सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने प्रयोजनका लागि आज बसेको प्रतिनिधिसभाको बैठकमा दलका नेताहरुले बोल्ने क्रम जारी छ । प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिने गरेको आग्रहपछि मन्तव्य राख्ने क्रममा सम्बोधन गरेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच संसद विघटनको विषयमा घोचपेच भएको छ । प्रतिनिधिसभामा बोल्ने क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षाका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएका थिए । देउवाले संसद विघटन गर्न सकिने एमाले अध्यक्षको अभिव्यक्तिमा आफ्नो ध्यानाकर्षण भएको स्मरण गरेका थिए । हिजो ओलीले संसद विघटन गर्दा वर्तमान प्रधानमन्त्रीसहित आफूहरु एक ठाउँमा उभिएको र सर्वोच्च अदालतले पनि संसद पुनस्र्थापना गरेको भन्दै देउवाले भने, ‘आज फेरि वर्तमान सत्ता गठबन्धनको प्रमुख घटकले तीनै संवैधानिक व्यवस्थालाई चुनौती दिएको अवस्थामा संविधानको रक्षाका लागि खरो रुपमा उभिने चुनौती हाम्रासामू आएको छ । वर्तमान प्रधानमन्त्रीका लागि यो पनि परीक्षाको घडी हो ।’ यता एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधसभा विघटनको सिलसिला आफूले सुरु नगरेको भन्दै देउवालाई जवाफ फर्काएका छन् । देउवालाई जवाफ दिँदै ओलीले शेरबहादुरले २०५८ सालमा प्रतिनिधिसभा विघटन गरेको स्मरण गराए । उनले भने, ‘१५ सालमा राजाले विघटन गर्यो, २०१७ सालमा विघटन गर्ने म होइन, २०५१ सालमा मध्यावधी गर्ने नेपाली कांग्रेस हो । म होइन । २०५८ सालमा मध्यावधी गरेर माघ १९ पुग्यो । मैले समर्थन गरेको थिएँ, तपाईंले विघटन गरेको होइन ? म प्रश्न गर्न चाहन्छु। मौका अनुसारको व्याख्या राजनीतिमा गर्नु हुँदैन ।’ ‘मैले शेरबहादुरजीले के गर्नु भएको भनेर मैले हेरेको हो । गुरु मन्दा हमला ?’ ओलीले शेरबहादुरलाई लक्षित गर्दै भने ।