आफ्नो जीवनको आधा भन्दा बढी समय झण्डै ४० वर्ष जेलमा बसे चाल्र्स शोभराज 

नेपालमा १९ वर्ष जेल बसेका चार्ल्स शोभराजलाई छोड्न आदेश
बिहीबार, पुस ७, २०७९

काठमाडौं । ‘बिकिनी किलर’ भनेर चिनिएका चाल्र्स शोभराज नेपालमा १९ वर्षदेखि कारागारमा रहेका चार्ल्स शोभराजलाई तत्काल रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । उनी सन् २००३ मा काठमाडौंमा पक्राउ परेका थिए । दुई विदेशी पर्यटकको सन् १९७५ मा हत्या गरेको अभियोगमा दोषी ठहर भएपछि उनलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको थियो । सन् २००९ मा पाटन पुनरावेदन अदालतले उनलाई जाली राहदानी प्रयोग गरेको छुट्टै अभियोगमा दोषी ठहर गर्दै एक वर्षको कैद सुनाएको थियो ।
न्यायाधीशहरू सपना मल्ल प्रधान र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले रिहा गर्न आदेश दिए पनि अन्य अदालतबाट भएका आदेशमा पनि शोभराजले कैद भुक्तान गर्न बाँकी रहे वा नरहेको बुझ्न भनिएको छ ।

चार्ल्स शोभराज
शोभराजलाई  ‘बिकिनी किलर’ भनेर पनि चिनिने गरिन्छ । “आफूलाई थुनामा राखिनु गैरकानुनी भएको भन्दै शोभराजले बन्दीप्रत्यक्षीकरणको आदेश माग गरेर निवेदन दायर गरेका थिए । सर्वोच्च अदालतबाट बन्दीप्रत्यक्षीकरणको आदेश जारी भएको हो,” अदालतका प्रवक्ता विमल पौडेलले भने।
बिकिनी किलर, सिरीअल किलर र द सर्पेन्ट आदि विभिन्न उपनामले चिनिने शोभराज फ्रान्सेली नागरिक हुन् । उनका पिता भारतीय मूलका हुन् भने आमा भियतनामी मूलकी हुन् । सन् १९९७ मा रिहा हुनुअघि उनी भारतमा २१ वर्ष कारागारमा बसेका थिए ।
अठहत्तर वर्षीय शोभराजले ४० वर्ष अर्थात् आफ्नो जीवनको आधाभन्दा बढी समय जेलमा बिताएका छन्।

शोभराज कहिले छुट्लान् जेलबाट ?
शोभराजको लगत रहेको भक्तपुर जिल्ला अदालत तथा कारागार कार्यालयमा सर्वोच्च अदालतको आदेश पठाइनेछ ।
‘अब उहाँहरूले लगत रुजु गरेर अन्य मुद्दामा लगत बाँकी रहे वा नरहेको कुरा यकिन गरेर मात्रै उहाँलाई छोड्ने–नछोड्ने कुरा गर्नुहुन्छ” अदालतका प्रवक्ता विमल पौडेलले भने ।  अन्य मुद्दाको सजाय भुक्तान गर्न बाँकी नरहेको अवस्थामा शोभराज रिहा हुन सक्छन् । सुन्धारास्थित केन्द्रीय कारागारका जेलर ईश्वरीप्रसाद पाण्डेले अदालतले आदेशको बोधार्थ जेलमा पनि पठाएको जानकारी दिए । 

चार्ल्स शोभराज
‘भक्तपुर जिल्ला अदालतबाट लागत बाँकी रहे नरहेको जानकारी हामीलाई आएको छैन। बाँकी नरहेको जानकारी आयो भने बिहीवार हामी रिहा गर्न सक्छौँ’, उनले भने । 
चार दशकअघि नेपालमा अमेरिका र क्यानडाका एक‍एक महिलाको हत्या गरेको अभियोग उनीमाथि थियो । ती मुद्दामा उनी दोषी ठहर भए ।

सर्वोच्च अदालतले किन मुक्त गर्ने आदेश दियो ?
सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको आदेशमा “निरन्तर कैदमा राख्नु कैदीबन्दीको मानव अधिकार मापदण्ड र संविधान, कानुन प्रदत्त अधिकारअनुकूल नदेखिएको” भन्दै रिहा गर्न भनेको छ ।
आदेशमा “अन्य मुद्दामा थुनामा राख्नु पर्ने नभए निजलाई आजै कैदबाट छाडिदिन तथा यो आदेश भएको १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउन,” भनिएको छ ।

चार्ल्स शोभराज
हाल ७८ वर्षका शोभराजको चालचलनमा सुधार आएको र पाँच प्रकारका औषधि सेवन गर्नुपर्ने अवस्थालाई समेत दृष्टिगत गर्दै उनलाई थुनामुक्त गर्नु उपयुक्त हुने अदालतको फैसलामा भनिएको छ ।
कारागार नियमावली, २०२० का अनुसार ७० वर्ष उमेर नाघेका र असल आचरण भएका नेपाली कैदीलाई ७५ प्रतिशतसम्म कैद मिनाहा गर्न सकिने कानुनी व्यवस्था छ ।
नेपाली नागरिकलाई जस्तै विदेशी नागरिकको हकमा पनि उक्त व्यवस्था कार्यान्वयन हुनुपर्ने भन्दै उनले कैदमुक्तिको मागसहित पटकपटक निवेदन दिएका थिए ।
‘हाल उनले १९ वर्ष कैद अर्थात् ९५ प्रतिशत कैद सजाय भुक्तान गरिसकेको देखिन्छ’, आदेशमा भनिएको छ ।
बुधवारको आदेशमा न्यायाधीशद्वयले सर्वोच्च अदालतले २०७५ साल फागुनमा दिइएको आदेशमा रहेको ‘निवेदकको उमेर ७४ वर्ष भइसकेको तथ्यमा विवाद नरहेको, निज मुटुसम्बन्धी रोगबाट पीडित भई नियमित उपचारको अवस्थामा रहेको र निजलाई ठेकिएको कैदमध्ये करिब ७५ प्रतिशत कैद भुक्तान भइसकेको देखिँदा निजका सम्बन्धमा मानवोचित र विवेकपूर्ण निर्णय तत्काल हुनु वाञ्छनीय देखियो’ बेहोरा र त्यसपछि २०७९ साल वैशाखमा परेको अर्को रिट निवेदनमा सर्वोच्च अदालतले जारी गरेको परमादेशको सम्बन्धमा कुनै निर्णय पनि नभएको पनि उल्लेख गरिएको छ ।

कहाँ-कहाँ गरे अपराध ?
शोभराजविरुद्ध भारत, थाईल्यान्ड, टर्की, इरान लगायतका मुलुकमा गरी झन्डै २० जनाभन्दा बढीको हत्यामा संलग्न भएको आरोप छ ।
ती घटनाहरू सन् १९७२ देखि १९८२ सम्म भएका थिए । हत्या गरिएका अधिकांश मृतकलाई अचेत बनाउन औषधि दिइएको, घाँटी निमोठिएको, पिटिएको वा आगो लगाइएको बताइन्छ । तर सन् २००४ सम्ममा ती आरोपहरू पुष्टि हुन नसकेको र नेपालमा नै पहिलो पटक हत्याको अभियोग पुष्टि भएको बताइन्छ । सन् २०२० मा बीबीसी र नेटफ्लिक्सले उनीबारे ‘द सर्पेन्ट’ नामक शृङ्खलाबद्ध वृत्तचित्र बनाएको थियो ।
भेष बदल्ने, प्रहरी प्रशासनलाई समेत चकित बनाउन वा प्रभावमा पार्न पोख्त मानिने शोभराज पछिल्लो समय ‘सज्जन, इमान्दार र कर्तव्यनिष्ठ व्यक्तिले’ जस्तो व्यवहार गर्ने गरेको कारागारमा खटिएका अधिकारीहरूले बताएका छन् । 
फ्रान्सका पर्यटकहरूलाई विष दिएको अभियोगमा दोषी ठहर भएपछि सन् १९७६ मा शोभराजलाई भारतमा २१ वर्षको जेल सजाय सुनाइएको थियो । तर जेलमा १० वर्ष बसेपछि उनी १९८६ मा दिल्लीस्थित तिहाड जेलबाट भागेका थिए ।
आफ्नो जन्मदिनमा उनले जेलभित्र भोज दिएका थिए । त्यसमा सुरक्षाकर्मीहरूलाई पनि निम्तो दिइयो । भोजमा बाँडिएको बिस्कुट र अङ्गुरमा निद्रा लाग्ने औषधि मिसाइएकाले खाने जति सबै जना अचेत भएपछि शोभराज र अरू केही कैदी तिहाड जेलबाट भागेका थिए । भारतीय पत्रपत्रिकामा प्रकाशित विवरणअनुसार उनले त्यतिबेला जेलको ढोकामा तस्बिर पनि खिचाएका थिए ।
थाईल्यान्ड सुपुर्दगी हुनबाट जोगिने विश्वाससहित उनी त्यसरी जेलबाट भागेको बताइन्छ । थाईल्यान्डमा पाँच जनाको हत्या गरेको अभियोगमा फैसला हुँदा उनलाई मृत्युदण्ड पनि हुनसक्थ्यो । सन् १९९७ मा जेलबाट मुक्त हुँदा थाईल्यान्डमा मुद्दा चल्ने हदम्याद गुज्रिसकेको थियो। जेलबाट छुटेपछि उनलाई फ्रान्स पठाइएको थियो । त्यसपछि सन् २००३ मा उनी काठमाण्डूमा देखा परे ।–एजेन्सी 

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  १४:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार