अमेरिका र क्यानडामा हिमआँधीले करौडौँ मानिस प्रभावित

शनिबार, पुस ९, २०७९

न्युयोर्क । अत्यधिक चिसो मौसमका कारण अमेरिका र क्यानडामा २५ करोड मानिसहरूले जोखिमको सामना गरिरहेका छन् ।अमेरिकाका १२ वटा राज्यमा सङ्कटकालीन कदमहरू चालिएको छ भने कम्तीमा १९ जना मानिसहरूले ज्यान गुमाएका छन् ।मोन्टाना राज्यमा कीर्तिमानी माइनस ४५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । अमेरिकामा लगभग १५ लाख घर र व्यापारिक भवनहरूमा बिजुली आपूर्ति प्रभावित भएको छ भने हजारौँ उडानहरू रद्द भएका छन् । अर्को हप्तासम्म कायम राख्ने भविष्यवाणी गरिएको खराब मौसमले मानिसहरूको क्रिसमस योजना बिथोलेको छ । 

क्यानडा

कहाँ कस्तो अवस्था छ ?
उक्त व्यापक चिसो आँधी टेक्ससदेखि क्यानडाको कुबेकसम्म ३,२०० किलोमिटरभन्दा धेरै क्षेत्रमा फैलिएको छ । वायुमण्डलीय चाप घटेपछि अमेरिका(क्यानडा सीमा क्षेत्रमा रहेका ठूला तालहरू भएको क्षेत्रमा बरफसहितको तुफानको अवस्था देखा परेको छ ।
क्यानडामा ओन्टेरियो र कुबेकले उत्तरी ध्रुवीय विस्फोटको असर भोगिरहेका थिए र त्यहाँ हजारौँ घरमा विद्युत् आपूर्ति बन्द भएको थियो । ब्रिटिस कोलम्बियादेखि न्यू फन्डल्यान्डसम्म देशका अधिकांश भागमा चरम चिसो र हिमआँधीको चेतावनी दिइएको थियो।

अमेरिकामा चिसो
अमेरिकी राष्ट्रिय मौसम सेवा एनडब्लूएसले शुक्रवार जारी गरेको मौसमसम्बन्धी नक्सालाई ‘जाडो मौसमको चेतावनी समेटिएको हालसम्मकै सबैभन्दा व्यापक चित्रण’ भएको बताएको छ । मोन्टानाको एल्क पार्कमा तापक्रम माइनस ४५ डिग्री सेल्सीअसमा झरेको छ भने मिशिगनको हेल सहर जमेको छ । उक्त सहरमा शुक्रवार राति हिउँले ढाकिएको क्षेत्रमा तापक्रम माइनस १७ डिग्री सेल्सीअस भएको थियो । स्मिटीको हेल सलुनमा बारटेन्डर रहेकी एमिलीले भनिन्, ‘यहाँ धेरै चिसो छ, हामी एक खाले नर्कमा छौँ ।’
साउथ डेकोटामा हिउँ क्षेत्रमा रहेका अमेरिकी आदिवासीहरूले इन्धन सकिएपछि न्यानोको लागि लुगा बालेर ताप्नुपर्ने अवस्था आएको आदिवासी अधिकारीहरूले बताए । पेन्सिलभेनिया र मिशिगनका क्षेत्रहरूमा भारी हिमपातको पूर्वानुमान गरिएको थियो। न्यूयोर्कको बफेलोमा कम्तीमा ८९ सेन्टिमिटरसम्म हिउँ खस्ने अपेक्षा गरिएको थियो । एनडब्लूएसका अनुसार ८० लाखभन्दा बढी मानिस हिमपातको जोखिममा रहेका छन् । न्यू इङ्गल्यान्ड, न्यूयोर्क र न्यूजर्सीमा तटीय बाढी पनि आएको छ । प्यासिफिक नर्थवेस्टका केही बासिन्दाले सियाटल र पोर्टल्यान्डका जमेका सडकहरूमा आइस(स्केट गरेका थिए । हल्का चिसो महसुस हुने दक्षिणी राज्यहरू लुइजियाना, अलाबामा, फ्लोरिडा र जोर्जियामा पनि कडा चिसोका चेतावनीहरू दिइएका थिए ।
उडानहरूबारे जानकारी दिने बेवसाइट फ्लाइटअवेयरका अनुसार शुक्रवार मात्र पाँच हजार ६ सय भन्दा बढी अमेरिकी उडानहरू रद्द गरिएका थिए ।–बीबीसी

प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  १७:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार