मेस्सी सर्वकालिक महान् फुटबल खेलाडी हुन् ?

सोमबार, पुस ४, २०७९

काठमाडौं । कतारको लुसैल रङ्गशालामा आइतवार लियोनेल मेस्सी सबैको आकर्षणको केन्द्रमा थिए । आफ्नो लोभलाग्दो खेलजीवनमा पाउन नसकिरहेको एउटा उपाधि अन्ततः उनले त्यहाँ हात पारे । परम्परागत अरबी पहिरनमा यी ३५ वर्षीय आर्जेन्टिनी नायकले आफ्नो खेलजीवनमा निकै प्रतीक्षा गरिएको विश्वकप उचाल्नुअघि आफ्ना हत्केला रगडे । आतसबाजी भइरहेको बेला उनले विश्वकप उचालेर हर्षोल्लास मनाए ।
मेस्सीले आफ्नो सपना पूरा गरे । धेरैले विश्वकप इतिहासमै हालसम्मकै उत्कृष्ट भनिरहेको फाइनलमा उनले कपहरूको सङ्कलनमा रहेको अभावलाई पूर्ति गरे ।

मेस्सी र आर्जेन्टिना
सातवटा बलोन डी’ओर, चारवटा च्याम्पीअन्स लीग, एउटा कोपा अमेरिका, स्पेनी क्लब बार्सिनोलाबाट १० वटा ला लिगा र पीएसजीबाट फ्रान्सेली लीगको उपाधिसँगै विश्वकप पनि उनको उपलब्धिको सूचीमा थपिएको छ ।
यो उपाधिलाई मेस्सीका करोडौँ समर्थकहरूले उनी फुटबलका सर्वकालिक महान् खेलाडी हुन्न भन्ने प्रमाणका रूपमा प्रस्तुत गर्नेछन्।
विश्वकपको पन्ध्र इन्च अग्लो स्वर्ण ट्रफीका कारण धेरैले मेस्सी महान् रहेको बताउनेछन् । अनि त्यस तर्कमा विमति राख्नेहरूलाई आफ्नो तर्क पेस गर्न कठिन हुनेछ ।
अब मेस्सीलाई पेले र आइतवार लुसैल रङ्गशालामा धेरै आर्जेन्टिनीहरूले बोकेको ब्यानरमा देखिएका अर्का खेलाडीकै पङ्क्तिमा राखिनेछ भन्नेमा कोही असहमत हुन सक्नेछैन ।

मेस्सी

म्याराडोनासँग तुलना
प्रसिद्ध खेलाडी तथा उनका पूर्ववर्ती डिएगो म्याराडोनालाई उत्कृष्ट खेलाडीको श्रेणीमा एउटा स्वाभाविक बलियो पात्रका रूपमा हेरिन्छ । आइतवारअघिसम्म उनीहरू दुईबीच एउटा भिन्नता थियो– म्याराडोनाले ३६ वर्षअघि मेक्सिकोमा विश्वकप हात पारेका थिए तर मेस्सीले त्यसो गर्न सकेका थिएनन् । सर्वकालिक महान् खेलाडीबारेको कुराकानीमा मेस्सी सधैँ रहनेछन् ।
विश्वभरि खेलिने यो खेलको उच्च सम्मान हात पारेकाले यसबारेको बहसमा अब मेस्सीको उनको खेलकौशल जत्तिकै बलियो चर्चा हुनेछ ।

म्याराडोना र मेस्सी
सकस र सफलता
सफलताको यो उच्चबिन्दुमा मेस्सी कसरी पुगे ? आर्जेन्टिनालाई विश्वकप जिताउने र मेस्सीको नाम सदाका लागि जोडिनेगरी भएको प्रतिस्पर्धाको उत्कर्षलाई कसरी हेर्ने ?
मेस्सीले पक्कै आफू सहभागी भएको सन् २००६ को पहिलो विश्वकपदेखि सन् २०१४ को फाइनलमा जर्मनीसँग पराजित हुँदासम्मको विगतका कारण अहिलेको उपाधि सहजै जितिने खालको नभएको थाहा पाएको हुनुपर्छ ।
त्यसैले निकै सकसपछि लुसैल रङ्गशालाको पछिल्लो दर्शनीय रातमा मेस्सीले आर्जेन्टिनाको लागि तेस्रो विश्वकप जिताउँदा त्यो झन् आकर्षक बनेको थियो । अनि त्यो सबै फ्रान्सका २३ वर्षीय प्रतिभाशाली खेलाडी किलियान एम्बाप्पेको उपस्थितिमा भएको थियो ।

आर्जेन्टिना
यदि अहिले भइसकेको छैन भने पनि उत्कृष्ट खेलाडीको बहसमा आगामी दिनमा एम्बाप्पेको नाम मेस्सीसँगै आउने नै छ ।
मेस्सीको विश्वकप यात्राको अन्तिम अध्याय बनेको फ्रान्सविरुद्धको खेलमा सुरुदेखि नै रहस्य र रोमाञ्च देखा परे । निकै उतारचढावहरू आए । अविस्मरणीय बनेको आइतवार राति उक्त अध्याय निकै राम्ररी समापन भयो ।–एजेन्सी 

प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  १३:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार