प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा निर्णय लिन लोसपाको कार्यकारिणी समितिको बैठक

आइतबार, पुस २४, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले विश्वासको मत लिने दिन नजिकिँदा दलहरूको रणनीतिक बैठकले तीब्रता पाएको छ । संसद्को हिँउदे अधिवेशन सुरु भएको दोस्रो दिन पुस २६ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम छ । सत्ताको ठूलो दल एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जसपा, जनमत पार्टीले सरकारको न्यूनतम साझा कार्यक्रममा स्वमित्व देखाएपछि यी दलबाट विश्वासका मत पाउने छन् । नेपाली कांग्रेसले विश्वासको मत नदिने बताए पनि काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री प्रचण्डलाई भेटेर पुरानो गठबन्धनमा फर्कने आँट गरे आफूहरूले पनि विश्वासको मत दिने बताएका छन् । तर, यो सम्भव देखिँदैन । यसैबीच प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने–नदिने विषयमा पार्टीको धारणा बनाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको कार्यकारिणी समितिको बैठक बसेको छ । 
पार्टी केन्द्रीय कार्यालय बबरमहलमा जारी बैठकमा यही विश्वासको मत दिनेबारे पार्टीका नेताहरुको धारणा बनाउन बैठक बोलाइएको हो । 
नेताहरूका अनुसार बैठकमा पार्टीको सङ्गठन सुदृढीकरण, निर्वाचनको समीक्षा, पार्टीको मधेश प्रदेशको परिमार्जनलगायत विषयमा छलफल हुनेछ । पार्टी अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकमा वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारीलगायत नेताहरु सहभागी छन् । लोसपाको प्रतिनिधिसभामा चार जना सांसद छन् । लोसपा काँग्रेससहितको गठबन्धनमा रहेर चुनावमा गएको थियो । काँग्रेसले विश्वासको मत नदिने बताएका कारण उसले पनि विश्वासको मत दिन्छ भनि हाल्ने अवस्था बनेको छैन । यद्यपी, काँग्रेससहितको गठबन्धनमा रहेका नेकपा एस, डा. बाबुराम भट्टराई नेतृत्वको दलले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् । 

प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  १४:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार