प्रतिनिधिसभाको बैठक आज बस्दै, दलका नेताहरूले सम्बोधन गर्ने

प्रधानमन्त्रीले भोलि विश्वासको मत लिने 
सोमबार, पुस २५, २०७९

काठमाडौँ । प्रतिनिधिसभाको अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा मध्यह्न १ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक अलग अलग सञ्चालन हुनेछन् । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन आह्वान गरेकी हुन् । प्रतिनिधिसभाका सभामुख तथा उपसभामुख चयन नभइसकेकाकाले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सभा सञ्चालन गर्नेछन् । ज्येष्ठ सदस्यको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्नका लागि सातजना सदस्य चयन गरिनेछ । सांसद सदस्य सङ्ख्याका आधारमा कांग्रेस र एमालेबाट दुई-दुई र बाँकी अन्य दलबाट प्रतिनिधित्व हुनेछ ।
आजको कार्यसूचीमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले सम्बोधन गर्नेछन् । 
संविधानअनुसार निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको ३० दिन भित्र प्रतिनिधिसभाको बैठक बस्ने प्रावधान छ । यसैगरी पहिलो बैठक प्रारम्भ भएको दिनदेखि १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्छ । 
बैठकमा ज्येष्ठ सदस्य जबराले भोलि पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने प्रस्तावबारे जानकारी गराउनेछन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । नेपालको संविधानको धारा ७६ को उपधारा (२) अनुसार नियुक्त प्रधानमन्त्रीले सोही धाराको उपधारा (४) बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभामा १२ राजनीतिक दल र पाँच स्वतन्त्र सांसदको प्रतिनिधित्व रहेको छ । प्रतिनिधिसभामा नेपाली कांग्रेस ८९, नेकपा (एमाले)का ७८, नेकपा (माओवादी केन्द्र) ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टी नेपालका १२, नेकपा (एकीकृत समाजवादी) का १०, जनमत पार्टीका छ, लोकतान्त्रिक समाजवादी पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक-एक तथा स्वतन्त्र पाँच सांसद् छन् ।  
 

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  १२:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार