भारतीय औषधि खाँदा उज्बेकिस्तानमा पनि गयो बालबालिकाको ज्यान

शुक्रबार, पुस १५, २०७९

काठमाडौं । उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले एउटा भारतीय कम्पनीले उत्पादन गरेको खोकीको औषधि सेवन गर्दा आफ्नो देशमा १८ बालबालिकाको मृत्यु भएको बताएको छ ।
मन्त्रालयका अनुसार प्रारम्भिक परीक्षणमा मेरियन बायोटेकद्वारा उत्पादित कफ सिरपको एउटा ब्याचमा इथाइलिन ग्लाइकोल नामक विषाक्त पदार्थ रहेको देखिएको हो ।
बालबालिकालाई चिकित्सकीय परामर्शबिना डोक–१ म्याक्स नामक सिरप खान दिइएको बताइएको छ । उनीहरूलाई दिइएको मात्रा पनि बालबालिकाको लागि निर्धारितभन्दा बढी थियो ।
द गाम्बियामा बालबालिकाको मृत्युको घटनासँग अर्को भारतीय औषधि उत्पादन गर्ने कम्पनीको सम्बन्ध रहेको पाइएको केही सातापछि उज्बेकिस्तानले पनि उस्तै आरोप लगाएको हो ।
भारतको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै आफ्ना अधिकारीहरू डिसेम्बर २७ देखि ‘उज्बेकिस्तानको राष्ट्रिय औषधि नियामकसँग नियमित सम्पर्कमा रहेको’ जानकारी दिएको छ ।
स्वास्थ्य अधिकारीहरूले उत्तर प्रदेश राज्यको नोएडामा रहेको मेरियन बायोटेकको भौतिक संरचना तथा प्रणाली निरीक्षण गरेको विज्ञप्तिमा जनाइएको छ।
‘खोकीको औषधिका नमुनाहरू उत्पादन हुने ठाउँबाट लिइएको छ र परीक्षणको लागि क्षेत्रीय औषधि परीक्षण प्रयोगशाला, चण्डीगढ पठाइएको छ’ थप भनिएको छ।

के भन्छ कम्पनी ?
यस विषयमा टिप्पणीको लागि गरिएको आग्रहमा मेरियन बायोटेकले अझै प्रतिक्रिया दिएको छैन । मेरियन बायोटेकका एक कार्यकारीलाई उद्धृत गर्दै समाचारसंस्था एएनआईले लेखेअनुसार कम्पनीले खोकीको औषधि उत्पादन अस्थायी रूपमा रोकेको छ ।
उनले उत्पादकमाथि सरकारले अनुसन्धान गरिरहेको र सोहीअनुरूप अन्य काम कारबाही अघि बढ्ने बताए ।
मेरियन बायोटेक भारतको राजधानी दिल्लीनजिकै नोएडामा अवस्थित छ । यस कम्पनीको वेबसाइट हाल चलेको छैन । तर उसको लिङ्क्डइन खातामा उक्त कम्पनी सन् १९९९ मा स्थापना भएको र त्यसले उत्पादन गर्ने औषधिहरू ‘मध्यएशियाली देशहरू, मध्य र ल्याटिन अमेरिका, दक्षिणपूर्वी एशियार अफ्रिकामा परिचित नाम’ भएको उल्लेख गरिएको छ ।–एजेन्सी 

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  ०९:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार