विदेशीलाई क्वारन्टीनको नियम अन्त्य गर्दै चीन

मंगलबार, पुस १२, २०७९

बेइजिङ । चीनले आफ्नो देशमा आगमन गर्ने यात्रुहरू क्वारन्टिनमा बस्नुपर्ने नियम ज्यानुअरी ८ बाट अन्त्य हुने घोषणा गरेको छ।
चीनले अपनाउँदै आएको शून्य कोभिड नीति अन्तर्गत लगाइएका प्रतिबन्ध शृङ्खलाबद्ध रूपमा हटाउने क्रममा गरिएको यो पछिल्लो घोषणा हो । कोभिड सङ्क्रमणका घटना चीनमा तीव्र रूपमा बढेको छ र स्वास्थ्यकर्मीहरूले त्योसँग जुध्न आफूहरूले सङ्घर्ष गरिरहेको बताएका छन् । कोभिडबारेका नियम परिवर्तनका सम्बन्धमा आफ्नो पहिलो टिप्पणी गर्दै राष्ट्रपति सि जिनपिङले अधिकारीहरूलाई जीवन बचाउन जे “सम्भव” हुन्छ त्यही गर्न आह्वान गरेका छन् । उनलाई उद्धृत गर्दै सरकारी सञ्चारमाध्यमहरूले देशले नयाँ अवस्थाको सामना गरेको र त्यसप्रति थप लक्षित प्रतिक्रिया जनाउन आवश्यक रहेको उनले बताएको जनाएका छन् ।
चीनले कोभिडबारेका नयाँ तथ्याङ्क सार्वजनिक गर्न बन्द गरेको छ तर प्रत्येक दिन हजारौँ मानिसको ज्यान गइरहेको हुनसक्ने ठानिएको छ । सन् २०२० को मार्चयता चीन आगमन गर्ने सबै यात्रुहरूले क्वारन्टिनमा बस्नुपर्ने बाध्यकारी नियम लगाइएको थियो ।
तर त्यसरी क्वारन्टिन बस्नुपर्ने समय भने तीन साताबाट अहिले पाँच दिन बस्नुपर्ने गरी उल्लेख्य रूपमा घटाइएको थियो । नयाँ नियम अनुसार कोभिडलाई ए वर्गको सङ्क्रामक रोगबाट बी वर्गमा झारिएको छ जसको अर्थ अब क्वारन्टिनमा बाध्यकारी रूपमा बस्नुपर्दैन भन्ने हो । चीनले कोभिड महामारीको व्यवस्थापन कसरी गरेको थियो भन्ने विषयले राष्ट्रपति सीलाई अप्ठ्यारो स्थितिमा पुर्‍याएको विश्लेषकहरू बताउँछन् । उनकै कारण शून्य कोभिड नीति अपनाइएको थियो र त्यस कारण अर्थतन्त्रलाई असर परेको र मानिसको जीवनलाई त्यसले धेरै हदसम्म प्रतिबन्धात्मक बनाएको आरोप उनीमाथि लाग्दै आएको छ । तर त्यसलाई हटाए पनि अब भने उनले अस्पतालमा भर्ना भएकाहरू र खास गरी वृद्ध वृद्धामा देखिएको उल्लेख्य सङ्क्रमणको जिम्मेवारी लिनुपर्नेछ । महामारीको व्यवस्थापनलाई लिएर उनीमाथि व्यक्त भएको आम आक्रोश उनका लागि सबैभन्दा ठूलो जोखिम हो । 
 

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  ११:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार