सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले उच्च आर्थिक वृद्धिका लागि उत्पादनसँगै उत्पादकत्व वृद्धि र नवप्रवर्तनमा जोड दिनुपर्ने बताएका छन् । नेपाल प्रशासनिक प्रशिक्षक प्रतिष्ठानको ४४औँ वार्षिकोत्सव तथा कर्मचारी पुनर्मिलन कार्यक्रममा बोल्दै उपाध्यक्ष भट्टले अनुसन्धान तथा विकास, ज्ञानको आदान–प्रदान र नवप्रवर्तनले मुलुकको आर्थिक वृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने, ‘रिसर्च एन्ड डेभलपमेन्टबाट विभिन्न मुलुकहरूले यति प्रतिशत आर्थिक वृद्धि हासिल गरिरहेका छन् । त्यसमा नलेज सेयरिङ र इनोभेसनको कुरा महत्वपूर्ण छ । प्रोडक्सन मात्रै नभएर प्रोडक्टिभिटी त्यत्तिकै महत्त्वपूर्ण छ र त्यो प्रोडक्टिभिटीको माध्यमबाट हुने प्रोडक्सन अलिकति दिगो हुन्छ ।’ भट्टले विश्व अर्थतन्त्रमा अमेरिकाको नेतृत्वको पछाडि अनुसन्धान तथा विकास र नवप्रवर्तनमा गरिएको लगानी महत्वपूर्ण रहेको बताए । उनले भने, ‘आज संसारभरमा अमेरिकाले किन इकोनोमीलाई लिड गरिरहेको छ, इन्जिन अफ दि ग्लोबल ग्रोथ भनेर भनिरहेको छ भन्दा रिसर्च एन्ड डेभलपमेन्टमा भएको लगानी नै हो । उनीहरूले नवप्रवर्तनमा गरेको लगानी त्यत्तिकै महत्त्वपूर्ण देखिएको छ ।’ नेपाल प्रशासनिक प्रशिक्षक प्रतिष्ठानबाट प्रशिक्षित कर्मचारीको व्यवहार र सेवा प्रवाहबाट देशका विभिन्न भूभागका नागरिकले लाभ लिने भन्दै उनले संस्थाको भूमिका महत्वपूर्ण रहेको बताए। भट्टले प्रशासनिक तालिमले कर्मचारीको व्यवहार र नागरिकप्रतिको दृष्टिकोणमा समेत प्रभाव पार्ने बताए । उनले बेलायतको औपनिवेशिक समयमा भारतमा भएको अनिकालको उदाहरण दिँदै प्रशासकलाई दिइने ज्ञान र तालिमले नागरिकप्रतिको व्यवहारमा समेत प्रभाव पार्ने उल्लेख गरे । उनले राज्यको सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रशासनिक प्रशिक्षक प्रतिष्ठानको भूमिका महत्वपूर्ण रहेको बताए । कार्यक्रममा सम्मानित व्यक्तित्व राजन खनालसँगको सहकार्यको प्रसङ्गसमेत उल्लेख गर्दै भट्टले मौद्रिक नीति निर्माणका क्रममा आफूहरूबीच भएको छलफल स्मरण गरे । भट्टले बैंकहरूलाई अनिवार्य रूपमा डिबेन्चर जारी गर्न दिने व्यवस्था ल्याउँदा सुरुवाती चरणमा विरोध भए पनि त्यसको दीर्घकालीन लाभ वित्तीय प्रणाली र अर्थतन्त्रले प्राप्त गरेको बताए । उनले नीतिगत व्यवस्था ल्याउँदा तत्कालको प्रतिक्रिया मात्र नभई दीर्घकालीन प्रभावसमेत हेर्नुपर्ने बताए । भट्टले बैंकहरूको सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतको रकम सबै प्रदेशमा खर्च गर्ने व्यवस्था ल्याउन आफूले पहल गरेको पनि बताए । उनका अनुसार सीएसआरको रकम प्रदेश–प्रदेशमा खर्च हुँदा समाजको उत्थान, गरिबी न्यूनीकरण, वित्तीय साक्षरता र जनचेतना अभिवृद्धिमा समेत सहयोग पुगेको छ ।