कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने 

शनिबार, पुस २३, २०७९

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासका मत नदिने भएको छ । पार्टीको संसदीय दलको शनिबार बसेको बैठकमा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन नहुने पक्षमा आवाज आएको छ । यसको औपचारिक निर्णय भने भएको छैन । काँग्रेस महामन्त्री
गगन थापाले कांग्रेसले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने स्पष्ट पारेका छन् । 
संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले संसद्का दोस्रो, तेस्रोलगायत अन्य दलहरूले गठबन्धन बनाएर साझा उमेदवार बनाएको अवस्थामा कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने स्पष्ट पारे । उनले आफ्नो व्यक्तिगत धारणा भएपनि पार्टीको औपचारिक निर्णय भने पुस २६ गतेको बैठकले तय गर्ने बताए । 
उनले अन्य दलहरू मिलेर गठबन्धन बनाएर साझा उमेदवार उठाइरहेको बेलामा कांग्रेसले विश्वासको मत दिन्छ भन्ने सोचेर नबस्न आग्रह गरे ।
‘२६ गते जुन दिन संसद्मा प्रधानमन्त्रीले विश्वासको मतका लागि आफूलाई प्रस्तुत गर्दै हुनुहुन्छ, त्यही दिन बिहान ९ बजे हामी बैठक बस्छौँ । त्यो बैठकमा निर्णय गर्नेछौँ । नेपाली कांग्रेसले यो बेलामा संसद्भित्र दोस्रो, तेस्रो पार्टी मिलेर गठबन्धन बनाएर विश्वासको मत लिन उमेदवार प्रस्तुत गरेपछि त्यहाँ विश्वासको मत दिने कुरा सामान्य छलफलको विषय होइन, हामी प्रतिपक्षमा बसेर आफ्नो जिम्मेवारी निर्वाह गर्ने हो । नेपाली कांग्रेस अहिले विश्वासको मतको खिलाफमा उभिन्छ, प्रतिपक्षमा बस्छ भन्ने कुरा स्पष्ट छ’ थापाले भने । 
 

प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  १९:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार