प्रचण्डलाई सदनमा ‘प्रचण्ड मत’ 

मंगलबार, पुस २६, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‍मा विश्वासको मत पाएका छन् । नेमकिपा र राष्ट्रिय जनमोर्चा पार्टी बाहेक संसदमा रहेका सबै दलहरुको साथ पाएका प्रचण्डको पक्षमा २६८ मत खसेको छ । विपक्षमा २ सांसदले हस्ताक्षर गरेका छन् ।  बैठकमा पाँच जना सांसद अनुपस्थित थिए । 
मतदानमा सहभागी २७० सांसदमध्ये प्रचण्डको पक्षमा २६८ मत खसेको प्रतिनिधिसभा बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य पशुपति शम्शेर जवाराले घोषणा गरे । 
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही पुस १० गते सात दलका एक सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
नेपालको संविधानको धारा ७६ को उपधारा (४) को उपधारा (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ। दाहाल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी तथा केही स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए । प्रधानमन्त्री दाहालले नेमकिपा र राष्ट्रिय जनमोर्चाका दुई सांसदबाहेक सिङ्गो प्रतिनिधिसभाको समर्थन पाएका छन् । प्रतिनिधिसभामा सरकारलाई समर्थन गरेका एमालेका ७९, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, जनमत पार्टीका छ सांसद छन् । तीन स्वतन्त्र सांसदले पनि सरकारलाई समर्थन गरेको छन् । प्रतिनिधिसभामा नेपाली कांग्रेसका ८९, नेकपा ९एकीकृत समाजवादी०का १०, लोकतान्त्रिक समाजवादीका चार, नागरिक उन्मुक्ति पार्टीका चार सांसदले सरकारलाई विश्वासको मत दिएर पनि प्रतिपक्षमा बस्ने बताएका छन् ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट दुई तिहाइ भन्दा बढी विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभामा आज भएको विश्वासको प्रस्तावको मतदानमा उनको विपक्षमा मात्र दुई मत मात्रै परेको छ । प्रचण्डको पक्षमा दुई सय ६८ परेको छ । 

प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  १७:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार