बाँकेमा भ्रष्टाचार विरोधी छवि बनाएका धवल प्रतिनिधिसभामा कस्तो छवि बनाउँलान ?

बुधबार, मंसिर ७, २०७९

नेपालगञ्ज । बाँकेको क्षेत्र नं २ बाट निर्वाचित राप्रपाका महामन्त्री डा. धवलशमशेर राणालाई यस क्षेत्रमा लोकप्रिय र स्थापित नेताका रूपमा हेरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको दुई–दुई पटक प्रमुख भएर विकासका योजना अघि सारेका उनले अधुरा रहेका योजनालाई पूरा गर्ने र यस क्षेत्रमा रासायनिक मलको कारखाना स्थापना गर्ने उद्देश्य रहेको बताए । 
“भ्रष्टाचारमुक्त समाजको निर्माण र समृद्धिको विषय नै मेरा प्राथमिकता हुन्”, रासससँग कुरा गर्दै उनले भने । डा.धवल विकासप्रेमी राणा प्रधानमन्त्री देवशमशेरका पनाति, मसुरी शमशेरका नाति हुन् । मसुरी शमशेरले आफ्नो पालामा यस क्षेत्रमा महाकाली मिल खोलेर औद्योगिक क्रान्ति गरेको बताइएको छ । मसुरी शमशेरका छोरा, धवलका बुबा कैलाश शमशेरले पनि कृषिलाई प्राथमिकता दिएका थिए । धवल शमशेरले भारतबाट राजनीति शास्त्रमा स्नातकोत्तर र अमेरिकाबाट नगर विकासको विषयमा विद्यावारिधि (पिएचडी) गरेका छन् । उनले राजनीतिमार्फत विकासमा कायापलट गर्ने योजना भएको बताए । भारतमा अध्ययन गरेका उनी नेपालमा फर्किएपछि राजनीति गरेर देश विकासमा लाग्ने भावनाले विसं २०४७ मा राजनीतिमा आबद्ध भएका थिए । 
विसं २०५१ को संसदीय निर्वाचनमा पराजित भए पनि विसं २०५४ मा तत्कालीन नेपालगञ्ज नगरपालिकाको प्रमुख पदमा अत्यधिक मतले निर्वाचित भएका डा धवल नेपालगञ्जको नगरप्र्रमुख बन्दा ३२ वर्षका थिए ।    
पहिलोपटक प्रमुख बन्दा उनले नेपालगञ्जमा विकास झल्किने गरी उल्लेखनीय काम गरेको बताउँछन् । नेपालगञ्जका तालतलैया संरक्षण, सडक तथा नालाको विस्तार र विकास, महेन्द्र पार्क (मिनी जू), रानी तलाउ निर्माण, नगरपालिकाको आय स्रोत बढाउन विभिन्न ठाउँमा सटर निर्माणजस्ता  काम गरेको उल्लेख गरे । आफूले प्रमुख भएबापत पाउने तलब, भत्ता गरिबलाई  वितरण गरेको र भत्ताको रकमबाट भेरी अस्पतालमा प्रतीक्षालय निर्माण गरेको सुनाए ।  
भ्रष्टाचार विरोधी, विकासप्रेमी नेताका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त राणा जनताका बीचमा सदाबहार लोकप्रिय छन् । बुबा स्व कैलाशशमशेर राणा र आमा स्व अम्बिका राणाको कोखबाट विसं २०१८ चैत १७ गतेका दिन बाँके जिल्लाको नेपालगञ्ज नगरपालिका–१३ हालको वडा नं १० मा राणाको जन्म भएको थियो ।
राणाको जन्म नेपालगञ्जमा भए पनि उनको बाल्यकाल भारतमा बितेको थियो । सन् १८८९ मा नेपालका तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणाले देवशमशेर राणालाई देश निकाला गरेपछि देवशमशेर परिवारसहित भारतको मुसुरीमा बसाइँ सरेका थिए । धवल विकासप्रेमी राणा प्रधानमन्त्री देवशमशेरका पनाति हुन् । देव शमशेरको १९०३ मा भारतमा देहवसान भएको थियो । देश निकाला भएपछि मुसुरीमा ठूलो महल बनाएर भारतमा बसेका देव शमशेरको परिवारलाई ३९ वर्षपछि चन्द्र शमशेरले नेपाल फर्किन दिएका थिए । 
उनले कक्षा १ देखि स्नातकोत्तर तहसम्मको अध्ययन भारतमै गरेका हुन् । धवल शमशेरले भारतबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र अमेरिकाबाट नगर विकासको विषयमा विद्यावारिधि (पिएचडी) गरेका छन् । धवलले बाल्यकालको अधिकांश समय भारतमा पढाइसँगै बिताए । 
बाल्यकालमा पढाइसँगै खेलकुदलाई पनि सँगसँगै अगाडि बढाउनुभएका धवल फुटबल, हक्की, टेनिस र पौडी खेलका समेत राम्रा खेलाडी हुन् । सम्पन्न राणा खानदानमा जन्मिएका उनले बाल्यकालमा आर्थिक अभावको कारणले कुनै समस्या भोग्नु परेन । धवल शमशेरका बुबा नेपालका पहिलो ‘कृषि इन्जिनियर’  भएको बताइएको छ । 
स्नातक तह अध्ययनसँगै उनले भारतमै कन्स्ट्रक्सन कम्पनीमा केही समय नोकरीसमेत गरेका थिए । राणाले स्नातकोत्तर तहको पढाइ सकिएपछि  कपास विकास समिति खजुरामा सहसचिव स्तरको जागिर खाए । तीन वर्षसम्म काम गरेपछि काम छोडेर उनी पूर्ण रूपमा व्यवसायमा लागे । उनले नेपालगञ्जमा होटल वाटिका, बर्दियामा एड्भेन्चर रिसोर्ट र नेपालगञ्जमा मोडर्न पब्लिक स्कुल खोलेर व्यवसायिक क्षेत्रमा समेत फड्को मारेका छन् । 
राणाले राजनीतिक कार्यपत्र प्रस्तुतीकरण तथा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन २० भन्दा बढी देशहरूमा भ्रमण गरिसकेका छन् । अङ्ग्रेजी विषयमा राम्रो दखल भएकाले धवलले अन्तर्राष्ट्रियस्तरका विभिन्न गोष्ठी तथा सम्मेलनहरूमा सहभागी हुने अवसर पाउँदै आएका छन् ।  
नेकपा एमालेबाट राजनैतिक जीवन सुरु गरेका डा.धवलले  विसं २०६३ को परिवर्तनपछि उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका सदस्यता लिएका थिए । २०५४ सालमा नेकपा एमालेबाट नेपालगञ्जको प्रमुखमा जितेका राणा विसं २०७० को संविधानसभा निर्वाचनमा भने नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालासँग पराजित भएका थिए । 
विसं २०७८ मा भएको राप्रपाको महाधिवेशनमा धवल शम्शेर राजेन्द्र लिङ्देनको पक्षमा लागेका थिए । राणाले हालसम्म पाँचवटा निर्वाचनमा आफ्नो सहभागिता जनाइसकेका छन् । उनले सबैभन्दा पहिले आम निर्वाचन २०५१ मा बाँके २ बाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचन लड्ेका थिए । 
यस पटक एमाले—राप्रपा गठबन्धनबाट विजयी भएका राणाले २९ हजार पाँच सय ७७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी मोहम्मद इस्तियाक राईले २३ हजार पाँच सय २० मत प्राप्त गरेर दोस्रो स्थान हासिल गरे ।

काठमाडौँ २ को दुवै प्रदेशमा राप्रपा विजयी 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँ क्षेत्र नं २ को प्रदेशसभाको दुबै क्षेत्रमा विजय हासिल गरेको छ । प्रदेशसभाको दुबै क्षेत्रमा राप्रपाका उम्मेदवार विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए । 
प्राप्त पछिल्लो मतपरिणाम अनुसार काठमाडौँ क्षेत्र नं २ (२) राप्रपाका राजु विष्ट १२ हजार एक सय ६३ मतले विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका सुवर्ण श्रेष्ठले नौ हजार ९० मत प्राप्त गरेका छन् ।
यसअघि काठमाडौँ क्षेत्र नं २ (१) मा राप्रपाका सुनिल केसीले विजयको सुरुआती खाता खोल्नुभएको थियो । केसीले पाँच हजार पाँच सय ९८ मत ल्याएका थिए । 

समानुपातिक मतगणना सुरु 
   
काठमाडौँ क्षेत्र नं २ को प्रतिनिधिसभाको समानुपातिकतर्फको मत गणना जारी रहेको छ । प्रदेशसभाको पनि केहीबेर अघिबाट गणना सुरु भएको सहायक निर्वाचन अधिकृत रेग्मीले जानकारी दिए । 
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार