प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट सातौँपटक विजयी

बुधबार, मंसिर ७, २०७९

डडेल्धुरा । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जित हासिल गरेका छन् । योसँगै उनले सातौँपटक जित हासिल गरेका हुन् ।  कुल ५१ हजार दुई सय तीन मतगणना हुँदा देउवा २५ हजार पाँच सय ३४ मतका साथ विजयी भएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गरेका छन् ।

अर्का उम्मेदवार नेपाली कांग्रेस (विपी)का कर्णबहादुर मल्लले सात हजार पाँच सय ३५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ । देउवा विसं २००३ जेठ ३१ गते डडेल्धुराको असिग्राम गाविस–५ मटेला, रुवाखोलामा जन्मेका हुन् । विसं २०१७ देखि राजनीतिमा लागेका देउवा कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको पहिलो निर्वाचित अध्यक्षसमेत हुन् ।  विसं २०४८ को आमचुनावमा देउवा डडेल्धुराबाट विजयी भए। देउवाले २०५१ र २०५६ को संसदीय चुनाव, विसं २०६४ र २०७० को संविधानसभा चुनाव तथा २०७४ को संसदीय चुनावमा डडेल्धुराबाट जितेका थिए । यसपटक सातौँपटक पनि डडेल्धुराका मतदाता तथा अन्य साथीहरूको सहयोगमा जित हासिल भएको कांंग्रेसका जिल्ला सचिव शेरबहादुर भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ०८:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार