तनहुँ–२ : दोस्रो प्रयासमा शङ्कर भण्डारीलाई सफलता

बुधबार, मंसिर ७, २०७९

दमौली । विसं २०७४ को निर्वाचनमा तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता शङ्कर भण्डारी तत्कालीन वाम गठबन्धनका उम्मेदवार केदार सिग्देलसँग पराजित भएका थिए । 
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार सिग्देलसँग भण्डारी तीन हजार दुई सय ७९ मतान्तरले पराजित भएका थिए । एमालेका सिग्देलले ३२ हजार नौ सय २४ मत प्राप्त गर्दा भण्डारीले २९ हजार छ सय ४५ मत प्राप्त गरेका थिए । 
पूर्ववनमन्त्री रहेका भण्डारीले दोस्रो प्रयासमा सोही क्षेत्रको प्रतिनिधिसभा सदस्यमा जित हासिल गरेका छन् । वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भण्डारीले ३० हजार छ सय चार मत प्राप्त गरी विजयी भएका हुन् । आज बिहान सम्पन्न मतगणनाअनुसार भण्डारीले प्रतिस्पर्धी नेकपा एमालेका किरण गुरुङलाई पाँच हजार चार सय ७४ को मतान्तरले पराजित गरे । गुरुङले २५ हजार एक सय ३० मत प्राप्त गरेको क्षेत्र नं २ निर्वाचन कार्यालयका निर्वाचन अधिकृत गोविन्द उपाध्यायले बर्ताए । निर्वाचनमा ६८ हजार एक सय ७३ मत खसेको थियो । 
विसं २०२५ जेठ १० गते साविक पुर्कोट गाविस हाल भानु नगरपालिका–८ मा जन्मेका भण्डारी ठूलो दाई छत्रराज भण्डारीको प्रेरणाबाट विद्यार्थीकालदेखि नै नेपाल विद्यार्थी सङ्घमा आबद्ध भएका थिए । विसं २०३६ को विद्यार्थी आन्दोलनमा सक्रियरूपमा सहभागी भएका भण्डारीले विसं २०४० मा एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि राजधानी गएका थिए । 
विद्यार्थी राजनीतिमा सक्रियरूपमा सहभागी हुने क्रममा भण्डारी लौहपुरुष गणेशमान सिंहको नेतृत्वमा भएको जनआन्दोलनमा सहभागी भएका थिए । पार्टीको काममा सक्रिय रहेको अवस्थामा नै विसं २०४६ मा भण्डारी २९ दिन प्रहरी नियन्त्रणमा रहेका थिए । 
नेविसङ्घको राजनीतिमा सक्रिय हुने क्रममा विसं २०४८ मा त्रिचन्द्र क्याम्पसमा नेविसङ्घको क्याम्पस एकाइ सभापति र २०४९ मा स्ववियु सभापति बन्न सफल भण्डारी विसं २०५३ देखि भने पार्टी राजनीतिमा सक्रिय छन् । 
भण्डारी विसं २०५३ मा महाधिवेशन प्रतिनिधि बन्न सफल भएका थिए । साथै भण्डारीले बालकृष्ण खाणको नेतृत्वमा गठन भएको तरुण दलको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालेका थिए । युवाहरूमाझ लोकप्रिय भण्डारी चितवनमा भएको तरुण दलको महाधिवशेनमा अध्यक्षका लागि चुनावी प्रतिस्पर्धामा उत्रेका भए पनि झिनो मतले पराजित भएका थिए । 
पार्टीको १२औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भण्डारीले दुईपटक तरुण विभागको जिम्मेवारी सम्हालेका छन् । विसं २०७० को संविधानसभा निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट निर्वाचित भण्डारीले वन तथा भू–संरक्षणमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । पार्टीको १३औँ र १४औँ महाधिवेशनबाट पनि भण्डारी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । 
भण्डारीले आगामी पाँच वर्षमा यस क्षेत्रको विकासका लागि सबै प्रकारका पूर्वाधार तयार पार्ने प्रतिबद्धता व्यक्त गरेका छन् । “हामीसँग विशाल फाँटहरू छन्, त्यहाँ बाह्रैमास सिँचाइ सुविधा पु¥याएर कृषिमा कम्तीमा आत्मनिर्भर बन्ने, उपयोगमा नआई खाली रहेका जमिनमा फलफूल, तरकारी, जडीबुटीलगायत कृषि उत्पादन वृद्धि गरी निर्यातसमेत गर्न पहल गरिनेछ”, भण्डारीले भने । 
आवश्यक विकासका पूर्वाधारहरू पहिचान गर्दै समन्वय र सहकार्यबाट विकास गरी यस क्षेत्रलाई नमूना बनाउन पहल गरिने भण्डारीले बताए । “यस क्षेत्रमा सुविधासम्पन्न अस्पताल स्थापना गर्ने, यस क्षेत्रलाई तराईसँग जोड्ने दु्रतमार्ग निर्माण गर्ने, भिमादबाट पूर्व पश्चिम राजमार्ग जोड्ने सुरुङमार्गको सम्भाव्यता अध्ययन, औद्योगिक क्षेत्र स्थापना गर्न मेरो पहल रहनेछ”, उनले भने । 
वर्षौँदेखि ओझेलमा परेका यहाँका विकासका मुद्दालाई स्थापित गराउने बताउँदै भण्डारीले आउने नेतृत्वलाई सहज हुने गरी आवश्यक सबै पूर्वाधार यही कार्यकालमा पूरा गर्ने बताए । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ०८:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार