कास्की–२ (१) मा एमालेका भीमबहादुर कार्की विजयी

प्रदेशसभा निर्वाचन परिणाम आउने क्रम जारी 
बुधबार, मंसिर ७, २०७९

कास्की । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्की–२ (१) मा नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार भीमबहादुर कार्की विजयी भएका छन् । 
पोखरा सभागृहमा आज बिहान सम्पन्न मतगणनामा एमालेका कार्कीले १० हजार पाँच सय ३१ मत ल्याएर गण्डकी प्रदेशसभामा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका विजयबहादुर भण्डारीले पाँच हजार ८९३ मत ल्याए ।  
नेकपा माओवादी केन्द्रका विश्वप्रकाश लामिछानेले पाँच हजार पाँच सय ४० र हाम्रो नेपाली पार्टीका चेतबहादुर महतले दुई हजार ५९२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
यसैगरी मङ्गोल नेशनल अर्गनाइजेशनका पदमबहादुर गुरुङले चार सय ९३, स्वतन्त्र उम्मेदवारहरू  दीपकप्रसाद पौडेल ७२, दुर्गाकुमारी शर्मा ४५ र निशा थापाले ३४ मत ल्याएका छन् । 
सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी आठ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए । सो क्षेत्रको प्रतिनिधिसभाको मत गणना जारी छ । पछिल्लो गणनाअनुसार प्रतिनिधिसभामा नेकपा एमालेका विद्या भट्टराईले अग्रता बनाएका छन् । 
भक्तपुर क्षेत्र नं १ (१) मा कांग्रेसका सुरेश श्रेष्ठ विजयी
भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रदेश (१) मा नेपाली कांग्रेसका सुरेश श्रेष्ठ विजयी हुनु भएको छ । यहि मङसिर ४ गते भएको निर्वाचनमा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवारका रूपमा रहेका कांग्रेसका युवा नेता श्रेष्ठले नौ हजार चार सय २४ मत प्राप्त गरी विजयी भएका हुन् ।  
उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार मोहनवीर श्रेष्ठलाई एक हजार दुई सय १२ मतान्तरले पछाडि पार्दै कांग्रेसका उम्मेदवार श्रेष्ठ विजयी भएको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद वास्तोलाले जानकारी दिए । 
एमालेका श्रेष्ठले आठ हजार दुई सय १२ र नेपाल मजदुर किसान पार्टीका मीनबहादुर बाटाले आठ हजार दुई सय एक र राप्रपाका राजु कुइँकेलले पाँच हजार नौ सय ४५ मत प्राप्त गरे । 

दैलेख–१ (१) मा कांग्रेसका पूर्णबहादुर खत्री विजयी
दैलेख क्षेत्र नं १ (१) प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका पूर्णबहादुर खत्री विजयी भएका छन् । खत्री विजयी भएपछि कर्णालीमा कांग्रेसले आफ्नो खाता खोलेको छ ।
खत्रीले खसेको १९ हजार नौ सय ९८ मतमध्ये नौ हजार चार सय ६४ मत ल्याएर विजयी भएका हुन् । उनले नेकपा एमालेका धर्मराज रेग्मीलाई एक हजार तीन सय ९२ मतान्तरले पछि पार्दै विजय हासिल गरे । रेग्मीले आठ हजार ७२ मत प्राप्त गरेका थिए । त्यस्तै राप्रपाका उम्मेदवार हृदयराज शाहीले एक हजार ७९, नेमकिपाका जगतबहादुर वलीले पाँच सय १५ र स्वतन्त्र उम्मेदवार चित्रबहादुर खत्रीले एक सय ९८ मत ल्याएका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेखका अनुसार छ सय ७० मत बदर भएको छ । ३५ हजार चार सय ९९ मतदाता भएको उक्त क्षेत्रमा १९ हजार नौ सय ९८ मत खसेको थियो ।
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ०६:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार