काठमाडौं नाइट्सका खेलाडीलाई ‘म्याच फिक्सिङ’को अफर

कप्तान ज्ञानेन्द्र मल्ल भन्छन्,  ‘हामीले रिपोर्ट गरिसक्यौं’
मंगलबार, पुस १९, २०७९
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । नेपाल टी–२० लिग अन्तर्गतको फ्रेन्चाइजी काठमाडौं नाइट्सका एकजना खेलाडीलाई म्याच फिक्सिङको अफर आएको खुलेको छ। नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टोलीको एकजना खेलाडीलाई फिक्सिङको अफर आएको स्वीकार्दै यो विषय ‘एन्टी करप्सन यूनिट’ (एसीयू) मा रिपोर्ट गराइसकेको बताए । नेपाल टी–२० लिगमा कमेन्ट्री गर्दै आएका सचिन तिमल्सिनाले प्रतियोगितामा फिक्सिङ भएको दाबी गरेका छन् । प्रतियोगितालाई नजिकबाट नियाल्दा फिक्सिङको झलकहरू देखिएको दाबी गरेसँगै फिक्सिङबारे चर्चा चुलिएको थियो । प्रतियोगिता नहुँदै साझेदार संस्था सेभेनथ्री स्पोर्ट्स र मुख्य प्रायोजक वानएक्स ब्याटको सहभागितालाई लिएर फिक्सिङको आँकलन गरिएको थियो । क्यान र सेभेनथ्री स्पोर्टसले खेलको पूर्व सन्ध्या गरेको पत्रकार सम्मेलनमा फिक्सिङ र बेटिङमा शुन्य सहनशीलताको नीति लिएको दाबी गरेका थिए । तर, प्रतियोगिता सुरु भएयता बेटिङमा संलग्न भन्दै पटकपटक पटक विभिन्न व्यक्तिहरूलाई मैदान परिसरबाट प्रहरीले पक्राउ गरिरहेको छ । कमेन्टेटर तिमल्सिनाले केही आधार प्रस्तुत गर्दै दाबी गरेपछि फिक्सिङको चर्चा फेरि चुलिएको छ । काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले अरु टीमबारे थाहा नभए पनि आफ्नो टोलीको एकजना खेलाडीलाई म्याच फिक्सिङको ‘अफर’ आएको स्वीकार गरे ।
‘अरु टीमको कुरा थाहा भएन, हाम्रो टिमको एकजना खेलाडीलाई चाहिँ एप्रोच गरेको थियो । नियम अनुसार हामीले यो रिपोर्ट एसीयूलाई गरेका थियौं’, उनले भने, ‘एप्रोच र फिक्सिङ कुरा फरक हो । कसैले तपाईंलाई जे पनि भन्न सक्छ । अप्रोच गर्‍यो भन्दैमा फिक्सिङ गर्छ भन्ने पनि हुँदैन । रिपोर्ट गरिसकेका छौं । एसीयूले डिक्लेयर पनि गरिसकेको छ।’
मल्लले अफर पाएका खेलाडी र अफर दिने ब्यक्तिबारे खुलाउन चाहेनन् । उनले भने,  ‘यो कन्फिडेन्सियल नै राख्दा राम्रो हुन्छ ।’
अर्कोतर्फ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले डिएसपीको कमान्डमा रंगशालाको गतिविधिलाई नियालिरहेको जनाएको छ । कुन टिमले कस्तो खेल खेल्यो भनेर हेर्न भने पक्कै होइन । सादा पोशाकमा खटिएका उनीहरूले मैदानभित्र र बाहिर हुनसक्ने अपराधिक गतिविधिलाई नजिकबाट केलाउन शुरु गरेको प्रहरीले जनाएको छ । मैदानमा हुनसक्ने म्याच फिक्सिङ र बाहिर हुने सट्टेबाजीलाई नजिकबाट केलाइरहेको हो ।
‘हाम्रो टोलीले सर्भिलेन्स गरिरहेको छ । सादा पोशाकमा हाम्रो टोली अहिले पनि त्यही छ। तर फिक्सिङ भएको भन्ने प्रमाण फेला परेको छैन’, सिआइबीका प्रवक्ता एसपी कमल थापाले भने ।

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  १४:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार