चीनबाट हुने यात्रामाथि नियन्त्रण गर्न युरोपेली देशहरूलाई सिफारिस

बिहीबार, पुस २१, २०७९

ब्रसेल्स । कोभिड सङ्क्रमण निकै बढिरहेको चीनबाट आउने यात्रीहरूको यात्रामाथि नियन्त्रण गर्न विपद्‌ नियन्त्रणसम्बन्धी युरोपेली सङ्घका अधिकारीहरूले सिफारिस गरेका छन् । चीनबाट प्रस्थान गर्नुअघि कोभिड परीक्षण गराइएको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने, आगमनका बेला पनि आक्कलझुक्कल परीक्षण गराउनुपर्ने र उडान अवधिमा मास्क लगाउनुपर्ने लगायतका व्यवस्था निर्देशिकामा समेटिएको छ । हवाई यात्राका क्रममा प्रयोग भएको पानीमा पनि भाइरसबारे परीक्षण गर्न विज्ञहरूको सुझाव छ । यो अभ्यास जर्मनीस्थित फ्र्याङ्कफर्ट विमानस्थलले हालै शुरू गरिसकेको छ ।
युरोपेली सङ्घका बहुमत सदस्य राष्ट्रहरू यात्रामा प्रतिबन्ध लगाउने पक्षमा रहेको कुरा युरोपेली आयोगले बताएको भोलिपल्ट पछिल्लो सिफारिस आएको छ । कोभिड शून्य नीति हटाउने योजनाअन्तर्गत आइतवारदेखि चीनबाट र चीनमा गरिने यात्रा सहज पारिएको छ । चीनले अहिले व्यापक स्तरमा कोरोनाभाइरस सङ्क्रमणको सामना गरिरहेको छ । बिरामीको चापले अस्पतालहरूमाथि र शवहरूको चापले शवगृहमाथि दबाव परेका विवरण आएका छन् । युरोपेली सङ्घमा आबद्ध फ्रान्स, स्पेन र इटलीले यसअघि नै चीनबाट आउने यात्रुहरूको हकमा कोभिड परीक्षणको नियम लागु गरिसकेका छन् । यसैबीच, विश्वस्वास्थ्य सङ्गठन डब्ल्यूएचओले चीनमा कोभिडको नयाँ भेरिअन्ट देखिएको प्रमाण नपाइएको जनाएको छ ।

बदला लिने चेतावनी
यद्यपि चिनियाँ अधिकारीहरूले कोभिडको असरलाई कम आँकिरहेको हुनसक्ने भन्दै उसले सचेत गराएको छ । बेइजिङले गत डिसेम्बरयता कोभिडबाट जम्मा २२ जनाको ज्यान गएको पुष्टि गरेको छ जुन विवरण विश्लेषकहरूको तथ्याङ्कसँग मेल खाँदैन ।
वैज्ञानिक तथ्याङ्कसम्बन्धी यूकेको एअरफिनिटी कम्पनीको आकलन अनुसार चीनमा दैनिक २० लाखभन्दा बढी सङ्क्रमण र १४,७०० मृत्यु भइरहेको हुन सक्छ ।

बिरामी
यसअघि चिनियाँ सरकारले आफ्नो देशबाट जाने यात्रुहरूको आगमनमा कडाइ गर्ने देशहरूको निर्णय राजनीतिक रूपमा पूर्वाग्रही भएको भन्दै आफूले बदला लिनसक्ने चेतावनी दिएको थियो । कोभिडका कारण अन्तर्राष्ट्रिय समुदायसँग बेइजिङको मतभेद देखिएको यो पहिलो पटक होइन । सन् २०१९ को अन्त्यतिर चीनको वुहानमा पहिलो पटक कोरोनाभाइरस सङ्क्रमण फेला पारिएको थियो र चिनियाँ सरकारले त्यसको उद्‌गमबारे अनुसन्धान गर्ने प्रयासलाई रोकेको थियो ।–बीबीसी 

प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  १७:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार