सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रतिनिधिसभामा विश्वासको मत लिने दिन नजिकिँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक भेटघाटको म्याराथनमा लागेका छन् । प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार गठन गर्न ७ दल र ३ स्वतन्त्र गरी १६९ जना सांसदले समर्थन जनाएका थिए । नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा ४ बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ । प्रचण्डको पक्षमा यी सबै सांसदले विश्वासको मत दिन्छन वा दिन्नन अझै एकिन भइसकेको छैन । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनमत पार्टी सरकार सहभागी भएका कारण विश्वासको मत दिने पक्का पक्की मान्न सकिन्छ । गठबन्धनमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी, जसपा र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नभएका कारण निर्णय यस्तै होला भन्न सकिने अवस्था छैन । यद्यपी यी दलले सरकारको न्यूनतम साझा कार्यक्रममा स्वमित्व ग्रहण गरेका कारण विश्वासको मत दिनु अनुमान लगाउन सकिन्छ । विश्वासको मतका लागि आज प्रधानमन्त्री प्रचण्डले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका छन् । आइतवार नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रचण्ड, नेपाल र यादवबिच छलफल भएको हो । दुवैजना अध्यक्षसँगको छलफल सकारात्मक भएको प्रचण्डको सचिवालयले जनाएको छ । एकीकृत समाजवादी र जसपा दुवैले परिस्थिति हेरेर मात्रै सरकारलाई समर्थन गर्ने नगर्ने निर्णय गर्ने बताइरहेका छन् । जसपाले राजनीतिक समितिलाई सरकारलाई विश्वासको मत दिने–नदिने निर्णय गर्ने अधिकार दिएको छ भने एकीकृत समाजवादीले सचिवालयलाई उक्त निर्णय गर्ने अधिकार दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि सोमबार संघीय संसदको अधिवेशन बोलाएकी छिन् । विश्वासको मत लिने दिनको बैठकमा सबै दलका नेताले पक्ष विपक्षमा बोल्ने छन् । मत विभाजनका आधारमा विश्वासको मत प्रचण्डले पाए नपाएको निर्क्यौल गरिने संसद सचिवालयले जनाएको छ।