एक  विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ राजेको लुम्बिनीले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १३३ रन बनाएको थियो ।
लुम्बिनीका लागि लाहिरु मिलन्थाले सर्वाधिक ४१ रन जोडे भने हरमित सिंहले ३० रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरीले २० तथा इशान पाण्डेले १६ रन बनाए ।
विरानगरका नन्दन यादव र  राज नाननले समान दुई–दुई  विकेट लिए भने सूर्य तामाङ, कप्तान रोहितकुमार पौडेल, हुसेन तालत र किओन जोसेफले समान एक–एक  विकेट लिए । प्रतियोगितामा जनकपुर रोयल्स तेस्रो भयो । उसले १० लाख रुपैयाँ पाएको छ । त्यस्तै काठमाडौँ नाइट्स चौथो भयो । काठमाडौँले पाँच लाख रुपैयाँ पायो ।
यही पुस ९ देखि सुरु भएको प्रतियोगितामा काठमाडौँ नाइट्स, जनकपुर रोयल्स, लुम्बिनी अल स्टार्स, फार वेस्ट युनाइटेड, विराटनगर सुपर किंग्स र पोखरा एभेन्जर्स गरी ६ टोली सहभागी भएका थिए । 
स्पट फिक्सिङमा छानबिन 
प्रहरीको प्रारम्भिक अनुसन्धानमा खेलमा ‘स्पट फिक्सिङ’ भएको खुलेको छ। फिक्सिङमा नेपालीसहित विदेशी खेलाडीको संलग्नता देखिएको छ । यो लिगमा ६ टिममा ९० खेलाडी सहभागी थिए । बेटिङ र फिक्सिङमा संलग्नहरुले एक खेलाडीलाई १ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँ दिएको खुलेको हो । 
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले यो प्रकरणमा अनुसन्धान गरिरहेको छ । अहिलेसम्म ६० जना खेलाडी, विभिन्न संघसंस्थाका पदाधिकारीसँग बयान तथा सोधपुछ भइसकेको छ। प्रहरीको अनुसन्धानमा राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरु पनि निगरानीमा रहेका छन्। उनीहरुसँग पनि प्रहरीले सोधपुछ गरिसकेको छ ।
आज प्रहरीले लिगका खेलको फुटेज क्यानसँग मागेको थियो । प्रहरीले नेपाल क्रिकेट संघ क्यानलाई पत्रचार गर्दै फिक्सिङको आशंका गरिएका खेलेको फुजेट र मैदानभित्रका सिसि क्यामराको फुटेजसमेत माग गरेको हो । क्यानका सचिव प्रशासन्त विक्रम मल्ले आयोजकलाई प्रहरीलाई फुटेज उपलब्ध गराउन निर्देशन दिइसकेका छन् । 
अहिले प्रहरीले घटनामा संदिग्ध रहेका व्यक्ति, साक्षी, जान्ने सुन्नेहरुसँग बयान तथा सोधपुछ गरिरहेको छ। जारी लिगमा ६ टिममा करिब ९० जान खेलाडी सहभागी छन् । ३४ विदेशी खेलाडी रहेका छन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्दसँग पनि  प्रहरीले सोधपुछ गरिसकेको छ ।  त्यस्तै, नेपाली र विदेशी खेलाडीहरुसँग पनि प्रहरीले बयान लिएको छ । प्रहरीले फिक्सिङमा संदिग्ध व्यक्तिहरुको पहिचान समेत गरिरहेको दाबी गरेको छ। प्रहरीले पहिचान भएका व्यक्तिहरुविरुद्ध थप प्रमाण संकलन गरिरहेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा केही नेपाली र विदेशी खेलाडीहरु फिक्सिङमा संलग्न भएको खुलेको छ।
नेपाल टी–२० लिगको मुख्य आयोजक सेभेनथ्री स्पोर्ट्स हो । लिग विवादमा तानिएपछि केही दिनअघि दुबईस्थित आइसीसीको क्षेत्रीय कार्यालयबाट दुईजना पदाधिकारी नेपाल आएर घटनाको जानकारी लिएको थियो । आईसीसीकै एन्टी करप्सन युनिटका म्यानेजर वीर सिंहले पनि घटनाको अनुसन्धान गरिरहेका छन् । लिगमा संलग्न खेलाडीको श्रम स्वीकृति लगायतका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि हेरिरहेको छ । विदेशी खेलाडीले श्रम स्वीकृति नै नलिइ खेलेको विषय उठेको छ ।  

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  २०:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार