प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित महिला उम्मेदवार

शनिबार, मंसिर १०, २०७९

काठमाडौँ । देशभर प्रतिनिधिसभा प्रत्यक्षतर्फ दुई हजार चार सय २२ उम्मेदवार कायम रहेका मध्ये महिला उम्मेदवार दुई सय २५ जना रहेका थिए । मतगणनाको अन्तिम नतिजा आइसक्दा अहिलेसम्म आठ जना महिला, प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन सफल भएका छन् । 
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सबैभन्दा धेरै महिला उम्मेदवार उठाएको बताउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप)बाट १२ जना महिला उम्मेदवार थिए । रास्वप बाट दुई जना महिला निर्वाचित भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले)का ११ महिला उम्मेदवारमा तीन जना निर्वाचित भएका छन् । नेपाली कांग्रेसका पाँच महिला उम्मेदवारमा एक र नेकपा माओवादी केन्द्रका सात महिला उम्मेदवारमा एक जना निर्वाचित भएका छन् । यस्तै नागरिक उन्मुक्ति पार्टीका एक महिला प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ निर्वाचित भइसकेका छन् ।   

डा तोसिमा कार्की (ललितपुर–३)

प्रतिनिधिसभा सदस्यमा नयाँ अनुहारमा  ललितपुर निर्वाचन क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा तोसिमा कार्की प्रवेश गरेकी छन् । उनले ३१ हजार एक सय २६ मतसहित विजय प्राप्त गरेको निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।  उनले आफना निकटतम प्रतिद्वन्द्वी एमालेका अमृत खड्कालाई पराजित गर्दै विजय भएकी छन् । 
उनी पेसाले पाटन अस्पतालमा चिकित्सक (जनरल सर्जन) हुन् । ललितपुर महानगरपालिका–१८ नख्खुखोला मार्ग निवासी डा तोसिमाले कक्षा १० सम्मको अध्ययन स्थानीय शहीद धर्मभक्त विद्यालयमा भएको थियो । मोडर्न इन्डियन स्कुल, चोभारबाट कक्षा १२ तथा किष्ट मेडिकल कलेज, ललितपुरबाट एमबिबिएससम्मको अध्ययन पूरा गरेकी हुन् । 
काठमाडौँ विश्वविद्यालयबाट जनरल सर्जरीमा मास्टर्स तोसिमा नेपाल मेडिकल काउन्सिलको निर्वाचित केन्द्रीय सदस्य हुन् । भूकम्पमा सिन्धुपाल्चोकको बतासे, रामेछाप, नुवाकोटको साल्मे, ललितपुरको ठूलादुर्लुङलगायतका स्थानमा स्वास्थ्य तथा राहत शिविरको नेतृत्व गर्नुभएकी तोसिमा सामाजिक न्यायका अभियान र भ्रष्टाचारविरुद्धका आन्दोलनमा समेत सक्रिय रहेको बताउँछन् । 

सोविता गौतम (काठमाडौँ–२) 

राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचित सोविता गौतम काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी छन् । २७ वर्षीया गौतम सबैभन्दा कान्छी प्रतिनिधिसभा सदस्य बनेकी हुन् । उनी पन्ध्र हजार दुई सय ३८ मतसहित निर्वाचित भएकी हुन् । दोलखा तामाकोसी गाउँपालिका स्थायी घर भएकी गौतम परिवारसँग काठमाडौँ बस्दै आएकी छन् । 

sovita1669164840.jpg
कानुनमा स्नातक गौतमले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा कानुनी सल्लाहाकारको रूपमा काम गदै आएका छन् । गौतमसँग सामाजिक सङ्घसंस्थासँगै नेपाल टेलिभिजनमा कार्यक्रम प्रस्तोताको समेत अनुभव छ । 

जुलीकुमारी महतो (धनुषा–३)

धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३, प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)की जुलीकुमारी महतो निर्वाचित भएकी छन् । उनले ३३ हजार तीन सय ८८ मतसहित विजयी भएकी छन् । पाँच दलीय गठबन्धनका लोकतान्त्रिक समाजवादी पार्टीका अनिलकुमार झालाई पराजित गर्दै उनी तेस्रो पटक निर्वाचित भएकी हुन् । ४६ वर्षीया महतो यसअघि समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएकी हुन् । तीन दशकदेखि राजनीतिमा क्रियाशील उनले  संसदीय यात्रा भने २०६४ बाट सुरु भएको हो । संविधानसभा सदस्य निर्वाचन २०६४ मा एमालेबाट समानुपातिक सदस्यमा निर्वाचित भएकी थिइन् ।

julikumari-mahato1669351106.jpg
संविधानसभा सदस्य निर्वाचन २०७० मा धनुषा ३ मा पराजित भएकी थिइन् ।०७४ मा पुन समानुपातिक सदस्य निर्वाचित भइन् । 
जनकपुर उपमहानगरपालिका–९ की स्थायी बासिन्दा उनीको राजनीतिक यात्रा अनेरास्ववियुबाट सुरु भएको हो । विसं २०४६ देखि २०४८ सालसम्म जनसेवा माविको सचिवको जिम्मेवारीमा रहेकी उनले २०५२ मा विवाहपछि श्रीमान् रघुवीर महासेठको प्रेरणाले राजनीतिमा लागेको बताउँदै आएकी छन् । 
एमालेको जिल्ला कमिटी सदस्य, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य र पार्टीको जनकपुर अञ्चल कमिटी सदस्य हँुदै ०७४ मा केन्द्रीय सदस्य बनिन् । उनी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीसमेत बनेकी थिइन् । 
 
विद्या भट्टराई (कास्की–२)

कास्की निर्वाचन क्षेत्र नम्बर–२ बाट नेकपा (एमाले)की विद्या भट्टराई निर्वाचित भएकी छन् । उनले १६ हजार नौ सय ९८ मतसहित निर्वाचित भएकी हुन् । निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेललाई पराजित गर्दै उनी बिजयी भएकी हुन् । 

कास्की1669069605.jpg
कास्की भरतपोखरी स्थायी घर भएकी भट्टराई स्व रवीन्द्र अधिकारीकी श्रीमती हुन् । ४९ वर्षीया भट्टराई प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ कास्की जिल्ला निर्वाचन क्षेत्र नं–२ बाट भएको भएको हो । २०४६ सालबाट विद्यार्थी राजनीति सुरु गरेकी भट्टराईको संसदीय यात्रा भने सङ्घीय संसद् प्रतिनिधिसभा सदस्य उपनिर्वाचन मा कास्की–२ बाट निर्वाचित भएर सुरु भयो । उनले एमफिलसम्म अध्ययन गरेकी छन् । 
झण्डै १७ वर्ष शिक्षण पेसामा आबद्ध उनीले त्रिभुवन विश्वविद्यालयको स्थायी सेवा छाडेर श्रीमान् रवीन्द्र अधिकारीको निधनपछि उपनिर्वाचनमा उम्मेदवार बनेकी थिइन् । 
अनेरास्ववियु महिला विभाग प्रमुखका रूपमा २०५० सालमा चार वर्ष जिम्मेवारी सम्हालेकी उनले २०५५ मा केन्द्रीय सदस्य हुँदै एमाले काठमाडौँको महिला कमिटी सचिव बने । 

रेखा शर्मा (दाङ–२)

दाङ जिल्ला निर्वाचन क्षेत्र नं २ मा नेकपा (माओवादी केन्द्र)की रेखा शर्मा निर्वाचित भएकी छन् । छब्बीस हजार आठ सय ८० मतसहित निर्वाचित भएको शर्माले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेललाई पराजित गरेर उनी निर्वाचित भएकी हुन् । 

rekha1669028852.jpg

५३ वर्षीया शर्मा पहिलोपटक २०७० मा संविधानसभा सदस्यमा समानुपातिकतर्फ निर्वाचित भएकी थिइन् । माओवादी केन्द्रबाट समानुपातिकमा सदस्य बनेकी उनले ०७४ मा पनि समानुपातिक प्रणालीबाटै निर्वाचित भए । उनी सामान्य प्रशासनमन्त्री, राज्य व्यवस्था तथा सुशासन समिति सदस्य, पार्टीको संसदीय दलको सचेतकसमेत बनिन् । 
घोराही उपमहानगरपालिका १८, दाङको स्थायी बासिन्दा शर्माले २०४२ सालमा अनेरास्ववियुबाट विद्यार्थी राजनीति सुरु गरेकी हुन् । उनले अनेमसङ्घ क्रान्तिकारीको अध्यक्ष हँुदै २०७५ मा पार्टीको केन्द्रीय सदस्य बने । 
सशस्त्र द्वन्द्वको समयमा २०५८ सालमा एक वर्ष सैनिक हिरासतमा समेत बसे । 

ज्वालाकुमारी साह (बारा–३)  

बारा निर्वाचन क्षेत्र नं ३ मा नेकपा (एमाले)की ज्वालाकुमारी साह निर्वाचित भएकी छन् । बीस हजार दुई सय ५१ मतसहित निर्वाचित भएकी साहले निकटतम प्रतिस्पर्धी जसपा नेपालका रामबाबुकुमार यादवलाई पराजित गरेकी छन् । 

जीतपुर सिमरा उपमहानगरपालिका–१६ की स्थायी बासिन्दा साहले २०५४ सालदेखि भूमिगतरूपमा नेकपा (माओवादी केन्द्र)को विद्यार्थी राजनीति यात्रा थालनी गरेकी थिइन् ।
संसदीय यात्रा भने पहिलो संविधानसभामा मनोनित सदस्यका रूपमा सुरु भयो । ०७४ मा मधेस प्रदेशको प्रदेशसभा निर्वाचन क्षेत्र नं–३, क, मा निर्वाचित भएकी थिइन् । 
४१ वर्षीया साह संवैधानिक राजनीति समितिको सदस्य, भूमिसुधार राज्यमन्त्री र पर्यटन राज्यमन्त्रीका साथै १३ दिनको छोटो समयका लागि कृषिमन्त्रीसमेत बनिन् । 

रञ्जिता श्रेष्ठ (कैलाली–१)

कैलाली–१ मा प्रतिनिधिसभातर्फ नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रञ्जिता श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । तीस हजार चार सय चार मतसहित निर्वाचित भएकी श्रेष्ठले प्रतिस्पर्धी नेपाली कांग्रेसका रामजनम चौधरीलाई पराजित गरिन् । 

Ranjita1669290854.jpg
पूर्वसांसद रेशमलाल चौधरीकी श्रीमती श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको अध्यक्षसमेत हुन् । टीकापुर घटनामा दोषी ठहर भई हाल जेल जीवन बिताइरहेका श्रीमान्लाई अघिल्लो निर्वाचनमा सहयोग गरेकी श्रेष्ठ यस पटक आफैँ निर्वाचन मैदानमा उत्रिएकी थिइन् । 

सीता गुरुङ (तेह्रथुम–१)

तेह्रथुम निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसकी उम्मेदवार सीता गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । निर्वाचन आयोगको  मतपरिणामअनुसार गुरुङले १९ हजार ७०२ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । उनले प्रतिस्पर्धी नेकपा (एमाले)का विजय सुब्बालाई पराजित गरेकी हुन् । 

sita1669423039.jpg
विसं ०७४ मा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीसमेत भएकी गुरुङले ०७४ को निर्वाचनमा एमालेका भवानीप्रसाद खापुङसँग पराजित भएकी थिइन् । त्यसअघि गुरुङ दुवै पटकको संविधानसभा सदस्यमा समानुपातिकबाट निर्वाचित भएकी थिइन् । 
तेह्रथुम इवा नगरपालिकाकी स्थायी बासिन्दा गुरुङको राजनीतिक यात्रा विसं २०४६ बाट सुरु भयो । नेविसङ्घ जिल्ला सचिव, तरुण दल जिल्ला कोषाध्यक्ष, नेपाल महिला सङ्घको जिल्ला सभापति हँुदै नेपाल महिला सङ्घको केन्द्रीय सदस्य र सचिव बनिन् ।
०६७ मा काग्रेसको केन्द्रीय सदस्य बनेकी उनी ०७८ सालमा केन्द्रीय सदस्यमा निर्वाचित भइन् । 

प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  २२:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार