रगतका लागि सुरक्षा निकायकै भर

मंगलबार, मंसिर १३, २०७९

जाजरकोट । यही मङ्सिर ११ गते नलगाड नगरपालिका–८ हल्चौरकी गर्भवती लक्ष्मी खत्रीको अत्यधिक रक्तश्राव भयो । उनको घरबाट झण्डै तीन घण्टा टाढा रहेको स्थानीय अस्पतालमा उपचार सम्भव भएन । यसपछि रु १४ हजार जिप भाडामा लिएर २५ कोस टाढा सदरमुकाम ल्याएर उपचार सुरु भयो ।
उपचारलगत्तै छोरीको जन्म दिएकी उनीलाई तत्काल ‘बी’ पोजेटिभ रगतको आवश्यकता परेको जनाउँदै स्वास्थ्यकर्मीले विष्णु खत्रीलाई अह्राए । जिल्लामै ‘ब्लड बैंक’ नभएका कारण खत्रीले तत्काल जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी कार्यालय हुँदै नेपाली सेनासम्म रगत चाहिएको सम्पर्क गरे । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले तत्काल प्रहरी जवान महेन्द्र थापालाई रक्तदान गर्न अस्पताल पठाए ।  त्यस्तै डोल्पामा अस्पतालमा गत शनिबार रुकुमपश्चिम आठबीसकोट नगरपालिका–४ की कमला विकको पाठेघरभन्दा बाहिर नलीमा नवजात शिशु बसेका कारण समस्या आयो । सो समस्या आएपछि उनी डोल्पा अस्पताल पुगेकी थिइन् । उक्त जटिल खालको एक्सप्लोरेट्री ल्यापारोटामी शल्यक्रिया जिल्ला अस्पतालमै भयो । 
सो शल्यक्रियाका लागि रगतको आवश्यकता पर्दा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी जवानकै रगतको सहाराबाट विकको ज्यान बच्यो । यी त प्रतिनिधिमूलक घटनामात्र हुन् । 
जाजरकोट अस्पताल र डोल्पाको जिल्ला अस्पतालमा मासिक सातभन्दा बढी रगत दिनुपर्ने बिरामी आउँदा सेना, प्रहरी र स्वास्थ्यकर्मी आफैँले रगत दिएर ज्यान बचाउने गरेको डोल्पा अस्पतालमा डा अखण्ड उपाध्यायले बताउनुभयो । यातायातको सहज पहुँच नभएको डोल्पामा सबैभन्दा बढी समस्या आउने गरेको छ । जाजरकोट सदरमुकाममा समेत रगत व्यवस्थापन नहुञ्जेलसम्म दैनिक रगतकै समस्या हुने गरेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख नवराज कँडेलले जानकारी दिए ।
यस वर्षमात्र जाजरकोटमा १४ जनाको रगतकै समस्या समाधान भएको छ । छिमेकी जिल्ला रुकुमपश्चिममा समेत यही समस्या छ । कर्णालीका पहाडी जिल्लामा रगतको समस्या पर्नासाथ प्रहरी, सेना, स्वास्थ्यकर्मी र स्थानीयवासी नै खोज्नुपरेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । कहिलेकाहीँ रगतै नपाउँदा बिरामीका आफन्त रुने, कराउनेसम्म गर्दा उपचारमा खटिने स्वास्थ्यकर्मीसमेत आँखाबाट आँसु झार्नुपरेको घेरै घटना देखापरेको जाजरकोट अस्पतालमा कार्यरत स्टाफ नर्स नेप्लिजा पुनले बताइन् । 

डोल्पा अस्पतालका डा उपाध्यायका अनुसार अघिल्लो आर्थिक वर्ष र यो आर्थिक वर्षमा मात्र डोल्पा अस्पतालमा कम्तीमा १० जनालाई रगत दिइएको छ । सबैभन्दा बढी हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत प्रदेश अस्पतालमा लैजाने सुत्केरीको सङ्ख्या डोल्पाकै रहेको छ । दुर्गम ठाउँमा सुत्केरी हुने अधिकांशको ज्यान रगत अभावकै जाने गरेको छ । घरमै असुरक्षितरूपमा सुत्केरी हुने र अत्यधिक समस्या परेपछि मात्र अस्पताल आउने अधिकांश सुत्केरी, घाइतेको ज्यान रगत अभावकै कारण जाने गरेको छ । पर्याप्त उपकरणका साथै स्रोत, साधन नभएका कारण दुर्गममा उपचार गर्न मुस्किल हुने र विश्वास गुमाउने गरेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  १३:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार