प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक एक साथ सुरु, दलका नेताहरुले बोल्ने क्रम जारी 

सोमबार, पुस २५, २०७९

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरे अनुरुप आज अपराह्नदेखि संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन सुरु भएका छन् ।  गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक आज सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बैठकको सुरुवात गरेका हुन् । प्रतिनिधिसभाले सभामुख र उपसभामुख निर्वाचित नगरेका कारण संसद्का ज्येष्ठ सदस्यले बैठक शुभारम्भ गरेका हुन् । प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको  दिनदेखि १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्छ । निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको ३० दिन भित्र प्रतिनिधिसभाको बैठक बस्ने प्रावधान छ । 
बैठकमा ज्येष्ठ सदस्य जबराले भोलि पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने प्रस्तावबारे जानकारी गराउनेछन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । नेपालको संविधानको धारा ७६ को उपधारा (२) अनुसार नियुक्त प्रधानमन्त्रीले सोही धाराको उपधारा (४) बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभामा १२ राजनीतिक दल र पाँच स्वतन्त्र सांसदको प्रतिनिधित्व रहेको छ । प्रतिनिधिसभामा नेपाली कांग्रेस ८९, नेकपा एमालेका ७८, नेकपा माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टी नेपालका १२, नेकपा एकीकृत समाजवादीका १०, जनमत पार्टीका छ, लोकतान्त्रिक समाजवादी पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक–एक तथा स्वतन्त्र पाँच सांसद् छन् ।  
बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य जबराले सङ्घीय संसद्को अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए । उनले प्रधानमन्त्रीको नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयको पत्रको व्यहोरा पढेर सुनाएका थिए।
 
राष्ट्रियसभाको पनि बैठक सुरु

राष्ट्रियसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ । गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनपछि गठन भएको प्रतिनिधिसभासँगै राष्ट्रियसभाकोसमेत पहिलो बैठक दिउँसो १ बजे सुरु भएको हो । पहिलो बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीय संसद्को बैठक आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सुनाएका थिए । उनले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा सदनलाई जानकारी गराएका थिए । 

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  १३:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार