कस्तो छ काठमाडौं १० बाट निर्वाचन जितेका राजेन्द्रकुमार केसीको राजनीतिक यात्रा 

बुधबार, मंसिर ७, २०७९

काठमाडौँ । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं १० बाट नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी विजयी भएका छन् । छौँसठ्ठी वर्षीय उनी बिना गठबन्धन यो क्षेत्रबाट तेस्रो पटक विजयी भएका हुन् । चौध हजार चार सय ५८ मतसहित विजयी भएका केसीले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हिमेस केसीलाई दुई हजार छ सय ७२ मततान्तरले पछि पारेका थिए । 
उनले भने, “मैले यसअघि गरेको राम्रो कामले मतदाताको विश्वास जितेका कारण तेस्रो पटक पनि विजयी भएको छु । आममतदाताप्रति यो विश्वासका लागि धन्यवाद दिन चाहन्छु । म निष्पक्ष र  निष्कलङ्क भएर काम गर्न चाहन्छु ।” लामो समय राजनीतिक एजेन्डामा काम गरेको र अब आर्थिक विकासका लागि काम गर्ने केसीले बताए , “मुलुकको एजेन्डा आर्थिक विकास हो । समृद्धको यात्रा नै मेरो एजेन्डा हो ।”

कीर्तिपुर ६, चोभारका स्थायी बासिन्दा उनले संविधानसभा सदस्यको निर्वाचन २०७० देखि संसदीय यात्रा सुरु गरेका हुन् । पहिलो पटक काठमाडौँ १० बाट निर्वाचित भएका उनी दोस्रो पटक ०७४ सालमा  यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा विजयी भइ सोही वर्ष युवा तथा खेलकुदमन्त्री बनेका थिए । दोस्रो संविधानसभा सदस्य निर्वाचनमा तत्कालीन एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई पराजित गरेर चर्चामा आएका केसी पहिलो संविधानसभा सदस्यको निर्वाचनमा प्रचण्डसँगै पारजित भएका थिए ।    
स्नातकोत्तरसम्म अध्ययन गरेका उनको राजनीतिक यात्रा भने विसं २०३० देखि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घबाट सुरु भएको हो । विसं २०४६ देखि  पार्टीगत राजनीतिमा सक्रिय हँुदै केसी २०५१ र ०५६ सालमा कांग्रेसको क्षेत्रीय सभापति बने ।  चार पटकसम्म कांग्रेस महासमिति सदस्य रहेका उनी कृषि चुन उद्योगको बोर्ड अफ डाइरेक्टर, हिमाल सिमेन्टको बोर्ड सदस्य र ल्याबोरेटरी विद्यालयको सञ्चालक समितिमा आबद्ध भएका थिए । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार