सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदै छन् । निर्वाचन अघि काँग्रेस नेतृत्वमा बनेको गठबन्धन भत्किएरनेकपा एमालेसहितको गठबन्धन निर्माण गरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । संविधानमा प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिन भित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । प्रचण्डले सरकार गठनका लागि एमालेसहित अन्य ६ दल र केही स्वतन्त्र सांसदको समर्थन रहेको दाबीसहित प्रधानमन्त्रीमा नियुक्तmीका लागि दाबी पेश गरेका थिए । त्यति बेला प्रचण्डले १६९ सांसदको समर्थन देखाएका थिए । आज प्रचण्डलाई उनको दल नेकपा माओवादी केन्द्र, सत्ताको प्रमुख घटक एमालेले विश्वाको मत दिँदै छ । माओवादीको ३२ सिट रहेको छ भने एमालेको ७८ सिट छ । सत्ता गठबन्धनमा सहभागी भएको दल राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । राप्रपा संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो । २७ पुसाम राष्ट्रिय एकता दिवसका रूपमा सार्वजनिक बिदा दिनुपर्ने अडान राखेको राप्रपाले सरकारले बिदा दिने भएसँगै विश्वासको मत दिने भएको हो । सरकार गठन भएयता कतै नखुलेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पनि प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार बिहान बसेको पार्टीको सचिवालयले बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । प्रतिनिधिसभामा नेकपा एसका १० सांसद छन् । सत्ता गठबन्धनको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकारलाई विश्वासको मत दिनेछ । रास्वपा संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिन प्रतिनिधिसभामा रहेका सम्पूर्ण दल तथा स्वतन्त्र सांसद्लाई आग्रह गर्ने निर्णय गरेको हो । रास्वपाको संसद्मा २० सांसद छन् । यस्तै जनता समाजवादी पार्टीले पनि सरकारलाई विश्वासको मत दिने भएको छ । प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्ताका क्रममा जसपा अध्यक्ष उपेन्द्र यादवले विश्वासको मत दिने आश्वासन दिएका हुन् । जसपाका जनता समाजवादी पार्टी नेपालका १२ सांसद छन् । सिके राउत नेतृत्वको जनमत पार्टीले पनि सरकारलाई विश्वासको मत दिने भएको छ । संसद्मा जनमत पार्टीका छ जना सांसद छन् । नागरिक उन्मुक्ति पार्टीका तीन सांसदले पनि प्रचण्डलाई विश्वासको मत दिँदै छन् । तत्कालीन कांग्रेस नेतृत्वको गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले भने प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । लोकतान्त्रिक समाजवादी पार्टीका चार र नेपाल मजदुर किसान पार्टीका एक÷एक तथा स्वतन्त्र पाँच सांसद् छन् । उनीहरुले कत मत हाल्छन् त्यो भने खुलेको छैन । मिलिजुली सरकारका प्रधानमन्त्रीले प्रतिनिधिसभाको विश्वास लिनुपर्ने संवैधानिक प्रावधान अनुसार प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । २७५ सदस्यीय प्रतिनिधिसभाको विश्वास लिन प्रधानमन्त्रीले १३८ सांसदको समर्थन लिनुपर्छ ।