दोलखामा मतगणना सुरू

शुक्रबार, मंसिर १६, २०७९

काठमाडौँ । दोलखामा प्रतिनिधिसभा सदस्यका लागि बिहीबार राति ९ बजेबाट मतगणना  सुरू भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार दोलखाको गौरीशङ्कर क्याम्पसमा ९ बजे मतगणना सुरू भएको हो । सुरुमा प्रतिनिधिसभा सदस्यको मतगणना सुरू हुने र शुक्रबारबाट प्रदेशसभा सदस्यको पनि मतगणना गर्न सुरू गरिने जनाइएको छ । 
दोलखामा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का  गङ्गा कार्की, नेकपा (एमाले) बाट बालकृष्ण शिवाकोटीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । 
दोलखाको १० मतदान केन्द्रमा बिहीबार पुनः मतदान भएको थियोे भने जिल्लाको बाँकी स्थानमा यही मङ्सिर ४ गते मतदान सम्पन्न भएको थियो । 
प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेको यस क्षेत्रमा १४ राजनीतिक दल र सात स्वतन्त्र गरी २१ उम्मेदवार रहेका छन् ।

५० प्रतिशत मत खस्यो

दोलखाको १० मतदान केन्द्रमा बिहीबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको पुनः मतदानमा ५० प्रतिशत मत खसेको छ ।
मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार ५० प्रतिशत मत खसेको र निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । ती मतदान केन्द्रमा चारवटा बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका छन् ।
सो जिल्लाको वैतेश्वर गाउँपालिका वडा नंं ६ स्थित वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख र ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतलीकाठ मतदान केन्द्रको क र ख, वडा नं ३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र क, ख र ग रहेको थियो । तामाकोशी गाउँपालिका वडा नं ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रका क, ख र ग मा मतदान भएको थियोे ।
ती मतदान केन्द्रमा मङ्सिर ४ मा भएको मतदानमा विवाद उत्पन्न भएपछि उक्त मतदान रद्द गरी पुनः मतदान गराउन यही मङ्सिर ११ गते निर्वाचन आयोगले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  ०३:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार