छिमेकी देशमा कोरोना सङ्क्रमण बढेकोले नेपालमा सतर्कता अपनाउन आग्रह

कोरोनाको सब भेरियन्ट बीएफ-७ नेपालमा भेटिएको छैन
बिहीबार, पुस ७, २०७९

काठमाडौं । छिमेकी देशमा कोरोना सङ्क्रमण बढेको भन्दै सरकारले नेपालमा पनि सावधानी अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज विज्ञप्ति निकालेर नेपालमा अहिले सङ्क्रमण कम हुँदै गए पनि विश्वव्यापीरूपमा र छिमेकी देश भारत तथा चीनमा समेत नयाँ–नयाँ भेरियन्ट फैलिएकाले नेपाल पनि जोखिममा रहेको बताएको छ । छिमेकी देशमा बढिरहेको सङ्क्रमण र नयाँ भेरियन्टबारे सजग रहन आवश्यक रहेको भन्दै स्वास्थ्य मन्त्रालयले निगरानी र अरू सरकारी निकायसँग समन्वय बढाइएको उल्लेख गरेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पछिल्लो समय विदेशबाट आएका ४८ जना व्यक्तिको नमुना परीक्षण गरिएकोमा भारतमा पुष्टि भएको बीएफ ७ भेरियन्ट नदेखिएको मन्त्रालयले जनाएको छ ।

corana1671711842.jpg
फरक स्वरूपमा देखिन थालेको सङ्क्रमणले जोखिम बढाएको भन्दै मन्त्रालयले मास्कको प्रयोग गर्न, भौतिक दुरी कायम राख्न तथा खोप नलगाएको भए लगाउन आग्रह गरेको छ । नेपाल प्रवेश गर्ने सीमा नाकाहरूमा रहेका हेल्थ डेस्क तथा स्वास्थ्य संस्थाले स्क्रिनिङ, निगरानी, सर्तकता बढाउन तथा आवश्यक तयारीमा रहन पनि मन्त्रालयले आग्रह गरेको छ ।

कोरोनाको सब भेरियन्ट बीएफ-७ नेपालमा भेटिएको छैन

स्वास्थ्य मन्त्रालयले कोरोनाको ओमिक्रोन भेरियन्टको सब भेरियन्ट बीएफ–७ नेपालमा नभेटिएको बताएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले उक्त सब भेरियन्ट नभेटिए पनि सतर्कता अपनाउन भने आग्रह गरेको छ । पछिल्लो एक महिनामा देशका विभिन्न स्थानबाट संकलित नमुनाको जिन सिक्वेन्सिङपछि बिहीबार मात्रै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त ४८ जनाको नमुनामा ओमिक्रोन भेरियन्ट अन्य सब भेरियन्ट पुष्टि भएका छन् । तर छिमेकी देश चीनमा फैलिएको र विश्वको अन्य देशमा पनि देखिएको बीएफ–७ भने नभेटिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।
डा. अधिकारीका अनुसार छिमेकी देशहरूमा संक्रमणको पछिल्ला अवस्थाबाट सुसूचित हुँदै सजग हुन आवश्यक रहेको बताए । ‘विश्वव्यापी रुपमा हेर्दा केही देशहरुमा संक्रमणका नयाँ स्वरुपमा जोखिम बढिरहेका छन् । विशेषतः हाम्रै छिमेकी देशहरुमा संक्रमणको पछिल्ला अवस्थाबाट हामी सुसूचित हुँदै सजग हुन आवश्यक छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नयाँ भेरियन्ट फैलिदै गरेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निगरानी बढाउने एवं सम्बन्धित देशहरुसँग समन्वय गर्ने कार्य गरिरहेको छ ।’
मन्त्रालयका अनुसार ओमिक्रोन भेरियन्ट बीए–२, बीए २.७५, बीए २.७५.१, बीए २.७५.२, बीए २.७५.३, बीए २.७५.५, बीए २.७५.६, बीए.२.७६, बीए.५.२, बीए.५।२.१, बी.एम.१, बिएम १.१.३, बिएन १.३,बी क्यूब १.१,बिक्यूव १.२, बि.वाइ.१ पुष्टि भएका छन् ।
मन्त्रालयले मास्कको प्रयोग गर्न, एक अर्कामा भौतिक रुपमा दुरी कायम राख्न र हातको सरसफाइमा विशेष ध्यान दिन अनुरोध गरेको छ ।
स्वास्थ्य मन्त्रालयले प्रवेश विन्दुका हेल्थ डेस्कहरुले तथा स्वास्थ संस्थाहरुले आवश्यक तयारी थाल्न पनि आग्रह गरेको छ । बिहीबार नेपालमा जम्मा १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
 

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  १८:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार