ललितपुर महानगरमा ‘स्मार्ट राजस्व भुक्तानी प्रणाली’ सुरु 

प्रधानमन्त्री देउवाले गरे राजस्व भुक्तानी प्रणालीको शुभारम्भ 
आइतबार, पुस ३, २०७९

ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुर महानगरमा ‘स्मार्ट राजस्व भुक्तानी प्रणाली’को शुभारम्भ गरेका छन् । महानगरको १०४औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले महानगरको ‘स्मार्ट सेवा’ अन्तर्गत ‘फोनपे’मार्फत राजस्व भुक्तानी प्रणालीको शुभारम्भ गरेका हुन् । 
सो अवसरमा प्रधानमन्त्री देउवाले ऐतिहासिक, धार्मिक र सांस्कृतिक गरिमालाई चीरकालपर्यन्त जीवन्त राख्न जनप्रतिनिधिसहित सम्पूर्ण कर्मचारीको सामूहिक प्रतिबद्धता रहने विश्वास व्यक्त गरे । 
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले काठमाडौँको ललितपुरसँग मित्रतापूर्ण सम्बन्ध रहेको र त्यसलाई अझै सुमधुर बनाउने गरी आपसी सहकार्यका साथ काम गर्न चाहेको बताए । 
ललितपुर महानगरका नगरप्रमुख चिरीबाबु महर्जनले महानगरभित्रका कला, संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा आफूहरूले विशेष प्राथमिकता दिएको बताए । उनले नगरवासीको जीवनस्तर सहज तुल्याउनु आफूहरूको प्रमुख दायित्व भएको बताउँदै सो कार्यमा सहयोग गर्न नगरवासीमा आग्रहसमेत गरे । 
 “संस्कृति, सम्पदा र सभ्यता जोगाउनलाई जसरी ललितपुर महानगरपालिकाले अग्रसर भएर भूमिका देखाएको छ, त्यो एकदमै सराहनीय छ । आगामी दिनमा हामीले पनि त्यही सिक्नु पर्नेछ”, काठमाडौँ महानगरपालिकाका प्रमुख शाहले भने । 
ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित सांसद डा तोसिमा कार्कीले आधुनिकता र मौलिकताका साथसाथै विकासका पूर्वाधारलाई महानगरले अगाडि बढाएकामा धन्यवादा व्यक्त गरिन् । 

स्थापना दिवसका अवसरमा ललितपुर महानगरले पाँच स्रष्टा, कलाकार र समाजसेवीलाई एक लाख राशिको पुरस्कारसहित ‘ललितपुर गौरव’ पुरस्कारले सम्मान गरेको छ । महानगरले वडा नं ६ का वरिष्ठ धातुमूर्तिकार स्व राजकुमार शाक्यलाई मरणोपरान्त सम्मान गरेको छ । त्यस्तै वडा नं ६ कै वरिष्ठ साहित्यकार एवं अनुसन्धानकर्ता छत्रबहादुर कायस्थ, वडा नं १४ का भजनशिरोमणि भक्तराज आचार्य, वडा नं १६ का क्रोधकला शिरोमणि कालु कुमाले र पूर्वमहानगरप्रमुख बुद्धिराज बज्राचार्यलाई सम्मान गरेको छ ।
गत वर्ष सबैभन्दा बढी कर तिर्ने करदाता र यस वर्ष सेवा निवृत्त भएका कर्मचारीलाई समेतलाई सम्मान गरेको छ । सबैभन्दा बढी कर तिर्ने संस्थागत करदातामा जेम्स स्कुल सम्मानित भएको छ भने व्यक्तिगततर्फ टासी तेन्जिङ सम्मानित भएका छन् । 
महानगरले यसै वर्ष सेवा निवृत्त हुनुभएका वरिष्ठ इञ्जीनियर रुद्रप्रसाद गौतम, वरिष्ठ लेखा अधिकृत दामोदर थापा, अर्किटेक इञ्जीनियर विन्दिया बज्राचार्य र अधिकृत सीतादेवी घिमिरेलाई सेवा निवृत्त सम्मान गरेको छ ।
त्यस्तै कार्यालय सहयोगी रत्नमान महर्जन, बाबुरत्न अवाले, दन्तकुमारी खड्का, सानुमैया पोडेनी, शारदा बज्राचार्य, रामकृष्ण श्रेष्ठ, बलभद्र महर्जन, प्रेमकृष्ण श्रेष्ठ, सरिता श्रेष्ठ, मञ्जु अर्याल हिरादेवी पोडेनी, कृष्णप्रसाद ढुङ्गेल, माइला कुँवर, सन्तमाया पोडेनी, रवीन्द्र शाक्य, नगर प्रहरी हवल्दार हरिप्रसाद घिमिरे, श्रीबहादुर महर्जन, तिजकुमार महर्जन, सवारी चालक रामलाल अवाले, तीर्थमान महर्जन, पदमबहादुर तामाङ, रामबहादुर पोडे, माली बद्री कर्मी, कृष्णलाल श्रेष्ठलाई समेत महानगरले सेवा निवृत्त सम्मान गरेको हो ।

प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  १४:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार