सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रतिनिधिसभाको आज बिहान ११ बजेका लागि तय गरिएको बैठक सारिएको छ । आजै दिउँसो १ बजे बस्ने गरी बैठकको समय सारिएको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए । कांग्रेसको आग्रहमा प्रतिनिधिसभाको बैठक सारिएको बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा निर्णय लिन कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । बैठक अहिले बिहान साढे ११ बजे बस्ने गरी बोलाइएको हो । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्स हलमा बस्ने छ । बैठकबाट सरकारलाई विश्वासको मत दिने–नदिनेबारे निर्णय गरिनेछ । त्यसपछि ल्होत्से हलमै कांग्रेस संसदीय दलको बैठक बस्नेछ । उक्त बैठकले विश्वासको मतबारे आधिकारिक निर्णय गर्ने छ । विश्वासको मत दिने–नदिनेबारे आजै सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा पदाधिकारी र पूर्वपदाधिकारीबीच छलफल समेत भएको थियो । प्रधानमन्त्री प्रचण्डले सोमबार देउवालाई भेटेर विश्वासको मत दिन आग्रह गरेका थिए । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन काँग्रेस सकारात्मक भएको प्रचण्डको सचिवालयले जानकारी दिएको थियो । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै छन् । बहुमत दलको समर्थनमा बनेको मिलिजुली सरकारका प्रधानमन्त्रीले प्रतिनिधिसभाको विश्वास लिनुपर्ने संवैधानिक प्रावधान अनुसार प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । २७५ सदस्यीय प्रतिनिधिसभाको विश्वास लिन प्रधानमन्त्रीले १३८ सांसदको समर्थन लिनुपर्छ ।