नम्रता श्रेष्ठ बनिन् यस वर्षको मिस नेपाल

शनिबार, मंसिर २०, २०७७

काठमाडौं । २३ वर्षीया नम्रता श्रेष्ठले यस वर्षको मिस नेपाल उपाधि जितेकी छन् । शनिबार राजधानीमा सम्पन्न ग्रान्डफिनालेमा २० प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपाल वल्र्डको उपाधि जितेकी हुन् । किन्डरगार्डेन शिक्षिकासमेत रहेकी नम्रताले अब मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछिन् ।
यस्तै मिस नेपाल सुप्रानेसनल उपाधि सिमल कनौजिया, मिस नेपाल इन्टरनेसनल उपाधि सन्ध्या शर्मा, मिस नेपाल अर्थको उपाधि सुप्रिया श्रेष्ठले जितेका छन् ।
त्यस्तै सह–उपाधितर्फ मिस कन्फिडेन्टको मिस नेपाल नम्रता, मिस ब्युटी विथ पर्पज सन्ध्या शर्मा, मिस हेल्दि नेहा सरकार, मिस फोटोजेनिक आस्थिका श्रेष्ठ, मिस पपुलर चोइस सन्ध्या शर्मा र मिस ग्ल्यामर योजना भट्टराई घोषित भइन् । कोरोना महामारीका कारण यस वर्ष मिस नेपाल फरक तरिकाले आयोजना गरिएको थियो । 
कार्यक्रममा सज्जा चौलागाईंले गायन प्रस्तुति दिइन् । निर्णायकतर्फ शिक्षित भट्ट, टुलिका अग्रवाल, करण वैध, मिस नेपाल २०१७ निकिता चाण्डक, डा.पुकार मल्ल, डा.राज राणा, प्रिती सिटौला, सुमन शाक्य, अभिनेत्री स्वस्तिमा खड्का, हेलिकप्टर क्याप्टेन प्रिया अधिकारीलगायत थिए । 
नम्रताले यसअघि मिस नेपाल २०१६ मा पनि सहभागिता जनाएकी थिइन् । त्यो बेला उनी शीर्ष पाँचसम्म पुग्न सफल भएकी थिइन् । समाजमा सकारात्मक छाप छोड्ने नम्रताको उद्देश्य हो । ‘एकदम रमाइलो लागिरहेको छ । एकदम खुशी छु’ मिस नेपाल नम्रताले सुनाइन् ।
 

प्रकाशित मिति: शनिबार, मंसिर २०, २०७७  २०:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार