बागलुङमा बदर मत घट्यो 

म्याग्दीमा मतदाता शिक्षा  प्रभावकारी हुन सकेन 
आइतबार, मंसिर ११, २०७९

गलकोट । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बागलुङ जिल्लामा ४.५२ प्रतिशत मत बदर भएको छ । गत स्थानीय तहको निर्वाचनमा १० प्रतिशत मत बदर भएकामा अहिले मत बदर सङ्ख्या कम भएको हो ।
जिल्लामा खसेको एक लाख पाँच हजार आठ सय ४६ मतमध्ये चार हजार सात सय ८९ मत मात्र बदर भएको मुख्य निर्वाचन अधिकृत डा दिवाकर भट्टले जानकारी दिए । उनका अनुसार अझै मत बदर सङ्ख्या घटाउने आयोगको तयारी भए पनि नागरिकको राजनीतिप्रतिको वितृष्णा, अशिक्षा र मतदाता शिक्षाको पहुँच नपुग्नुका कारण मत बदर भएको हो । मुख्य निर्वाचन अधिकृत डा भट्टका अनुसार स्थानीय तहमा भएको मत बदरभन्दा अहिलेको मत बदर सङ्ख्यामा उल्लेख्य मात्रमा सुधार भएको छ ।
बागलुङ – १ मा ५४ हजार सात सय ११ र क्षेत्र नं दुईमा ५१ हजार एक सय ३५ मत खसेको थियो । जिल्लामा मतदाता सङ्ख्याको हिसाबले ५३ प्रतिशत मत खस्दा चार हजार सात सय ८९ मत बदर भएको छ । 
बागलुङ क्षेत्र नं १ मा ५४ हजार सात सय ११ मत खसेकामा एक हजार सात सय १४ मत बदर भई ५२ हजार सात सय ८० मत सदर भएको थियो भने बागलुङ क्षेत्र नं २ मा ५१ हजार एक सय ३५ मत खस्दा तीन हजार ७५ मत बदर भएर ४८ हजार ६० मत सदर भएको उनले जानकारी दिए । 

“स्थानीय तहको मत बदर सङ्ख्या उल्लेख्य रहेको भन्दै यसपटक निर्वाचन आयोगले वडा तहमा मतदाता शिक्षालाई प्रभावकारी बनाएका कारण मत बदर सङ्ख्या घटेको  हो”, उनले भने, “स्थानीय तहमा बागलुङमा १० प्रतिशत मत बदर भएको थियो अहिले चार प्रतिशत मत बदर घटाएका छौँ, मतपत्र सजिलो भएको, मतदाता शिक्षाका कारण बदर मत घटे पनि बदर मतलाई अझै तल झार्नुपर्ने आजको आवश्यकता हो ।”
सानो मतपत्र, चुनाव चिह्न थोरै र एक मतपत्रमा एकमात्रै चिह्न लगाउनुपर्ने भएकाले बदर मत न्यून हुने अनुमान निर्वाचन आयोगको भए पनि बदर मत चार प्रतिशत भएको हो । स्थानीय तहको तुलनामा थोरै भए पनि अहिलेको राजनीतिक दलको सक्रिय मतदाता शिक्षा, निर्वाचन आयोगले स्थानीय तहसँग मिलेर गरेको मतदाता शिक्षालगायतको सक्रियता हेर्दा मत बदर दुई प्रतिशतभन्दा थोरैमा लैजाने लक्ष्य भए पनि सोचेजस्तो नभएको हो । 
मतपत्र बदरमा भने एकरुपता नदेखिएको मतगणनामा सहभागी कर्मचारीले बताएका छन् । चुनाव चिह्नभन्दा बाहिर गएर छाप लगाउनु स्वभाविक मत बदर भए पनि सबै चुनाव चिह्नमा छाप लगाउनु, छाप नै नलगाएको मतपत्र खसाल्नुजस्ता बदर मतका उदारण हुन् । बदर मतमध्ये अधिकांश जानीबुझीसमेत मतलाई बदर बनाइएको देखिन्छ भने केही अज्ञानता र शिक्षाको कमीका कामर मत बदर बनाइएको जनाइएको छ । 
एक मतपत्रमा छ चुनाव चिह्नमा समेत छाप लगाएको पाइएको बागलुङ  २ का सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले जानकारी दिए । 
उनका अनुसार दुर्गम गाउँसम्म मतदाता शिक्षा नपुगेको र एउटै व्यक्तिले चार मतपत्रमा छुट्टाछुट्टै छाप लगाउनुपर्ने राजनीतिक दलको गठबन्धनका कारण धेरै मत बदर भएको पाइएको छ । 

“गठबन्धन गरेका दललाई मतदाता शिक्षामा बढी समस्या देखिएको छ, समानुपातिकामा आफ्नो पार्टीलाई, सङ्घमा अर्को चुनाव चिह्नमा र प्रदेशमा अर्को चुनाव चिह्नमा मत हाल्नुपर्ने अवस्थाले मत बदर भएको पाइयो”, उनले भन्नुभयो, “शिक्षाको अभाव, राजनीतिक चेतनाको अभाव र राजनीतिक दलको वितृष्णका कारणसमेत मत बदर भएको देखिन्छ ।

म्याग्दीमा मतदाता शिक्षा  प्रभावकारी हुन सकेन 

यही मङ्सिर ४ गते भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा जिल्लामा तीनदेखि छ प्रतिशत मत बदर भएको छ । विसं २०७४ चुनावका तुलनामा बदर मतको दर घटे पनि मतदाता शिक्षा अझै प्रभावकारी हुन नसकेको देखिन्छ । समानुपातिक मतपत्र धेरै बदर भएको छ । प्रतिनिधिसभाको तुलनामा प्रदेशसभाको मत बदर कम छ ।
छयासी हजार एक सय २० जनामध्ये ५० हजार तीन सय ७८ अथवा ५८.७८ प्रतिशत मत खसेको थियो । कुल खसेको मत सङ्ख्या प्रतिनिधिसभाको समानुपातिकमा मात्र मतदान गरेका कर्मचारी, कारागारका कैदीबन्दी, ज्येष्ठ नागरिक र सुरक्षाकर्मीलगायत अस्थायी मतदाताको हो ।   
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४९ हजार छ ९९ मत खसेकामा ४७ हजार छ सय १४ सदर र दुई हजार ८५ अथवा चार दशमलव ३७ प्रतिशत बदर भएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले बताए । 
प्रतिनिधिसभाको समानुपातिकमा ५० हजार तीन सय ७८ मत खसेकामा ४७ हजार तीन सय ३२ मत सदर र दुई हजार छ सय ४६ अथवा ५.५९ प्रतिशत बदर भएको छ । 
सबैभन्दा धेरै प्रदेशसभाको समानुपातिकतर्फ ६.५८ प्रतिशत मत बदर भएको छ । ४९ हजार चार सय ५० मत खसेकामा ४६ हजार चार सय ८० मत सदर र तीन हजार ६० मत बदर भएको छ । प्रदेशसभाको क्षेत्र (१) मा २८ हजार सात सय आठ मत खसेकामा २७ हजार सात सय ४९ सदर र नौ सय ५९ अथवा ३.४५ प्रतिशत बदर भएको छ ।
प्रदेशसभा क्षेत्र (२) मा २१ हजार ९६ मत खसेकामा २० हजार दुई सय ६८ सदर र सात सय ४८ अथवा ३.६९ प्रतिशत बदर भएको छ । एउटै मतपत्रमा धेरै चिह्नमा छाप लगाएको, कुनै मतपत्रमा छाप नै नलगाई बाकसमा खसालेका, दुईवटा चिह्नको बीचमा छाप लगाएको, चिह्नको घेराभन्दा बाहिर सङ्केत गरेर धेरै मत बदर भएको छ ।
प्रत्यक्षतर्फको मतपत्रमा उम्मेदवार नभएको दलको चुनाव चिह्न थिएन । चारवटा मतपत्रमा छाप लगाउनुपर्नेमा केहीले दोस्रो, तेस्रो र चौथो मतपत्रमा सङ्केत गर्नुका साथै पहिलो मतपत्रमै चार ठाउँमा सङ्केत गरेका थिए । प्रत्यक्षतर्फको तुलनामा समानुपातिकको मतपत्रमा सङ्केत गर्दा मतदाताले बिगारेका गणनामा संलग्न कर्मचारीले बताएका छन् ।  मतदातामा शिक्षाको कमी, राजनीतिक दलहरुले चुनावी तालमेल गरे पनि मतदातालाई भोट हाल्ने तरिका सिकाउन बेवास्ता गर्नु र मतदाता शिक्षा कार्यक्रम सबै टोल बस्तीमा पुग्न नसकेले मत बदर बताइएको छ । 
प्रत्यक्षतर्फको प्रतिनिधिसभाको मतदान अधिकृतले हस्ताक्षर नगरेको एक सय २९ वटा मतपत्र भेटिएको थियो । तीनवटा मतदान केन्द्र रहेको मालिका गाउँपालिका–५ देवीस्थानको एक सय चार र रघुगङ्गा गाउँपालिका–५ झिको एकवटा मतदान केन्द्रको २५ वटा मतपत्रमा अधिकृतको हस्ताक्षर थिएन ।
यद्यपि गत वैशाख र २०७४ को तुलनामा पछिल्लो चुनावमा म्याग्दीमा बदर मतको दर कम देखिएको छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा ८५ हजार तीन सय ७५ मतदाता रहेकामा ५४ हजार छ सय ७८ अथवा ६५.०२ प्रतिशत मत खसेको थियो । खसेकोमध्ये ९२.४३ प्रतिशत मत सदर र ७.५७ प्रतिशत बदर भएको थियो । 

विसं २०७४ को प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा ७५ हजार पाँच सय ३७ मतदाता रहेकामा ४७ हजार चार सय ४९ मत खसेको थियो । समानुपातिकको प्रतिनिधिसभातर्फ ४० हजार पाँच सय २६ र प्रदेशसभामा ४२ हजार छ सय १६ मत सदर भएको थियो । समानुपातिकको प्रतिनिधिसभातर्फ चार हजार छ सय ८६ (९.८७ प्रतिशत) र प्रदेशसभातर्फ छ हजार सात सय ७५ (१४.२७ प्रतिशत) मत बदर भएको थियो । प्रत्यक्षतर्फ प्रतिनिधिसभामा दुई हजार दुई सय ८६ (४.८१) र दुईवटै प्रदेशसभामा एक हजार चार सय ८३ (३.१२) प्रतिशत मत बदर भएको थियो ।
 

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  १५:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार