विवादित बन्दै गएको टी २० क्रिकेट लिगमा अख्तियार र सीआईबीको छानविन 

खेलाडीको श्रम स्वीकृति र अनुमति पत्र माग 
बुधबार, पुस २०, २०७९

काठमाडौं । ‘म्याच फिक्सिङ’को आशंका गरिएका कारण विवादित बन्दै गएको टी–२० क्रिकेट लिगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानविन थालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खेलाडीको श्रम स्वीकृति र अनुमति पत्र मागेको छ । लिगमा विदेशबाट श्रम स्वीकृति नै नलिई खेल खेलाएको उजुरी परेपछि आयोगले सम्बन्धित निकायसँग जानकारी मागेको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागलाई पत्राचार गर्दै खेलाडीहरूको श्रम स्वीकृति लिएको कागजपत्र उपलब्ध गराउन निर्देशन दिएको छ । लिगमा विभिन्न छ वटा टिमबाट खेलाडीहरूले अनुमति र श्रम स्वीकृति नलिएको उजुरी परेको थियो ।
नेपाल क्रिकेट संघले पुस ९ गतेबाट कीर्तिपुरस्थित अन्तरार्ष्ट्रिय क्रिकेट मैदानमा खेल सञ्चालन गर्दै आएको छ। त्यसो त खेलमा बेटिङ र म्याच फिक्सिङसमेत भएको आरोप लागेको छ। अनुसन्धान गरिरहेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा सट्टेबाजी र फिक्सिङको चर्चा चलेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । गृह मन्त्रालयको निर्देशनपछि सीआईबीले अनुसन्धान सुरु गरेको हो ।  
राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले नेपाल टी–२० लिगमा फिक्सिङको प्रस्ताव आएको बताएका थिए । उनले यसबारे सम्बन्धित निकायलाई जानकारी समेत गराइसकेको बताएका थिए ।
मंगलबारको खेलपछि काठमाडौं नाइट्सका कप्तान समेत रहेका मल्लले आफ्ना टिमका खेलाडीलाई फिक्सिङका लागि प्रस्ताव आएको खुलासा गरेका थिए ।
उनले भनेका थिए, “अरू टिमको कुरा थाहा भएन । हाम्रो टिमको एकजना खेलाडीलाई चाहिँ एप्रोच गरेको थियो । नियमअनुसार हामीले एसईयु (एन्टी करप्सन युनिट) लाई जानकारी गराएर अनुसन्धान भइरहेको छ ।”
यसबाहेक अन्य केहीले पनि फिक्सिङको प्रसंग उठाएका छन् । नेपाल क्रिकेट संघले यो प्रतियोगिता सञ्चालन गरिरहेको छ ।
फिक्सिङको चर्चापछि गृह मन्त्रालयले प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो ।
सोही निर्देशनका आधारमा अनुसन्धान प्रभावकारी ढङ्गबाट अगाडी बढाइएको सीआईबी प्रमुख एआईजी उत्तमराज सुवेदीले जानकारी दिए ।
उनले भने,“सट्टेबाजी र फिक्सिङमा सुरुवातदेखि नै हाम्रो चासो हो । सीआईबीले मैदानमै रहेर यसबारे निगरानी पनि गरिरहेकै हो । गृहबाटै निर्देशन आइसकेपछि हामी सुक्ष्म रुपमा अनुसन्धानमा सक्रिय भएका छौं ।”
हालसम्म प्रहरीलाई म्याच फिक्सिङको कुनै प्रमाण भने हात लागेको छैन । टीयु मैदानबाटै सट्टेबाजी आरोपमा भने केही पक्राउ पर्दै आएका छन् ।
यसअघि सीआईबीकै टोलीले नेपाल र युएइको खेल भइरहेको बेला सट्टेबाजीमा संलग्न आरोपमा ५० जनालाई पक्राउ गरेको थियो । 
 

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  १३:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार