सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । प्रतिनिधिसभा सभाले अबको १० दिन पछि सभा सञ्चालनको नेतृत्वकर्ता पाउने छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले माघ ५ गते प्रतिनिधिसभाका नयाँ सभामुखको निर्वाचन गर्ने घोषणा गरेपछि यस्तो अवस्था बन्न लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएको घोषणा गर्ने क्रममा ज्येष्ठ सदस्य जबराले सभामुख निर्वाचन माघ ५ गर्ने जानकारी पनि दिएका थिए । सभामुख तथा उपसभामुख चयन नहुँदा ज्येष्ठ सदस्य जबराले बैठक सञ्चालन गर्दै आएका छन् । ज्येष्ठ सदस्यको अनुपस्थितिमा बैठक सञ्चालनका लागि ७ जना सदस्यलाई प्रतिनिधिसभाको हिजोको बैठकले चयन गरेको छ । ज्येष्ठ सदस्य जबराले प्रतिनिधिसभा सभामुखको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमलाई निर्वाचन अधिकृत पनि तोकेका छन् । नेपालको संविधानमा निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने प्रावधान छ । प्रतिनिधिसभाको पहिलो बैठक हिजो सोमबार बसेको थियो ।
प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिने दिन नेपालका राजनीतिक दलहरुले प्रतिनिधिसभालाई लगभग विपक्षी विहिन जस्तै बनाए । प्रमुख प्रतिपक्षमा बसेको काँग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि अवको राजनीति कसरी अघि बढ्छ, राज्यका महत्वपूर्ण पदमा कसरी पदाधिकारी चयन हुन्छन त्यो भने हेर्न बाँकी नै छ । यसअघि एमालेसहितको गठबन्धन बन्दा सभामुख र राष्ट्रपति एमालेलाई दिने सहमति भएको बताइएको थियो । काँग्रेसले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएका कारण प्रधानमन्त्री र काँग्रेसका नेताबीच राज्यका महत्वपूर्ण पदमा ‘पावर सेयरिङ’मा सहमति भएको अडकल काट्न थालिएको छ । एमालेले दुई दलबीच गोप्य सहमति भएको रुपमा बुझेर यसमा आफ्नो असहमति हुने छनक दिइसकेको छ । विश्वासको मत लिने प्रस्तावमाथिको छलफलमा बोल्दै एमाले अध्यक्ष केपी ओलीले सरकारलाई समर्थन गर्ने कांग्रेसको निर्णयप्रति आशंका व्यक्त गरेर यसको संकेत दिइसकेका छन् । ओलीले सरकारलाई समर्थन गर्ने काँग्रेसको कुनै जालझेल हो कि होइन भनेर प्रश्न समेत सोधेका छन् । ‘यदि जाल हो भने कांग्रेसले माछा नभएको खोलामा जाल फ्याँकेको छ’ ओलीले भने, ‘यसबाट कांग्रेसले केही पाउने छैन ।’ ‘कांग्रेसले सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ। यो जाल होइन भने स्वागतयोग्य छ’, ओलीले भने, ‘यदि जाल हो भने कांग्रेसले माछा नभएको खोलामा जाल फ्याँकेको हुनेछ।’ प्रतिनिधिसभाको अर्को बैठक आगामी माघ ५ गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।