अदुवा बिक्री नहुँदा डोटीका किसान मारमा

मंगलबार, मंसिर १३, २०७९

दिपायल । यहाँका किसानले उत्पादन गरेको अदुवा बिक्री नभएपछि उनीहरू मर्कामा परेका छन् । जोरायल, बोगटान फुड्सिल र बडीकेदार गाउँपालिकाका रनुकाँडा, बयालगाउ, लाना केदारेश्वर छेडा, घागल मानाकापडी, टीमुट्टलगायतका किसानले उत्पादन गरेको अदुवाले बजार पाउन नसकेको छैन ।    
अदुवा उत्पादनमा गत वर्षको तुलनामा यस वर्ष चार प्रतिशतले वृद्धि भए पनि उचित मूल्य र बजारीकरण नभएका कारण यहाँका किसान मारमा परेका हुन् । गत वर्ष व्यापारीले अदुवा प्रतिकिलो रु ५० देखि ६० का दरले खरिद गरेका थिए । यस वर्ष किसान प्रतिकिलो रु ३० देखि ४० सम्ममा बिक्री गर्न बाध्य छन् । 
भारतीय व्यापारी नआउँदा अदुवाले उचित मूल्य पाउन छाडेको बडीकेदार गाउँपालिका–४ रनुकाँडा सुनौलो किरण कृषक समूहका अध्यक्ष नरेन्द्रबहादुर ताडीले बताए । गत वर्ष आफूले रु ५० हजार हात पारेको तर यस वर्ष २५ हजारको पनि अदुवा बिक्री गर्न नसकेको जानकारी दिए । सरकारको ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रमअन्तर्गत  जिल्लाको मुख्य नगदे बालीका रूपमा स्थापित अदुवा खेतीको प्रवद्र्धन गर्दै आए पनि नेपालमा प्रशोधन केन्द्र नहुँदा भारतीय व्यापारीको भर पर्नुपर्ने बाध्यता रहेको बताए ।    
किसानका समस्यालाई ध्यानमा राखेर अदुवा प्रशोधन केन्द्र स्थापनाका लागि पहल गरिरहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव साउदले बताए । साथै किसानले उत्पादन गरेको अदुवाको बजारीकरणका लागि सहजीकरण गर्न पालिका सरकार लागि परेको उनको भनाइ छ । सरकारले ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत उद्योग वाणिज्य सङ्घको अगुवाइमा जिल्लाको मुख्य नगदे बालीका रूपमा स्थापित अदुवा खेतीेको प्रवद्र्धन गर्दै आएको छ । 
यहाँको दक्षिण क्षेत्र अदुवा उत्पादनका दृष्टिले महत्वपूर्ण मानिन्छ । यस क्षेत्रमा वार्षिक दुई सय क्विन्टलभन्दा बढीको अदुवा उत्पादन हुने बताइएको छ । जिल्लाको बोगटान फुड्सिल, बडीकेदार र जोरायल गाउँपालिका अदुवा उत्पादन पकेट क्षेत्रको रूपमा छनोट गरीएको कृर्षि ज्ञानकेन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले बताए । उनले स्थानीय सरकारसँग सहकार्य गरेर अदुवाको बजारीकारण गर्न पहल भइरहेको पनि बताए । 
गत वर्ष यस जिल्लामा सात सय २०  हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएमा १३ हजार दुई सय ११ मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष आठ सय ४५ हेक्टरमा अदुवा खेती गरिएकामा १४ हजार मेट्रिकटन अदुवा उत्पादन  भएको  जिल्ला कृषि ज्ञान केन्द्र डोटीले जनाएको छ ।  

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  ०४:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार