सुरु भयो पश्चिम तराईमा शीतलहर

बुधबार, मंसिर २८, २०७९

काठमाडौं । केही दिनयता मुलुक भरको तापक्रम घट्ने क्रममा छ । पहाडी भूभागमा हिऊँ पर्ने अवस्था बनेको छ भने तराइ क्षेत्रमा शीतलहरको सम्भावना बढेको छ । पश्चिम तराइका भूभागमा पनि चिसो बढ्दै जाँदा शीतलहरको क्रम सुरु भएको छ । कैलालीसहित पश्चिम तराइमा शीतलहर सुरु भएको छ । बाक्लो हुस्सु र शीतलहरका कारण स्थानीय बासिन्दा घरबाहिर निस्कन सकेका छैनन् । सडकमा गाडी र व्यक्तिको आवतजावत पातलिएको छ । बिहानी कक्षा सञ्चालन हुने क्याम्पस र विद्यालयमा पठनपाठन प्रभावित भएका छन् । आज बिहान जिल्लाको लम्की, टीकापुर, सुखडलगायतका ठाउँमा बाक्लो हुस्सु लागेको छ । 
बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित भएको छ । शीतलहर सुरु भएपछि कैलालीका तरकारी खेती गर्दैआएका किसान चिन्तित भएका छन् । लम्कीका किसान जगनाथ जैशीले करिब दुई कट्ठा जग्गामा आलु तथा तरकारी खेती लगाएका छन् । बाक्लो हुस्सु र शीतलहरका कारण सबै सखाप हुने हो की भन्ने चिन्ताले उनलाई पिरोलेको छ । 
जाडोयाम सुरु भएपछि कसरी आफ्नो छोराछोरी र घरपरिवारलाई न्यानो बनाउने भन्ने चिन्ता लम्कीचुहा–३ वादी बस्तीकी रमा वादीलाई छ । बर्सातको समयमा बाढी र डुबान तथा हिउँदको समयमा जाडोका कारण बल्चौरस्थित वादी बस्तीका बालबालिका तथा ज्येष्ठ नागरिक प्रभावित हुँदै आएका छन् । शीतलहरबाट कञ्चनपुरको जनजीवनसमेत प्रभावित बनेको छ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  १२:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार