सिम्लेमा फल्यो पाँच करोडको सुन्तला 

सोमबार, मंसिर १९, २०७९

अर्घाखाँची ।   जिल्लाको पाणिनि गाउँपालिका वडा नं १ सिम्लेमा मात्रै रु पाँच करोडको सुन्तला फलेको छ । सिम्लेमा मात्र ४९ घरका कृषक व्यावसायिक सुन्तला उत्पादनमा लागेका छन् । उनीहरुले सबैले सुन्तला बेचेर कम्तीमा रु तीनदेखि २८ लाखसम्म आम्दानी गर्छन् ।   यस गाउँका ४९ घरपरिवार व्यावसायिक सुन्तलाखेतीमा लागेको र यसबाट मनग्य आम्दानी गर्न सफल भएको कृषक रेवतीराज पौडेलले बताए  । उनले आफ्नो बारीमा पाँच सय ५५ बोट सुन्तला रहेको र यसबाट दुई सय ५० क्विन्टलभन्दा बढी फलेको बताए  । उनले यस वर्ष सुन्तला बिक्रीबाट रु २५ देखि २८ लाख आम्दानी हुने बताए  ।

    आफ्नो बारीमा पाँच सय ६५ बोट सुन्तला बगैँचामा रहेको जानकारी दिँदै कृषक दधीराम गौतमले भने , “गत वर्ष सुन्तला बिक्रीबाट नौ लाख कमाएँ, यस वर्ष सुन्तला बढी फलेकाले रु १४ लाख आम्दानी हुने अपेक्षा छ ।” 
  विगतका वर्षमा यहाँ उत्पादन भएको सुन्तला प्रतिकिलो रु ६० देखि ६५ मा बुटवल, तानसेन र भैरहवाका बजारमा बिक्री गर्न बाध्य बनेका कृषक यस वर्ष पाणिनिको पोखराथोकमा शीतभण्डार बनेपछि भण्डारणलाई सहज भएको छ ।  अहिले मौसमीरुपमा सस्तो मूल्यमा बेच्नुभन्दा शीतभण्डारमा राखेर बैमौसमी समयमा महँगो दरमा सुन्तला बिक्री हुने भएपछि यहाँका कृषक खुसी भएको अगुवा कृषक चिरञ्जीवी पौडेलको भनाइ छ ।  विगतमा कुहिएर जाने समस्या भोगेका किसान अहिले सुन्तला शीतभण्डारमा राखेर बेमौसममा महँगो मूल्यमा बिक्री गर्ने योजना रहेको कृषक पौडेलले बताए । पाणिनि–१ मा मात्र नभइ वडा नं २ पोखराथोक, वडा नं ४ पटौटी र वडा नं ५ मैदानमा पनि सुन्तला उत्पादन हुने गर्दछ । पाणिनि गाउँपालिकासँगै मालारानी गाउँपालिका र छत्रदेव गाउँपालिकाका विभिन्न स्थानमा सुन्तलाखेती हुँदै आएको छ । अर्घाखाँचीमा एक वर्षमा रु २५ करोडको सुन्तला उत्पादन हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख रामनाथ पाण्डेले बताए  । 
 

प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  १६:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार